ताजा अपडेट »

चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक (भिडीयो)

आइतबार, ०२ बैशाख २०८१, ०९ : ३४
84 Shares

काठमाडौं । वर्ष २०८१ मा रिलिजको तयारीमा रहेको चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको टिजरमा तीन अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु देखिएका छन । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज गरिने यस चलचित्रको १ मिनेट १४ सेकेन्डको टिजरमा सबै प्रमुख कलाकारहरूलाई बराबर स्थान दिइएको छ । 

टिजरमा अभिनेता आर्यन ब्रम्हण भूमिकामा देखिएका छन भने प्रदीप खड्का लाई बाजा बजाउदै गरेको दलित भुमिकामा देख्न सकिन्छ।  प्रदिपले युवतीलाई मन पराएको र गाउँलेले आर्यन सहित उनलाई पनि लखेटिरहेका टिजर मा देखिन्छ । टिजरमा प्रदिप र आर्यन सँगै भागिरहेका देखिन्छन । प्रदिपको भूमिकाले जातीय विभेदलाई दर्शाएको छ ।

अर्को दृश्यमा अभिनेता पल शाह देखिन्छन । उनले भरुवा बन्दुक चलाएका छन । उनले को माथि बन्दुक चलाए त्यो भने चलचित्र हेरेपछिनै थाह होला । टिजरमा अभिनेत्रीहरू अञ्जना बराइली र परिक्षा लिम्बुलाई गाउँले परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । उनले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको समेत जनाएका छन । 

चलचित्रलाई विकास सुवेदीले लेखेका हुन । यसअघि विकास र दिनेशले चलचित्र “प्रकाश”मा सहकार्य गरेका थिए । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन । यो उनले निर्माण गरेको पहिलो चलचित्र हो ।  चलचित्रमा निर्माता भुसाल आफैले सङ्गीत भरेका छन । चलचित्रमा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको  गीत रचना छ भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले आफ्नो स्वर दिएका छन ।

चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र आरआर फिल्मसले वितरण गर्दै छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।