ताजा अपडेट »

'लुम्बिनी प्रादेशिक अस्पतालमा ‘आईयूआई’ सेवा बिस्तारले धेरै दम्पत्तिमा खुसी ल्याउनेछ'

मंगलबार, २७ चैत्र २०८०, १७ : ०१
2.16K Shares

बुटवल । बदलिँदो जीवन शैली, खानपान र रहनशनका कारण पछिल्लो पुस्तामा बाँझोपनको समस्या थप जटिल बन्दै गएको छ । लामो समयको उपचार तथा समयमै समस्याको पहिचान गर्न नसक्दा पनि निसन्तानपनको समस्याले दम्पत्तिहरुमा निराशा आउने गर्दछ । प्रविधिको बिकास र नयाँ खोजले सन्तान प्राप्ति गर्ने दम्पत्तिको सपनालाई पूरा गर्ने भए पनि ती प्रविधिलाई अपनाउन महङ्गो हुने गरेका गुनासो आउने गरेका छन् । बाँझोपनको उपचारका लागि सरकारी स्वास्थ्य संस्थाहरुमा प्रयाप्त नहुँदा महङ्गो मुल्य तिरेर निजी संस्थाहरुमा जानु पर्ने बाध्यताहरु रहेका छन् । यसै बीच बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले प्रसुती सेवालाई थप विशिष्टिकृत गर्दै नयाँ उपचार पद्दती सुरु गरेको छ ।

संघीय राजधानी काठमाडौंपछि पहिलो पटक आईयूआई प्रविधिबाट निसन्तान दम्पत्तिको उपचार सेवा सुरुवात गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापा बताउँछन् । यो प्रद्दति सरकारी अस्पतालमा उपत्यका बाहिर पहिलो हो । हालै एक महिलामा प्रयोग गरिएको यो पद्दती सफल भएमा यहाँका सेवाग्राहीका लागि खुसीको सञ्चार गर्न सक्ने मेसु डा. थापाको भनाई छ । अस्पतालकी वरिष्ठ महिला तथा प्रसुती रोग विशेषज्ञ डा. बबिता थापासहितको टोलीले आईयूआई पद्दतीबाट उचार सेवा प्रारम्भ गरेको हो । स्वास्थ्य विभाग परिवार कल्याण शाखाले काठमाडौंमा सञ्चालन गरेको पशिक्षणमा सहभागी भएपछि डा. बबिताको टोलीले अस्पतालमा आईयूआई प्रारम्भ गरेको हो । यसै विषयमा रहेर डा. बबितासँग गरिएको कुराकानी :

निःसन्तान हुनु भनेको के हो ? यसका उपचार विधिहरु के के छन् ?
कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवासपश्चात् पनि १ वर्षभित्र गर्भधारण हुन नसकेको अवस्थालाई निःसन्तान भएको मानिन्छ ।  सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रुपमा जिम्मेवार मानिन्छन् । कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ । कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ ।

सबैभन्दा पहिले दम्पती के कारणले बच्चा जन्माउन असक्षम छन् भन्ने कुरा पत्ता लगाउनुपर्छ । कतिपय दम्पतीलाई औषधिको समेत प्रयोग गर्नुपर्दैन । उनीहरूको शारीरिक सम्पर्क राख्ने समय नमिलेको हुनसक्छ । मासिक चक्रअनुसार शारीरिक सम्पर्क गरे गर्भ रहन्छ । यस्तो स्थितिमा डिम्बाशयबाट डिम्ब निस्कने समय मिलेमा गर्भ रहन्छ ।

पुरुषको शुक्रकीटमा केही समस्या देखिएमा दुवैलाई तीन महिनादेखि छ महिनासम्म औषधि खान दिइन्छ । कतिपयले औषधि खाएपछि गर्भधारण गर्न सक्छन् । कोही दम्पती यस्ता हुन्छन्, जसको मासिक चक्रअनुसार शारीरिक सम्पर्क पनि भइरहेको हुन्छ र औषधिको प्रयोग गरेर पनि गर्भधारण भइरहेको हुँदैन । त्यस्तो अवस्थामा दम्पतीको उपचार अवधि, उमेर हेरेर कुन विधि उपयुक्त हुन्छ भन्ने थाहा पाउन सकिन्छ । सोही अनुसार औषधी सेवन, आईयूआई, आईभिएफ लगायतका उपचार विधिहरु अपनाउने गरीन्छ ।

निःसन्तानपनलाई खानपान र जीवनशैलीले के असर पार्छ ?
निःसन्तानपन सबै कुरा प्राकृतिक कारण नहुन पनि सक्छ । हामीले गर्ने दैनिक व्यवहार तथा जीवनशैलीले पनि यसमा केही न केही फरक पारेको भेटिन्छ । विश्वभर निःसन्तानपनको समस्या ८ देखि १२ प्रतिशतमा देखिएको छ भने नेपालमा १५ देखि १८ प्रतिशत रहेको विभिन्न अध्ययनले देखाउँछ ।

अस्वस्थकर खानपान तथा जीवनशैली, विभिन्न किटनाशक औषधिको प्रयोग, वातावरण प्रदूषण लगायतले पनि महिला र पुरुष दुवैमा प्रजनन क्षमता घट्दै गएको पाइन्छ । यसैगरी व्यस्थ जीवनशैलीसँगै ढिलो विवाहका कारण पनि निःसन्तानपनको समस्याहरु आउने गरेको हामीले पाएका छौं । दम्पत्तिहरुले आफ्नो करियरलाई फोकस गर्दा विवाह समयमै गरे पनि ढिला गरी परिवार योजना गर्दा समेत निःसन्तानको समस्याहरु आउने गरेका छन् । त्यसैले २५ देखि ३५ वर्षभित्र सन्तान जन्माएको राम्रो हुन्छ । निःसन्तानपनको समस्या आउन नदिन सही उमेरमा दम्पतीले सन्तानको योजना बनाउनुपर्छ । अध्ययन र करिअर भनेर यसलाई धेरै पर सार्नु हुँदैन ।

यस्तैगरी नेपालमा वैदेशिक रोजगारीमा जाने पुरुषमा झन् निःसन्तानपनको समस्या बढी भेटिन्छ । पुरुषमा हुने निःसन्तानपनको समस्याका कारण विशेषगरी विर्यको कमी, उमेर, वंशाणुगत या अन्य कुनै रोग हुनसक्छ । महिलामा भने ट्युब ब्लक हुँदा, अन्डा बनाउने शक्ति एकदम कम या धेरै हुँदा अन्डा उत्पादनमा समस्या हुन्छ । पाठेघरमा ट्युमर भए या संक्रमण भए, वंशाणुगत कारण, हर्मोनको गडबडी, पटकपटकको गर्भपतन र पाठेघरमा घाउ हुँदा पनि निःसन्तानपनको समस्या देखिन सक्छ ।

अस्पतालमा सुरु गरिएको आईयूआई उपचार विधि के हो ? आर्थिक हिबासले कति खर्चिलो हुन्छ ?
सबैभन्दा पहिले आईयूआई विधि भन्ने बित्तिकै महङ्गो र सारै झन्झटिलो उपचार विधि लाग्न सक्छ, तर यो विधि खर्चिलो पनि छैन र सामान्य उपचार विधिनै हो भन्ने जानकारी गराउन चाहान्छु । औषधी सेवन तथा जीवनशैली परिवर्तन लगायतका उपचार विधिबाट पनि सफल नभएपछि उपचार पद्दतीकै रुपमा अर्थात प्राकृतिक पद्दतीको रुपमा अपनाइने यो अन्तिम विधि हो । यसमा महिनावारी भएको दोस्रो दिनदेखि पाँच दिनसम्म डिम्बाशयमा अण्ड बढ्ने औषधि दिइन्छ । औषधि दिइसकेपछि नियमित रूपमा दुई दिन बिराएर अल्ट्रासाउन्ड गर्नुपर्छ । यसबाट डिम्बाशयमा भएको फोलिकल्स कत्तिको राम्रोसँग बढिरहेको छ भनेर थाहा पाउन सकिन्छ । डिम्बाशयबाट अण्ड बढेर फुट्ने बेलामा आईयुआईको योजना बनाइन्छ ।

आईयुआई गर्ने दिन श्रीमान्को शुक्रकीट लिएर ल्याबमा धोई स्वस्थ र गुणस्तरीय शुक्रकीट पाठेघरमा राखिन्छ । त्यहाँ शुक्रकीट र अण्ड निषेचित हुन्छ । त्यही दिन एक घण्टा आराम गरेर घर जान सकिन्छ । यो प्रक्रियालाई आईयूआई भनिन्छ । यो पाँच-दश मिनेटको प्रक्रिया हो । यसमा महिलालाई बेहोस बनाउनुपर्दैन । यो प्रक्रिया पहिलो चरणमा सफल भएन भने निराश हुनुपर्दैन, चार–पाँच पटकसम्म गर्न सकिन्छ । यसबाट बच्चा बस्ने सम्भावना दशदेखि पन्ध्र प्रतिशतसम्म हुन्छ । यो उपचार विधि हाम्रो अस्पतालमा त्यति महङ्गो छैन, मात्रै ६ हजारमा आईयूआई विधिबाट उपचार हुन्छ ।

अस्पतालमा अब निसन्तानपनको उपचार सबै सम्भव छ भन्न मिल्छ ?
अहिले नै हामी त्यो अवस्थामा पुगेका छैनौं । प्राकृतिक विधिहरु बाहेक कृतिम विधिबाट पनि निसन्तानपनको उपचार हुने गर्दछन् । ती प्रविधिको प्रयोग र सेवा शुभारम्भ गर्न सक्यौं भने हामी थप सफलतामा पुग्ने छौं । यसका लागि राज्यले लगानी गर्न सक्यो भने हामी योजनामै छौं । प्रविधिको बिकाससँगै अहिले चलनमा आएको कृतिम विधि आईभिएफ(टेस्टट्युव वेवी) सेवा पनि अस्पतालमा सञ्चालन गर्न सकियोस भन्ने हाम्रो चाहना हो । लुम्बिनी प्रादेशिक अस्पताललाई प्रसुती सेवामा थप विशिष्टिकृत गर्ने प्रयास जारी छ । आईयूआई सेवाको बिस्तारले पनि धेरै दम्पत्तिको जीवनमा खुसी ल्याउने छ भन्ने हामीले अपेक्षा गरेका छौं ।

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि उपचार सेवा थप, 'आईयूआई' प्रविधि सुरु

 

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।