ताजा अपडेट »

लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्रीले दिए राजीनामा

विहीबार, २२ चैत्र २०८०, १४ : ०२
366 Shares

बुटवल । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सरकार ढल्ने भएपछि लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि ब्यबस्थापन मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाउने भएपछि आजै पदबाट राजीनामा दिने तयारी गरेको अवस्थामा मन्त्री अहिरले आफ्नो पदबाट राजीनामा दिएका हुन् । अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी संसदीय दलको बैठकले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ गठबन्धनको सरकारमा सहभागी हुने तयारीका लागि मन्त्री अहिरले राजीनामा दिएका हुन् । अहिर बाँके २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आज दिउँसो ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिनेभएका हुन् । गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । लुम्बिनी प्रदेशमा ८६ जना प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । प्रदेश सभामा कांग्रेसको २७, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, राप्रपा र लोसपाको ३र३ तथा जनमोर्चा र स्वतन्त्र सांसदको १÷१ मत पाउँदा पनि मुख्यमन्त्री चौधरीको पक्षमा ४२ मत मात्रै हुनेभएपछि विश्वासको मत नपाउने भएका हुन् ।

यता नयाँ गठबन्धनमा आवद्ध एमालेसँग २९, माओवादीसँग १० ९सभामुखबाहेक०, जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ प्रदेशसभा सदस्य छन् । नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी हुने देखिन्छ । गठबन्धनले स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपामध्येबाट एक भोट तान्नुपर्छ । लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्नेगरी केन्द्रमा दलहरुले सहमती गरेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।