ताजा अपडेट »

विश्वासको मत नपाउने भएपछि राजीनामा दिने तयारीमा मुख्यमन्त्री चौधरी

विहीबार, २२ चैत्र २०८०, १० : ४३
220 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आज विहिबार राजीनामा दिने भएका छन् । आज दिउँसो ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिनेभएका हुन् ।

केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तनसँगै नेकपा माओवादी केन्द्रको बर्हिगमनपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वाशको मत पाउने सम्भावना नभएपछि राजीनामा दिन लागेका हुन्। प्रदेश राजधानी दाङको राप्तीमा दिउँसो ४ बजे प्रदेश सभा बैठक बस्दै छ । उक्त सभामा चौधरीले मुख्यमन्त्रीको हैसियतमा आफ्‌लो सम्बोधन गर्ने र राजीनामा दिने तयारी गरेका हुन् । सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्रीले विहान टेलिफोनमार्फत प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेकाले त्यसअनुसार कार्ययोजना बनाउन भनेको जानाकारी दिए ।

गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । लुम्बिनी प्रदेशमा ८६ जना प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । प्रदेश सभामा कांग्रेसको २७, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, राप्रपा र लोसपाको ३/३ तथा जनमोर्चा र स्वतन्त्र सांसदको १/१ मत पाउँदा पनि मुख्यमन्त्री चौधरीको पक्षमा ४२ मत मात्रै हुनेभएपछि विश्वासको मत नपाउने भएका हुन् ।

यता नयाँ गठबन्धनमा आवद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ प्रदेशसभा सदस्य छन् । नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी हुने देखिन्छ ।गठबन्धनले स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपामध्येबाट एक भोट तान्नुपर्छ । लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्नेगरी केन्द्रमा दलहरुले सहमती गरेका छन् ।

हाल सरकारमा रहेका लोसपा नेता तथा गृहमन्त्री सन्तोष पाण्डेयले नयाँ गठबन्धनलाई सहयोग गर्ने बताएका छन् । सरकार गठन र परिवर्तनमा आफूहरुको कुनै भूमिका नरहने बताउँदै उनले आफ्नो दलले सहयोग मात्रै गर्ने बताए । "हामी बिगार्ने भन्दा पनि बनाउने पक्षमा छौं । अब बन्ने सरकारलाई पनि हामी सहयोग गर्न तयार छौं ।"-पाण्डेयले भने । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।