ताजा अपडेट »

लुम्बिनी प्रदेशसभाको बैठक भोलि ४ बजेका लागि आह्रवान, मुख्यमन्त्रीले विश्वासको मत लिने

बुधबार, २१ चैत्र २०८०, १५ : १३
78 Shares

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक विहिबार दिउँसो ४ बजेका लागि आह्रवान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । बहुमत पुर्‍याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै आफ्नै दलका मन्त्री तथा सांसदहरुले पनि विश्वासको मतमा जानुभन्दा राजीनामा गर्न सुझाव दिइरहेका छन् ।

बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् ।  लुम्बिनी प्रदेशमा ८६ जना प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमत पार्टीसँग ३, राप्रपासँग ३ र लोसपासँग ३, जनमोर्चासँग १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

नयाँ गठबन्धनमा आवद्ध एमालेसँग २९, माओवादीसँग १० ९सभामुखबाहेक०, जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ प्रदेशसभा सदस्य छन् । नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी हुने देखिन्छ । तर, जसपाले निर्णय लिइसकेको छैन । गठबन्धनले स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपामध्येबाट एक भोट तान्नुपर्छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।