ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ मा पाउलान विश्वासको मत ?, यस्तो छ अंक गणित

मंगलबार, २० चैत्र २०८०, १७ : ३१
372 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते बिहीबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुई वा दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही अनुसार २२ चैतमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार ४ बजे विश्वासको मत लिने तयारी रहेको छ । त्यसका लागि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको समेत प्रवक्ता पाण्डेयले बताए ।

यस्तो छ अंक गणित

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद छन् । तर, राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीन जना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सांसद छन् । एकजना स्वतन्त्र सांसद छन् ।

एमाले, माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टी हुँदा नयाँ समीकरण अनुसार बनेको गठबन्धनको बहुमत पुग्ने देखिन्छ । यी दलहरु मिल्दा नयाँ गठबन्धनमा ४४ मत (सभामुख बाहेक) मिल्ने छ । यो अवस्थामा हालका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउन मुस्किल हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।