ताजा अपडेट »

नेपालमा पुन: लकडाउन हुने भन्दै टिकटकमा फैलाइएको भिडियाे भ्रामक

शुक्रबार, १६ चैत्र २०८०, १४ : २२
74 Shares

दीपक अधिकारी/ बुटवल । काेभिडकाे नयाँ भेरिएन्ट ओमिक्राेन नेपालमा फैलिएकाेले पुन: लकडाउन हुने भन्दै एउटा भिडियाे टिकटकमा भाइरल छ ।  @ujjwal_kharel1 नामक टिकटक प्रयाेगकर्ताले केही दिन अघि भिडियाे क्लिप पाेस्ट गर्दै “गुड न्युज फर ८, १०, १२ क्लास स्टुडेन्ट ।” करीब १० सेकेण्डकाे उक्त भिडियाेमा एउटा समाचारकाे क्लिप छ । साे  भिडियाे लाखाैँ पटक हेरिएकाे छ । अन्य टिकटक प्रयाेगकर्ताले पनि साे भिडियाे सेयर गरेका छन् । 

भिडियाेमा एक महिलाले वाचन गरेकाे समाचारमा भनिएकाे छ: “नेपालमा पुन लकडाउन हुने स‌ंकेत देखिएकाे छ । नेपालमा ओमिक्राेन समुदायमै पुगिसकेकाे तथ्य बाहिरिएपछि चेन ब्रेकका लागि नेपालमा  पुन लकडाउन हुने स‌ंकेत देखिएकाे विज्ञहरुले बताए ।”

उक्त टिकटक पाेस्टमा ३६ हजारभन्दा बढी प्रतिक्रिया आएका छन्।

नेपालमा फेरि लकडाउन हुने दाबी सहितकाे उक्त भिडियाे टिकटकमा धेरै सेयर भएकाे छ ।

तथ्य जाँच 

हामीले तथ्य जाँचका लागि सर्वप्रथम समाचारमा उल्लेखित शब्दकाे किवर्ड प्रयाेग गरी गुगलमा खाेज्याैँ । त्यसाे गर्दा समाचारमा भनिएकाे जस्ताे सामग्री फेला नपरेपछि हामीले किवर्ड छाेट्याएर गुगलमा खाेजी गर्याै । त्यस क्रममा हामीले २०७८ साल पुषमा प्रकाशित केही समाचार फेला पार्याै जसमा काेभिडकाे ओमिक्राेन भेरिएन्ट समुदायमा फैलिएकाे उल्लेख थियाे । 

अनलाइन खबरका अनुसार २०७८ साल पुषमा गरिएकाे परीक्षणमा जिन सिक्वेन्सिङ गरिएका सबै नमुनामा ‍ओमिक्राेन संक्रमणकाे पुष्टि भएकाे थियाे । काेभिडकाे दाेस्राे लहरले ल्याएकाे डेल्टा भेरिएन्टपछि आएकाे ‍ओमिक्राेनकाे सामना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ साल पुष २३ गते सजग गराएकाे थियाे । अनलाइन खबरका अनुसार विज्ञहरुले ओमिक्राेन समुदायमा फैलिएकाे बताएका थिए। त्यसैगरी बिबिसी नेपाली सेवाले पनि २०७८ साल पुष १९ गते प्रकाशित समाचारमा नेपालमा ओमिक्राेन भेरिएन्टकाे जाेखिम बढेकाे जनाएकाे थियाे । 

हाल भाइरल भिडियाे माध्यमिक शिक्षा परीक्षा (एसइइ) हुनु अघि सेयर गरिएकाे हाे । यही चैत १५ गतेदेखि २७ गतेसम्म एसइइ हुँदैछ। साथै नेपालमा लकडाउन हुने वा काेभिडकाे नयाँ भेरिएन्ट फैलिएकाे भनी कुनै समाचार हालै प्रकाशित भएकाे छैन । 

तसर्थ काेभिडकाे नयाँ भेरिएन्ट ओमिक्राेन नेपालमा फैलिएकाेले पुन: लकडाउन हुने भन्दै सेयर गरिएकाे भिडियाे भ्रामक छ । 

दाबी दाबीकर्ता  नेपाल चेक निष्कर्ष
काेभिडकाे नयाँ भेरिएन्ट ओमिक्राेन नेपालमा फैलिएकाेले पुन लकडाउन हुने ।  टिकटक प्रयाेगकर्ता भ्रामक
काेभिडकाे नयाँ भेरिएन्ट ओमिक्राेन नेपालमा फैलिएकाेले पुन: लकडाउन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको सामग्रीको तथ्य जाँचपछि नेपाल चेकको निष्कर्ष ।
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।