ताजा अपडेट »

सन्दर्भ : विश्व मुख स्वास्थ्य दिवस -‘नियमित जाँच गरे मुखसम्बन्धी रोगले जटिलता निम्त्याउँदैन’

बुधबार, ०७ चैत्र २०८०, ०९ : ३१
200 Shares

काठमाडौं ।  ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ । यो यस वर्षको विश्व मुखस्वास्थ्य दिवसको नारा हो । स्वस्थ मुख उचित पाचनका लागी आवश्यक छ, सर्वोत्कृष्ट पोषणका लागी यसले खानालाई मिहिन बनाउनमात्र सघाउँदै अपितु स्वस्थ मुस्कान र आत्मसम्मान जोगाउन मद्दत गर्छ । यो नाराले प्रवाह गर्ने सन्देश यही हो भन्छन् दन्तचिकित्सकहरू । मुख स्वस्थ भयो भने सम्पूर्ण शरीर नै नीरोगी रहन्छ । मुख अस्वस्थ नहुँदा नै हामी बोल्न, चपाउन र मुस्कुराउन सक्छौँ ।

आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । दाँत, गिजा र सम्पूर्ण मुख–अनुहार प्रणालीको स्वास्थ्यलाई मुख स्वास्थ्यको रूपमा बुझ्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ०ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको ९खुँडे०, गिजासम्बन्धी रोग, दाँत कीराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा मुखसम्बन्धी अन्य रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ ।

हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने अधिकांशमा दाँत कीराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या भएका बिरामी पाइन्छन् । स्वास्थ्यसम्बन्धी वेबसाइट मायो क्लिनिक डटकमका अनुसार शरीरका अन्य भागजस्तै मुख पनि कीटाणुले भरिएको हुन्छ, तथापि ती कीटाणु प्रायः हानिकारक हुन्छन् । तर मुख भनेको पाचन नलीमा प्रवेश गर्ने माध्यम भएकाले यदि त्यो स्वस्थ्य भएन भने हानिकारक कीटाणुले शरीरभर रोग निम्त्याउन सक्छ ।
 
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ दन्तचिकित्सक डा बुद्धिमान श्रेष्ठले बालबालिकामा बढीजसो दाँत कीराले खाने र वयस्कमा गिजाको बढी समस्या हुने गरेको बताउँछन् । उनका अनुसार सुर्तीजन्य पदार्थको सेवन गर्ने अधिकांशलाई मुखभित्र सेतो घाउ बढी मात्रामा देखिने गरेको छ, जुन मुख क्यान्सरको प्रारम्भिक लक्षण पनि हो । उनी मुख नै शरीरको प्रवेशद्वार भएकाले यो नै स्वास्थ्य भएन भने घर (शरीर) नै स्वस्थ्य नहुने बताउँछन् । उनी भन्छन्, “मुखस्वास्थ्य सम्पूर्ण शरीरको स्वास्थ्यसँग जोडिन्छ । गर्भवतीको मुख स्वस्थ्य नहुँदा समय नपुगी बच्चा जन्मिन सक्ने र बच्चा कम तौलको जन्मिने हुन सक्छन् । साथै मुख र गिजा सफा भएन भने यसले मधुमेह, मुटुरोग र क्यान्सरसम्मको जोखिम निम्त्याउन सक्छ ।”

डब्ल्युएचओका अनुसार चिनीको खपत, सुर्ती, मदिरा सेवन र सरसफाइको कमी मुखसम्बन्धी  समस्याका मुख्य कारक हुन् । मुखसम्बन्धी समस्या विश्वव्यापीरूपमा नसर्ने रोग बन्दै गएको छ । मुख स्वास्थ्यमा खासगरी दाँत कीराले खाने, गिजासम्बन्धी रोग र मुखको क्यान्सर जनस्वास्थ्यका प्रमुख समस्याका हुन् । विश्वमा क्यान्सरको सूचीमा मुखको क्यान्सर १३औँ नम्बरमा पर्छ, यसमा ओठको क्यान्सर बढी हुने गरेको छ । बढ्दो सहरीकरण र जीवनयापनमा आएको परिवर्तनसँगै मुखका रोग पनि बढिरहेका छन् । यो मुख्यतया ‘टुथपेस्ट’को गुणस्तर, उच्च चिनीयुक्त खानाको सेवन, मुखको उपचारमा कमजोर पहुँचका कारण बढ्दो छ ।
     
नेपाल डेन्टल एशोसिएसनका महासचिव डा विश्वप्रकाश ठाकुरले धेरै बिरामी दाँतको दुखाइ र जटिल समस्या आएपछि मात्र चिकित्सककहाँ आउने प्रवृत्ति रहेको अनुभव सुनाउँछन् । उनी शरीरका अन्य अङ्गको स्याहार गरेजस्तै दाँतको पनि त्यसरी नै स्याहार गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्छन्, “मुख नै स्वस्थ भएन भने अरु रोग लाग्ने सम्भावना हुन्छ । दाँतको कुनै पनि समस्या आज वा भोलि नै हुँदैन, नियमित जाँच गर्दा जटिल समस्या हुन पाउँदैन ।”

डा. ठाकुर अहिले ३० देखि ३५ वर्षको उमेरमा र्नै दाँत झरेर नक्कली दाँत राख्नुपर्ने अवस्था आएको भन्दै धेरै जनाले ‘ब्रस’ राम्ररी नगर्नाले समस्या बढी भएको बताउँछन् । मुखस्वास्थ्यलाई प्राथमिकतामा राख्न र यसका लागि पर्याप्त बजेट छुट्याउन आवश्यक भएको उनी औँल्याउँछन् ।

डब्लुएचओको पछिल्लो अध्ययन ग्लोबल ओरल हेल्थ स्टेटस रिपोर्ट ९२०२२० अनुसार मुखसम्बन्धी रोगले विश्वभर तीन अर्ब ५० करोड मानिस पीडित हुने गरेका तथा तिनमा हरेक चारजनामध्ये तीन जना मध्यम आय भएका देशका नागरिक छन् । त्यसैगरी विश्वव्यापी अनुमानित दुई अर्ब मानिस स्थायीरूपमा नै दाँत कीराले खाने समस्याबाट पीडित छन् भने ५१ करोड ४० लाख बालबालिकामा दाँतको कीराले खाने समस्या छ । त्यसैगरी एक अर्बलाई गिजाको जटिल समस्या देखिने गरेको छ । डब्ल्युएओकै अध्ययनले ६० देखि ९० प्रतिशत स्कुले बालबालिकामा दाँत कीराले खाने समस्या रहेको र त्यो ज्येष्ठ नागरिकमा झन् बढी रहेको बताउँछ ।
 
डब्ल्युएओको ओरल हेल्थ कन्ट्री (नेपाल) प्रोफाइल २०२२ का अनुसार उपचार नगरिएको कीराले खाएको दुधे दाँतको समस्या एकदेखि नौ वर्षमा ५१ दशमलव दुई प्रतिशत, पाँच वर्षमाथिका स्थायी दाँतको समस्या ३१ दशमलव पाँच प्रतिशतलाई र गिजाको समस्या १५ वर्षमाथि १४ दशमलव आठ प्रतिशत र २० वर्षमाथिलाई दाँत नहुने समस्या एक दशमलव चार प्रतिशत देखिएको जनाएको छ । सङ्ख्या अझै पनि हुनसक्ने भए पनि नियमित अध्ययन–अनुसन्धान नभएकाले कति प्रतिशत समस्याबाट पीडित छन् भनेर आकलन गर्न सकिएको छैन ।  

त्यसैगरी नेपाल नेशनल ओरल हेल्थ पाथफाइन्डर सर्भे २००४ मुख स्वास्थ्यसम्बन्धी अध्ययनमा नेपालमा पाँच–छ वर्षका ५७ दशमलव पाँच प्रतिशत, १२–१३ वर्षका २५ दशमलव छ प्रतिशत, १५–१६ वर्षका बच्चामा २६ दशमलव तीन, ३५–४४ वर्षका ५७ दशमलव पाँच प्रतिशत तथा ५० वर्षभन्दा माथिका ६९ दशमलव छ प्रतिशत व्यक्तिमा दाँतमा कीरा लाग्ने समस्या देखिएको थियो । अध्ययनले महिलामा दाँतमा कीरा लाग्ने समस्या बढी देखाएको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी सामुदायिक दन्त चिकित्सक डा सिर्जना दाहाल दुखाइ नभएसम्म अस्पताल नआउने भएकाले जनतामा चेतना जागृत गर्न आवश्यक भएको बताउँछिन् । नेपालको सन्दर्भमा हेर्ने हो भने मुखसम्बन्धी सेवा सबैको पहुँचमा पुग्न सकेको छैन । जति छ, त्यो पनि सर्वसुलभ छैन । सरकारीबाहेक निजी अस्पताल तथा क्लिनिकमा मुखस्वास्थ्यको उपचार महँगो छ । डब्ल्युएओले पनि कम र मध्यम आय भएका देशमा मुखसम्बन्धी उपचारको पर्याप्त सेवा उपलब्ध नभएको बताउँदै आएको छ ।

स्टेप्स् सर्भे नेपाल २०१९ को अध्ययनले १५ देखि ६९ उमेर समूहका ८९ दशमलव नौ प्रतिशतले दैनिक एक वा दुईपटक दाँत माझ्ने गरेको जनाएको छ । नियमित दाँत माझ्ने सङ्ख्या धेरै भए पनि नियमित आफै स्वाथ्य संस्थासम्म जाने प्रतिशत भने कम छ । सर्भेले ५४ दशमलव पाँच प्रतिशत बयस्कमा मुखसम्बन्धी जाँचका लागि जानुपर्छ भन्ने धारणा छैन ।

वीर अस्पताल दन्त विभागका गिजारोग विशेषज्ञ सहप्राध्यापक डा रञ्जिता श्रेष्ठ नियमित जाँचले पछि हुने दाँतको दुखाइलगायत गिजाको समस्याबाट राहत मिल्ने बताउछिन् । उनी भन्छिन्, “रोग नै लाग्न दिएनौँ भने खर्च हुँदैन । दाँतको उपचार चरणबद्ध हुन्छ त्यसैले बढी खर्च लाग्ने हुन्छ । पहिलाभन्दा आम मानिस अलि सजग भए पनि सबै सचेत  छैनन् ।”

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।