ताजा अपडेट »

संसदमा प्रधानमन्त्री हराएको चर्चा, जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी

शुक्रबार, १८ फागुन २०८०, ११ : ४६
110 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले समसामयिक विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ ।  शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमाले सांसद सूर्य थापाले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनासहितमा दोषी देखिएका र मुछिएका मन्त्रीलाई बर्खास्त गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नआएपछि बैठक अघि बढ्न नसक्ने बताए । 

सभामुख देवराज घिमिरेले गरेको रुलिङविपरीत प्रधानमन्त्री प्रचण्ड जवाफ दिन बैठकमा नआएपछि एमालेसहित प्रतिपक्षी दलले आपत्ति जनाएका छन् ।  बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् । 

उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् । 
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए । प्रतिपक्षी दलका सांसद उठेर विरोध जनाइरहेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।