ताजा अपडेट »

बुटवल जितगढी किल्ला अवलोकनको लागि अब प्रवेश शुल्क तिर्नुपर्ने

सोमबार, ०७ फागुन २०८०, १६ : ०६
416 Shares

बुटवल । बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी वि।सं। १८७२ बैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो।गत पुस २० गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा नेपाली सेनाले जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो।

उपमहानगरले यसको संरक्षण सञ्चालन र व्यवस्थापनको लागि कार्यविधि बनाएर स्विकृत गरिसकेको छ। जितगढी किल्लाको संरक्षण सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधी २०८० अनुसार जितगढी अवलोकनको लागि प्रवेश शुल्क लाग्ने भएको हो। कार्यविधि अनुसार सर्वसाधारण नेपाली नागरिकले जितगढी किल्ला अवलोकन गर्न २० रुपैया प्रवेश शुल्क तिर्नुपर्ने छ। विद्यार्थीको लागि १० रुपैयामात्र शुल्क कायम गरिएको छ। विदेशी पर्यटकको लागि भने १ सय रुपैयाको टिकट काट्नुपर्ने छ। चलचित्रको सुटिङ र म्युजिक भिडियोको लागि १ हजार रुपैया लाग्ने छ।

सय जना भन्दा बढिको उपस्थितीमा फिल्म सुटिङको लागि भने २ हजार ५ सय रुपैया तिर्नुपर्ने छ। विद्यालय लगायत शैक्षिक भ्रमणको शिलसिलामा आएका समूहलाई प्रतिबस १ सय रुपैया, अन्य अवलोकन भ्रमणमा एकमुष्ट आउने समूहले पनि १ सय रुपैया तिर्नुपर्ने छ। अनुसन्धानको लागि आउने अनुसन्धानदाताको लागि ७५ प्रतिसत छुटको व्यवस्था गरिएको छ। ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। त्यसको लागि उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ। नेपाली सेनाका बहालवाला सैनिक, सेनासँग सम्बन्धित तालिम अवलोकन तथा सेमिनारमा आउने व्यक्तीहरु, किल्लाको डिजाइन तथा निर्माण कार्यमा संलग्न व्यक्तीले पनि निशुल्क प्रवेश पाउने छन्।

सरकार तथा कुनै संघसंस्थाद्वारा जितगढीको प्रचार प्रसार गर्न निर्माण गरिने गैरव्यवसायिक बृत्तचित्रको लागि पनि प्रवेश गर्न शुल्क तिर्नुपर्ने छैन्। अपांगता भएका, ह्वील चेयर प्रयोगकर्ता र यौनिक अल्पसंख्यकहरुलाई पनि निशुल्क प्रवेश पाउने कार्यविधिमा उल्लेख छ। बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले छिट्टै कार्यविधि अनुसार प्रवेश शुल्कको व्यवस्था कार्यान्वयन हुने बताए। ‘कार्यविधि अनुसार समिति पनि गठन हुन्छ। त्यसपछि सरसल्लाह गरेर कार्यान्वयनमा अगाडि बढ्छौं।’ उनले भने।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।