ताजा अपडेट »

सिमसार संरक्षणका लागि प्रतिवद्धता

शुक्रबार, १९ माघ २०८०, १३ : १५
128 Shares

२ फेब्रुअरीलाई विश्व सिमसार दिवसका रुपमा मनाउने चलन छ । यो दिवसका अवसरमा विश्वभर सिमसारसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिन्छन् । सन् २०२४ का लागि ‘सिमसार  मानवहितको आधार’ नाराका साथ मनाइँदैछ । मानव विकासक्रमसँगै सिमसारको महत्व आज पनि उस्तै छ ।

तर पछिल्लो समय विविध कारणहरुले सिमसार मासिन थालेको छ । यसको सुरक्षा आजको पहिलो आवश्यकताका रुपमा लिन सकिन्छ ।  मानिसको खुट्टाको तलुवा भिज्ने तर पौडी खेल्न नसकिने ठाउँलाई सिमसार भनिन्छ । नेपाल सिमसार नीति २००३ अनुसार भूमिगत पानीको स्रोत वा वर्षाका कारण सिर्जित बहुवर्षीय पानी पाइने ठाउँलाई सिमसार भनिन्छ ।  प्राकृतिक वा कृत्रिम रुपमा पानी पाइने,स्थायी वा अस्थायी रुपमा पानी जमेको,बगेको वा सफा, धमिलो वा नुनिलो,समुद्र सतहको ६ मिटर गहिराईसम्मको भागलाई सिमसार भनिन्छ । नेपालको कूल क्षेत्रफलको झण्डै ५.५ प्रतिशत् भू–भाग सिमसारले ओगटेको छ । 

कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल,जगदीशपुर रिजरभ्वाएर,बीसहजार ताल,रारा ताल,सेफोक्सुण्डो तालगोसाइँ कुण्ड, गोक्यो ताल, माइपोखरी ,पोखरा उपत्यकाका तालहरु नेपालका १० सिमसारभित्र पर्दछन् । सन् २०२४ मा अझैं १० वटा सिमसारलाई रामसार सूचिभित्र राख्ने तयारी हुँदैछ ।  नेश्नल रामसार स्ट्राटेजी एण्ड एक्सन प्लान,नेपाल सन् २०१८ देखि २०२४ ले नदी, दलदल भूमि, धानखेत, जलाशय,ताल र पोखरीलाई सिमसारका रुपमा वर्गिकरण गरेको देखिन्छ । सिमसार क्षेत्रको विवरण अनुसार नेपालको तराईमा ५१५ वटा,पहाडमा ४२५ वटा र हिमालमा ७५ वटा सिमसार रहेका छन् । पर्यावरणको मिर्गौला नै सिमसार हो ।

यसकै कारण पानीको पर्यावरणीय शुद्धीकरण सम्भव भएको देखिन्छ ।  नेपालमा सिमसारका बारेमा खोज,अध्ययन र अनुसन्धान कम भएको देखिन्छ । सिमसारको महत्व सारै छ । सिमसारले भूमिगत पानी पुनर्भरण,जलीय खाद्य स्रोत भण्डार ,प्राकृतिक जलचक्र व्यवस्थापन ,जलविद्युत उत्पादनको स्थायी स्रोत जलविहारबाट आर्थिक समृद्धि र आनन्द प्राप्त हुने गर्दछ । त्यसैगरी यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्न सक्ने, जैविक विविधता बारे शोधकार्य गर्न सकिने अवसर,जल र सिमसारमा आश्रित प्राणीको उपयुक्त बासस्थान,बसाइ सराइ गरी आउने पंक्षीहरुको उपयुक्त बासस्थान,सांस्कृतिक, धार्मिक र आध्यात्मिक बहुआयमिक महत्व बोकेको क्षेत्रका रुपमा सिमसार रहेको पाइन्छ । 

मानिसलाई चाहिने ८०५ भन्दा बढी खाद्यसामग्री सिमसार क्षेत्रबाट प्राप्त हुने गर्छ ।  नेपालमा रहेका १०५ जातीय समुदाय( बोटे,दराइ,माझी,दनुवार,झाँगर, बाँतर, दुसाध, थारु)  समसार स्रोतमा आधारित छन् । यसैले वर्तमान  अवस्थामा सिमसारबाट प्रशस्त लाभ लिन सकिने भएता पनि समानुपातिक र पर्यावरणमैत्री विकास हुन नसकेको कारणले सिमसार माँसिदै गएको सत्य हो ।  नेपालमा यो दिवस अत्यन्तै कम मनाउने गरिन्छन् । वन,वातावरण र जैविक विविधता संरक्षणका क्षेत्रमा क्रियाशील सरकारी,गैरसरकारी एवम् नागरिक समाजले यसलाई पहिलो प्राथमिकताका साथ मनाउनु पर्ने देखिन्छ । यसो हुन सकेमा बचेखुचेका सिमसार क्षेत्रको संरक्षण हुँदै यसको महत्व थप प्रष्टिदै जाने देखिन्छ । सिमसार क्षेत्रको संरक्षणमा हामी सबैको प्रतिवद्धता आवश्यक देखिन्छ । यसका लागि सबैको प्रयास अपरिहार्य देखिन्छ । 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार