ताजा अपडेट »

तिलोत्तमामा हुने मणिमुकुन्द कपको तयारी तीब्र : मैदान र प्याराफिट निर्माण अन्तिम चरणमा

आइतबार, १४ माघ २०८०, १६ : ३७
348 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा यही माघ २६ गतेदेखि हुने नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढेको छ । तिलोत्तमा–२ योगिकुटी स्थित क्लबको आफ्नै मैदानमा हुने प्रतियोगिताको तयारीका लागि विहान ८ बजेदेखि रातको ६ बजेसम्म निरन्तर काम भैरहेको आयोजकले जनाएको छ ।

माटो फिलिङ गरेर मैदान सम्याउने काम करिब अन्तिम चरणमा पुगेको छ भने प्याराफिट निर्माणको काम पनि करिब ८० प्रतिशत सम्पन्न भएको आयोजकले जनाएको छ । यस पटकको प्रतियोगितामा सबै खेल म्याट बिच्छ्याएर खेलाइने भएकाले मैदानमा सोही अनुसारको माटो राखेर लेबल मिलाउने काम करिब अन्तिम चरणमा पुगेको आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । यसैगरी करिब ३ हजार दर्शकले एकसाथ अवलोकन गर्न मिल्नेगरी मैदानको तीनतर्फ प्याराफित निर्माणको काम पनि ८० प्रतिशत बढी सम्पन्न भएको उनले जानकारी दिए । यसबाहेक मञ्च निर्माण, टिकट काउन्टर, गेट निर्माण, शौचालय व्यवस्थापन, पार्किङ स्थलको व्यवस्थापन, लाइटिङ तथा प्रचार प्रशार सामग्रीको व्यवस्थापन लगायतका काम बाँकी रहेको भण्डारीले जानकारी दिए ।

३ विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने प्रतियोगिता राष्ट्रिय भलिबल संघको नियमानुसार सञ्चालन गरिने भएकाले सोही अनुशासर व्यवस्थापनमा लागिएको क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए । विगतभन्दा फरक र उत्कृष्ट खेलाडीहरु बीच प्रतिस्पर्धा हुने भएकाले यस पटक दर्शकको चाप पनि बढ्न सक्ने भएकाले सोही अनुसार व्यवस्थापनमा लागिएको उनले बताए । प्रतियोगिता अवधिभर मैदानको चारैतर्फ कारपेट बिच्छ्याएर धुलो नउड्नेगरी व्यवस्था गरिने चन्दले जानकारी दिए । प्रतियोगिता अवधिभर आवश्यक सुरक्षा प्रवन्धका लागि पनि क्लबका सदस्यहरुलाई स्वयम्सेवक बनाएर परिचालन तथा सुरक्षा निकायहरुसँग समन्वय गरी प्रवन्ध मिलाइने क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार मिलन रानाले जानकारी दिए । यस क्षेत्रकै गौरवको रुपमा रहेको प्रतियोगिता भएकाले सम्पूर्ण व्यवस्थापनको खर्च बढी लाग्ने भएकाले दर्शकलाई प्रवेश शुल्कमा समेत विगतभन्दा वृद्धि हुन सक्ने उनले जानकारी दिए । यस पटकको प्रतियोगितामा प्रवेश शुल्क न्युनतम २ सय रुपैयाँ कायम हुन सक्ने आयोजकले जनाएको छ ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको उपाधिका लागि अन्तिम प्रतिस्पर्धा फागुन २ गते हुने छ । फागुन २ गतेसम्म ६ दिन सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख १ रुपैयाँ, द्वितीयले १ लाख ५० हजार एक रुपैयाँ तथा तृतीय हुने समूहले १ लाख १ रुपैयाँ प्राप्त गर्ने छ । यसैगरी अन्तिम चारमा पुग्ने समूहले समेत ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।

यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद राशीले सम्मान गरिने तथा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद राशीले सम्मान गरिने छ भने उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिने संयोजक गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेलाडीहरुका लागि खेल अवधिभर १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बीमाको समेत गरिएको छ । १४ वर्षपछि यस क्षेत्रमा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेका कारण दर्शकको चाप विगतभन्दा बढी हुने अपेक्षा गरिएको छ । २०६६ सालदेखि जिल्ला स्तरीयहुँदै प्रदेश स्तरका प्रतियोगिता गर्दै आएको मणिमुकुन्द क्लबले यस पटक भने राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको हो ।   

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।