ताजा अपडेट »
नियात्रा:

सरर सगरहवा

मंगलबार, ०९ माघ २०८०, १४ : १८
274 Shares

माघको महिना । जाडो उस्तै । बुटवलमा घाम देखिएको थिएन ।  ८ गते,सोमवार । सल्लाह अनुसार हिड्ने भनेको विहान नौ बजे । तर, हिड्न लाग्दा १० बज्नै आँटेको थियो । पुग्ने भनिएको स्थल,राष्ट्रिय मूर्तिकला कार्यशाला सञ्चालन भएको कपिलवस्तुको जगदीशपुरताल  नजिकै सगरहवा ताल । जो बाणगंगा नगरपालिकाको वडा नं.९ पर्दोरहेछ । हामी पुग्ने दिन,कार्यशालाको समापन हुने दिन रहेछ । पौष २३ गतेदेखि सञ्चालन भएको उक्त कार्यशालामा देशभरिबाट १५ जना मुख्य र १५ जना सहायक मूर्तिकारहरुको जमघट भई १५ दिनसम्म विभिन्न खालका मूर्ति कुँदिएका रहेछन् । 

भुवन दाइ : मालिक पनि गुरुजी पनि 
सैनामैनाको वन कटहवाबाट कलाकार सुमित्रालाई हाम्रै कारमा लोड गरियो । कारमा हामीहरु चारजना पहिले नै थियौं । भुवनसिंह दाइ कारका मालिक र गुरुजी पनि । घरघरि दाइले सलल बाटोमा कारको गति बढाउँदा भाउजु चन्द्रकुमारीले त्यसो नगर्न सुझाव दिइरहन्थिन् । सुस्त गएपनि पुगिएला नि–सविनाले सुस्तरी भन्दैथिइन् । सालझण्डी काटियो । फारलाइन पुग्दा वन अधिकृत चन्द्रबहादुर रानाभाट सरलाई सम्झिएँ मैले । फर्केर आँउदा भेटौला नि भनें । चार नम्बर जीतपुर पुगियो । त्यहाँबाट हाम्रो कारले दक्षिणतिर बाटो मोड्यो । गजेडा,ओदारी र निग्लिहवातिर । सगरहवा ताल सोध्दैसोध्दै अघि बढ्दै गइयो । झुक्किएर धेरै ठाउँबाट कारलाई फर्काउनु पर्दा भुवन दाइको अनुहारमा चमक हराउँथ्यो । सशस्त्र प्रहरीका दुईजना जवान महिलाहरुले हामीलाई बाटो देखाइदिए । हामीले धन्यवाद् दिदै गर्दा उनीहरुले मुस्कान दिए । 
प्रसादीपछि दान 

2कनकमूनि मावि,श्रीनगर,जगदीपुरको छेवैमा हामी पुग्दा स्थानीय कपिलमूनि हार्डवेयर सञ्चालकले भारतको अयोध्यामा रामको प्राण प्रतिष्ठा गरेको सन्दर्भलाई लिएर आफ्नौ खर्चमा जलपान गराउँदै रहेछन् । हामीलाई बोलाइबोलाई प्रसादीग्रहण गर्न अनुरोध गरे । हामीले गुलियो हलुवा,स्वादिष्ट चना र चिया प्रसादीका रुपमा ग्रहण गरेका थियौं । मैले त स्वादिष्ट चना त दुईपटक ग्रहण गरें । चिया त विपत्ता मिठो थियो । भुवनदाइले दुईपटक सेवन गरेका थिए । हलुवा खान नरुचाउने सुमित्राले हलुवा खाएको देख्दा त छक्कै परियो । रामको तस्वीरमा भुवन दाइले दाम चढाए । सुमित्राले गैंडा दान गरिन् । दुईपटक स्वादिष्ट चना ग्रहण गरेपछि पनि दान नगरि निख्लो  हिड्न मेरो मनले मानेन । भर्तृहरिले दानका बारेमा भनेका रहेछन्–दाहिनेहातले दिएको दान देब्रेहातले समेत थाहा पाउनु हुँदैन । त्यसैले मैले उल्लेख गरिनँ यहाँ । कलाकार बेनु थापाको फोन लगातार आइरहेको थियो । उनको निमन्त्रणामा नै हामी त्यतै पुगेका थियौं । 

ढुंगालाई मूर्ति बनाउनेहरुसँग भेट
सगरहवा ताल नजिकै रहेको  खाली जग्गामा कुँदिएका मूर्तिहरुलाई नजिकैबाट नियाल्यौं । कतिपय मूर्त थिए भने कतिपय अमूर्त देखिन्थे । मूर्तिको नजिक सबै कलाकार र मूर्तिप्रतिको उनीहरुका कन्सेप्ट सुन्न पाएको भए जाती हुने थियो । भुवन थापाले आफ्नो मूर्तिका बारेमा हामीलाई बताइरहँदा खुब मज्जा आयो । उनले घडाबाट दूध, पानी र रगत बगिरहेका र त्यसलाई शुद्धीकरण गर्न चक्रको प्रयोग बारेमा राम्रो ब्याख्या गरेका थिए । १५ दिनसम्म कलाकारहरुले ढुंगालाई मूर्ति बनाउन आफ्ना ज्ञान,सीप,श्रम र पसिना खर्चिएका थिए ।  

6

मूर्तिकलामा कहलिएकादेखि नयाँ पुस्ताका कलाकारहरुका समेत उपस्थितिले मूर्तिकला कार्यशाला सफल भएको ठानियो । आयोजकका रुपमा रहेका सरकारी,गैरसरकारी सबै संघसंस्थाहरुलाई विशेष धन्यवाद दिन्छु । यो कार्यशालाले सगरहवालाई नयाँ पहिचान दिएको छ । पर्यटकीय गन्तव्य बनाउन पहल गरेको छ । यहाँका ऐतिहासिक,पुरातात्विक एवम् धार्मिक महत्वलाई उजागर गरेको छ । सगरहवालाई प्रचार प्रसारमा मद्दत पुगेको छ । ढुंगालाई मूर्ति बनाउनेहरुसँग भेट्ने अवसर मिल्यो । 

कार्यशालामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमूनिसँग भेट भो । परिचय भयो । फोटो सेसन गरियो । कार्यक्रम स्थलबाट हिड्नेबेला बदाम खायौं । सुन्तला चाख्यौं । घाम उघारिएको थियो । त्यतिञ्जेल एक,दुईजनाको कविता  सुनियो । कार्यशालाको औपचारिक समापन कार्यक्रम सुरु हुँदा हामीभने कार्यशालास्थलबाट बाहिरियौं । 

क्यारेमबोर्डमा झुण्डिएका युवाहरु 
कार्यशाला स्थलबाट निस्किएपछि सीधै जगदीशपुर ताल हेर्न पुग्यौं । डुंगा चल्दै थियो । केहीवेर फोटो खिचियो । सारस चरालाई मूर्तिमा मात्र देखियो । साइबेरियाबाट यहाँ सारस चरा आउँछन् भन्ने पढेको र सुनेको थिएँ । यो मानवनिर्मित ताल हो । खासमा यो बाणगंगा नदीबाट सिंचाइ गर्नका लागि बनाइएको रिजरभ्वाएर ताल हो । सन् १९७० अर्थात् सम्वत् २०२७/०२८ तिर यो ताल सिंचाइका निम्ति निर्माण गरिएको रहेछ ।

7 

ताल,घुमफिर गरेर फर्किनेबेला ठेलामा रहेको भेलीमा मुसेर बनाइएको भुजाको डल्लो खाइयो । गुलियो बेस्सरी थियो । मैले त हल्का चाखेंमात्र । त्यसपछि हामी जगदीशपुर ताललाई हात हल्लाएर अघि बढ्यौं । त्यहाँबाट बनगाइँ पुग्न आठ किलोमीटर दूरी पर्दोरहेछ । बाटामा वनकसियामा क्यारेमबोर्ड खेल्दै गरेका युवा देख्यौं । खेल्ने चारजना हेर्ने त दर्जनजति थिए । हाम्रा गाउँठाउँमा क्यारेमबोर्डले धेरै युवाहरुलाई रनभुल्लमा पारेको देख्दा अचम्मै लाग्छ । अघि बढेपछि सुठौलीचोकमा पुगियो । त्यहाँबाट पूर्वतिर कोपहवा गइँदोरहेछ । हामीभने उत्तरतिर हानियौं । बनगाइँ पुग्न नपाउँदै कारमूनि कुकुर छिरेछ । काइँकाइँ गर्दै थियो ।  

वनका कुरा चन्द्र सरसँग 
रुपन्देही र कलिबस्तुको सीमानामा रहेको कोठी नदी तर्दै गर्दा कञ्चन सबडिभिजन वन कार्यालयका प्रमुख चन्द्र भाटसरलाई भेट्यौं । चिया र खाजा खायौं । भाट सरसँग मीठा बात मारियो । साझेदारी वनका बारेमा जान्ने मौका मिल्यो । ६ वटा पालिकाका २९ वडालाई समेटेर उक्त साझेदारी वन गठन गरिएको रहेछ । प्रदेश सरकार,स्थानीय पालिका र उपभोक्ताका संलग्नतामा साझेदारी वन गठन गरिएको रहेछ । 

90

सैनामैना, वन कटहवामा रहेको सुमित्रा रानाको घरमा पसियो । उनको नयाँ घरमा छिनभर बसियो । ग्यालेरीमा रहेका चित्रहरु हेरियो । सुमित्राले आफ्ना चित्रहरुका बारेमा वर्णन गरिन् । एलिस भान्जाले तात्तातो कफी पिलाए । बुटवल आउँदा साढेपाँच बजिसकेको थियो । सविनाले भुवनसिंह दाइ र भाउजुलाई यात्राका निम्ति धन्यवाद् दिइन् । मैले पनि दोहोराएर धन्यवाद् दिएँ । हामी घरमा ओर्लियौं ।  दाइ भाउजु सररर गए कारमा । पर पुगुञ्जेल हेरिरहें मैले । दाइ भाउजु गएपनि स्नेह यतै छुटेजस्तो लाग्यो । अन्टार्कटिकामा पुगेर फर्किएका दाइ र घरधन्दा गरेर जीवन गुजारेकी चन्द्रकुमारी भाउजुसँगै हिड्न पाउँदा औधी खुसी भयौं । 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार