ताजा अपडेट »

कुरो पुरानो : सम्झना ताजै

सोमबार, ०१ माघ २०८०, ०७ : २८
158 Shares


४१/४२ सालतिर म बर्दघाटको दाउन्ने देवी माविमा पढ्थें । बाढीपीडितमा एक्लै बस्थें । हाम्रो परिवार,पाल्पाको दोभानमा थियो । बर्दघाट बस्नु,सुरुमा मेरो रहर थियो । दोभानमा साइकिल समेत नदेखेको म बबुरोलाई साईकिल चढ्ने विपत्ता रहर जाग्यो अनि उतैतिर हुँइकिएँ । एकघण्टा साइकिल सिकेको दुई रुपैयाँ लाथ्यो । नास्ता खान आमाले दिएको पैसाले साइकिल सिक्न धम्मरधूँस लाग्थें । 

मधेसको सम्मो परेको ठाउँ,साथीहरुले मलाई साइकिलको सीटमा राखेर अगाडि हेर,अडाडि हेर भनेर पछाडिबाट धकल्थे । सुरुसुरुमा अड्याउनै मुस्किल पथ्र्यो । कुहिना र घुँडामा लागेका घाउमा माटो हालेर सञ्चो पारिन्थ्यो । पछिपछि बानी पर्यो । साइकिल किन्ने पैसा त सिक्दै गयो होला ! कसैले चाँबी नलगाई घर अगाडि साइकिल राखेको देखेमा थाहै नदिइ टाप कसाई दिन्थें । साइकिल लिएर आउँदा साइकिलवाला रीसले चूर हुन्थे कहिलेकाँही त । त्यतिबेला मेरा कान त उनका लागि घण्टी बनेर बज्थे । 

दोभान घरमा आउँथे न्यूतम १५ दिनमा एकफेर । जाँच परेको बेला महिना दिनमा । परिवारको ऐसेट लागेमा हप्तामा नै सुइँकुच्चा मार्दिन्थें । यो मेरो घरतिर आउने टाइमटेवल थियो । यतिबेला बर्दघाटबाट बुटवल आउन पाँच वा छ रुपैयाँ लाग्थ्यो । ठ्याक्कै बिर्से ।   दोभान घरमा आएको बेला आमाले खुबै माया गर्थिन् । पढाइ सोध्थिन् । पाँडेकान्छाको खबर बुझ्थिन् । रामजी दाइको सञ्चोविसञ्चो जान्ने कोसिस गर्थिन् । देउमणि सचिवका बारेमा जान्न खोज्थिन् । दीलिपको आमालाई कस्तो छ भन्थिन् । 

यस्तै जाडो महिना थियो । आमाले हामी दाइभाइ र वहिनीहरुलाई माघे संक्रान्ति कहिले पर्छ भनेर सोधिन् । मैले फ्याट्ट भनें–माघको २ गते, सोमवार । आमा मूर्छा परेर हाँसिन्, म ट्वाल्ल परें । मेरो मुख रातो भएछ क्यारे । दाइभाइ र बहिनीहरुले खुबै जिस्काए ।  बर्दघाट बस्दा छिमेकीहरु  माघे संक्रान्तिमा त्रिवेणी नुहाउन जान्थें । कोही कोही त रीडी जानेकुरा गर्थे । म सानो मान्छेभने जाडोले महिनौं ननुहाएको बल्ल थाहा पाउँदैछु । 

माघे संक्रान्तिमा किन नदी,ताल वा खोलातिर नुहाउन जान्छन् मान्छेहरु आज पनि मलाई खासै हेक्का छैन । नुहाउन गएकालाई सोध्न पनि भ्याएको छैन । तैपनि जानेहरु गएकै छन् । नुहाएकै छन् । खोले पर्यटन,नदी पर्यटन,पोखरी पर्यटनको नमूना हुन सक्छ । 

यो कुरा लेखुञ्जेल मनमा अनेक कुराहरु खेलिरहेका छन् । घरमा वा धारामा नुहाउँदा मयल नजाने भएर त्रिवेणी वा रीडी जान परेको हो कि ? घरबाट कतै जान नपाउनेहरुलाई नुहाउने निहुँमा मोटर चढेर जान पाइने भएकोले पो हो कि ? नदी किनारमा सबैका मयल पखाल्दा त नदीको मात्रा पनि बढ्दो होला कि ? नुहाएर आउनेहरुले बोत्तलमा,गिलेनमा नुहाउने ठाउँबाट जल लिएर आउँथे । हाम्रा हातहातमा चिरित्त चुहाएर टाउकोमा चढाएर मुखमा सुरुप्प पार्न भन्थे ।  

मेलामा मीठाइ पसल हुन्छन् रे ! कम्मल बेच्नेहरु पनि आउँछन् रे । दालचिनीको पात बेच्नेहरु कति हो कति हुन्छन् भन्थे त्रिवेणी नुहाएर आउनेहरुले । चुलेवी खानेहरुको लाइन त कर्णालीमा नून थाप्नेहरुभन्दा लामो हुन्छ भनेको नसुनेको कहाँ हो र ? त्रिवेणीबाट ल्याएको बतासा थाप्न छिमेकीकहाँ बतास्सिएको हिजोजस्तै लाग्छ । 

आमाले माघे संक्रान्ति र साउने संक्रान्तिमा फन्के रोटी( सेलरोटी) हाल्थिन् । माघे संक्रान्तिमा तरुल,सख्खरखण्ड र पिंडालु उसिन्थिन् । पानी तताएर भएपनि नुहाउनु पर्छ भनेर हाम्रा लागि पानी तताइ दिन्थिन् । ताउलोको तातोपानी मेरा लागि राम्दी,रीडी र त्रिवेणी हुन्थे ।  
आज आमा छैनन् । सेलरोटी त बजारबाट किनेर खाइन्छ तर आमाले पकाएजस्तो स्नेहयुक्त नहुने । सख्खरखण्ड खाम भने शरीरमा चिनी कारखाना खोलेको धेरै वर्ष भो । पिंडालु उसिनेर खाम भने एण्टीलर्जिन खानुपर्छ । तरपनि माघको २ गते,सोमवार पर्ने माघेसंक्रान्तिको खुबै याद आउँछ । आमा हाँसेको अनुहार यतिबेला झल्झली आँखा अगाडि नाँचिरहन्छ । 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार