ताजा अपडेट »

बुटवल–बसन्तपुर ‘हाइकिङ’ अनुभवमा भेटिएका सम्भावना

शनिबार, २८ पुस २०८०, १८ : ५७
638 Shares

पौष महिना तापक्रम कम रहने महिना । पौष महिनामा अत्यधिक जाडो हुने भएकोले हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङका बासिन्दा जाडो छल्नको लागि कास्कीको पोखरा अस्थायी रुपमा बसाइँसराइ गरिरहेका हुन्छन् । यसैगरि तराईका जिल्लामा सितलहर हुने र यसबाट बालबालिका तथा वृद्ध  अत्यधिक जोखिममा परिरहेको घटना हाम्रा लागि नविन विषय होईन । यो प्रसङ्गले नेपाली सामाजिक आर्थिक अवस्था कम्जोर रहनुका पछाडि भौगोलिक अवस्था अवरोधक हो भनेर चित्रण गरिनु अत्यन्तै दुःखद कुरो हो । प्रकृतिले हामीलाई आयआर्जन गर्नका लागि प्राकृतिक रुपमा प्रसस्त अवसर सिर्जना गरेर छोडेको छ । त्यसलाई सदुपयोग गर्नका लागि हामीसँग स्पष्ट कार्यायोजना नहुनु हो । यसका लागि नेपाली शासक र नीति निर्माताको विवेक केही हदसम्म जिम्मेवार छन् ।

हामीले विश्व बजारमा वस्तु उत्पादन गरेर आर्थिक लाभ लिन सक्ने अवस्था छैन । किनकि हामीले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने वस्तु कम लागतमा उत्पादन गर्न सक्ने प्रविधि तथा जनशक्तिको विकास गर्न सकिरहेका छैनौं । अब हामीले विश्वव्यापीकरणको कारणले साँगुरिएको विश्वमा वस्तु बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्न सकिँदैन । नेपालले कम लागतमा आफ्नो अर्थतन्त्रलाई सुधार गरेर लयको गतिमा फर्काउनका लागि रहेको उपयुुक्त विकल्प भनेको पर्यटन उद्योगको विकास र बिस्तार नै हो ।

कोभिड १९ को प्रभाव केही कम भएदेखि नै योसँग सम्बन्धित निजी क्षेत्रका अभियन्ता र लगानीकर्ताहरुले फरक फरक तरिकाले कार्यक्रम गरिएको अवस्था छ । यहि कार्यको निरन्तरताकै शैलिमा राष्ट्रिय युवा संघ जिल्ला कमिटी रुपन्देहीले मिति २०८० पौष २८ गते ‘समृद्धिका लागि आन्तरिक पर्यटन प्रवर्द्धन’ कार्यक्रम राखेको थियो । सो कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिका वडा नम्बर ३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँ पालिका–३ बसन्तपुरसम्म ४ दशमलव ५ किलोमिटरको हाईकिङ्ग कार्यक्रम गरिएको थियो । यो कार्यक्रमको मुख्य लक्ष्य बुटवलको अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि आन्तरिक पर्यटक र बाह्य पर्यटकलाई बुटवलमा आक्रर्कषण गर्नको लागि बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म पैदल यात्रा रुट आवश्यक रहेको र यसका लागि स्थानीय, प्रादेशिक तथा संघीय सरकारको ध्यानाकर्षण गराउनु थियो ।

bishnu paudel uml

कार्यक्रमको नेतृत्व नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष,  रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पूर्व सफल अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले गर्नु भएको थियो । सो कार्यक्रममा पोलिट ब्यूरो सदस्य लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरी, पोलिट ब्युरो सदस्य दधिराम न्यौपाने, खिमलाल भट्टराई , केन्द्रीय सदस्य गुमादेवी आचार्य, प्रदेश तथा रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा संसद बासुदेव घिमिरे, गोपाल राना, डि आर घिमिरे, एमाले जिल्ला अध्यक्ष तेजेन्द्र के सी, नेता चित्रबहादुर केसी, मदन भण्डारी स्पोर्स्टका अध्यक्ष धुर्व आचार्य, प्रेस चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्य, जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, पत्रकार सुमन अधिकारी, लगायत नेकपा एमालेका विभिन्न जनवर्गीय सङ्गठनका करिब २०० जना सहभागीहरुले पैदलमार्ग प्रयोग गरि करिब ३ घण्टाको समयमा बसन्पुर पुगियो ।

कार्यक्रममा सहभागी जनाउन पुगेका केही आगन्तुकहरुले लुम्बिनी केबलकारको सुविधाको प्रयोग गरि छिट्टै कार्यक्रमको माथिल्लो स्टेशन बसन्तपुर पुग्नु भएको थियो । उहाँहरु पुगेको २ घण्टा ४६ मिनेटपछि अन्य सहभागीहरु पुगेका थियौं । बुटवल ३ लुम्बिनी केबलकारको प्रवेशद्वारको अगाडि रहेको रिबन काटेर हाईकिङ्गको उद्घाटन गर्ने क्रमका आफू पनि सहभागी रहेको कुरा सामाजिक सञ्जालमा देखाउन फोटो खिच्ने सबै जना बसन्तपुर सके हिँडेर नसके केबलकार चढेर नपुग्नु उहाँहरुका लागि पश्चताप हुनेगरि हामीले रमाइलो गरेर बुटवल फर्कियौं ।

humraj2

कार्यक्रमको सुरुवात गरेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल पक्कै पनि आफ्ना साथिहरु सँगसँगै केबलकारमा जानुहुन्छ भन्ने मेरो मनमा थियोे । तर उहाँले पैदलमार्ग कै प्रयोग गरेर बसन्तपुरसम्म पुग्नु भयो । उमेरले ५० कमका युवा जनशक्तिले यात्राभर उहाँलाई भेटाउन सकिएन । बीच–बीचमा थकित युवाहरुलाई गीत सुनाएर उर्जा प्रदान गर्दै बसन्तपुर पुराउनु भयो । उहाँको सुरक्षा युवा संघका साथिहरुले मिलाएको भएता पनि नेपाल प्रहरीको तर्फबाट ५ जना सुरक्षाकर्मी उपस्थित हुनु हुन्थ्यो तर उहाँहरुले हिँडेर भेटाउन कठिना थियो ।

बुटवल ३ बमघाट लुम्बिनी केबलकारको बटम स्टेसबाट करिब १ घण्टा सँगसँगै हिडेका पत्रकार मित्र डि.बी. सुस्लिङ र दिनेश श्रेष्ठले म र लक्ष्मण पौडेललाई उछिनेर तिव्र गतिमा उकालो  चढ्नु भयो । उहाँहरु दुई जना छुटेपछि हामी दुई लक्ष्मण र हुमराज बुटवल उपमहानगरपालिकाको निवर्तमान उपप्रमुख गुमादेवी आचार्यसँग सँगसँगै हिँडीयो । उहाँ पाको नेतृ भएको कारणले पनि होला बाटोमा मुख भुलाउने थुप्रै खुराकी लिएर हिँड्नु भएको रहेछ । यात्राका क्रममा यो बाटोमा ससाना नास्ता पसल, सेल्फी जोन र यात्रु प्रतिक्षालय निर्माणका लागि तीन तहका सरकारले ठोस योजना बनाई काम गरेमा लुम्बिनी घुम्न आउने विदेशी पर्यटकलाई आर्षित गर्न सकिने थुप्रै योजना सुनाउनु भयो ।

यात्राको क्रममा भेटिएको पुरानो शैलिको काठले बनेको घर स्थानीय सरकारले छिट्टै जिणोद्धार गरि संरक्षण गर्नुपर्ने देखियो । वर्तमानमा यसलाई राम्रोसँग जोगाउन सकेमा भविष्यमा आन्तरिक अर्थतन्त्र बलियो बनाउने बलियो आधार हुनेछ ।

bishnu paudel in jungle

बसन्तपुरको जङ्गलमा प्रशस्त मात्रामा केरा र तेजपत्ता रहेछन् । यसलाई स्थानीय गाउँ पालिकाले जनसहभागितामा आधारित आयआर्जनका कार्यक्रम गर्न सकिने सम्भावना देखियो । तिनाउ गाउँपालिकाका अन्य जङ्गलहरुमा पनि केरा र तेजपत्ता अत्यधिक रहेकोले यसका विभिन्न परिकार स्थानीय स्तरमा नै बनाउने गरि आर्थिक कार्ययोजना सञ्चालन गर्न सकिएको अवस्थामा बुटवलमा दिनभर खालि बस्ने गृहिणीहरुलाई समेत रोजगारीका अवसर सिर्जना हुने अवस्था देख्दा आजको यात्रा अनुसन्धानमूलक रहेको महशुस  भयो ।

छोटो समयका लागि गरिएको यात्रा भएकोले बसन्तपुरको ऐतिहासिक पक्षका बारेमा केही जानकारी लिनबाट असमर्थ रहन पुगियो । पछिल्लो समयमा बसन्तपुर विशेषगरी भारतीय पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउने उद्देश्यले लुम्बिनी केबलकार सञ्चालनमा आएको छ । यसले धार्मिक तथा पर्यापर्यटनलाई प्राथमिकतामा राखेर आफ्नो सेवा क्षेत्र बिस्तार गरिएको कुरा सुन्न पाउँदा बुटवलको समृद्धिका लागि पर्यटन उद्योग एक सशक्त आधार बन्ने कुरामा सहमत हुन सकिन्छ ।

कार्यक्रम आयोजकले बुटवलदेखि हिँड्दै आउँदा भोक लाग्छ भनेरै स्वादिष्ट खानाको व्यवस्थापन गरेको थियो । पहाडको पारिलो घाममा सालको पातले गाँसेका टपरीमा नेपाली मौलिक खाना खुवाउने कार्यक्रम आज मात्रै सीमित नराखेर त्यहाँ रिसोर्ट चलाईरहेको लुम्बिनी केबलकार प्रा .लिले यसलाई निरन्तरता दिन सकेमा स्थानीय कच्चापदार्थको प्रयोग पनि हुने प्लास्टिक जन्य सामग्रीको प्रयोग पनि घट्ने थियोे ।

bishnu

बसन्तपुर र नुवाकोट बुटवलको चिसो र गर्मी छल्ने उपयुक्त आन्तरिक पर्यटकको स्थल हुन् ।  यी दुईवटा स्थलको प्रचारप्रसार नेपाल र नेपाली भाषामा मात्रै सीमित गरिनु हुँदैन । यिनलाई राम्रोसँग प्रचारप्रसार गर्न सकेको अवस्थामा आन्तरिक रोजगारीका हजारौं अवसर सिर्जना हुनुका अतिरिक्त सोहि सङ्ख्यामा स्वरोजगारी समेत सिर्जना हुने ।

पर्यटन प्रवर्द्धनका कार्यक्रममा राज्यले नीति र पुर्वाधारको व्यवस्थापन गरिदिनु आवश्यक छ । ग्रामिण पर्यटन प्रवर्द्धनका कार्यक्रमहरुमा निजी क्षेत्रको भन्दा महत्वपूर्ण भूमिका स्थानीय नागरिकहरुको हुने  भएकोले यस्ता कार्यक्रम गरिरहँदा तिनाउ गाउँ पालिका र रुपन्देहीका १६ वटै पालिकाहरुको बीचमा समन्वय र सहकार्यको जरुरी छ । देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको अवस्थामा आन्तरिक पर्यटकीय गतिविधिलाई प्राथमिकताका साथ सञ्चालन गर्नका लागि तीनै तहका सरकारलाई जनदबाब दिनका लागि गरिएको यस कार्यक्रममा सहभागी हुने अवसर दिएकोमा आयोजकलाई विशेष धन्यवाद ।

bishnu -paudel

 

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल