ताजा अपडेट »

यसरी तयार हुन सक्छ समृद्ध नेपालको आधार

विहीबार, २६ पुस २०८०, १३ : ५६
238 Shares

देशमा उपलब्ध सा्रेत र साधनको उपयोग मार्फत आर्थिक सामाजिक परिसूचकमा सकारात्मक परिर्वतन ल्याई समग्र जीवनस्तरमा सुधार ल्याउनु आर्थिक विकास हो । यसमा गुणस्तरीयता र वैज्ञानिक व्यवस्थापनको मिश्रण हुनु आर्थिक समृद्धि हो । आर्थिक वृद्धिका लागि अर्थतन्त्रमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानव साधन, पूँजी र प्रविधीको आर्दश अभ्यासको स्थिति नै आर्थिक विकास हो । यसैको न्यायोचित वितरण, योग्दानमा आधारित सेवा सुविधा, सामाजिक आर्थिक सुरक्षाको पूर्ण सुनिश्चिता आर्थिक समृद्धि हो ।

आर्थिक विकास एक निरन्तर प्रक्रिया हो, आर्थिक विकासका लागि सरकारी एवम् गैरसरकारी क्षेत्रले रणनीतिक साझेदारी गर्नु आवश्यक छ । जसले देशका हरेक पूर्वाधारहरुमा सकारात्मक, गुणात्मक तथा परिणात्मक प्रभाव पार्न सफलता हात लाग्दछ । आर्थिक विकासको अवधारणा सन् १९७० को दशक अगाडिसम्म विकासलाई आर्थिक विषयवस्तुको रुपमा लिईएको पाईन्छ  । त्यतिबेला प्रतिव्यक्ति आयमा वृद्धि हाशिल गरी यस्तो वृद्धिबाट आर्थिक तथा सामाजिक उपायदेयता हासिल गर्नेतर्फ जोड दिइन्थ्यो । विगतका विकास रणनीतिहरुले द्रुतदरको औद्योगिकरणमा बढी जोड दिई कृषि तथा दुर्गम क्षेत्रको विकासलाई बेवास्ता गरेको पाईन्छ जसको कारणले सन् १९७० को दशकमा आर्थिक विकासको अवधारणामा व्यापक परिवर्तन आयो जसानुसार विकासोन्मुख अर्थतन्त्रको परिप्रेक्ष्यमा गरिबी, असमानता र बेरोजगारी  घटाउने वा हटाउने प्रयासलाई विकासको संज्ञा दिइएको छ ।

विश्व बैंकको परिभाषमा “राष्ट्रको आर्थिक तथा सामाजिक अवस्थाहरुमा भएको सुधारलाई विकास भनिन्छ । अझ प्रष्ट रुपमा भन्दा सम्पति सिर्जन गर्न तथा मानिसहरुको जीवनस्तरमा सुधार ल्याउन कुनै क्षेत्रको प्राकृतिक तथा मानव संसाधनको व्यवस्थापन तरिकाहरुमा गरिने सुधारहरु नै विकास हो १९९१’ । त्यसैगरी अर्थशास्त्रि एम. पि. टोडारोको भनाईमा ‘विकासलाई एउटा बहुआयामिक प्रक्रियाको रुपमा लिईनुपर्दछ जसमा सामाजिक संरचना, लोकप्रिय एवम् प्रचलित आचरण र राष्ट्रिय संस्थाहरुमा व्यापक परिवर्तनहरुको साथै आर्थिक वृद्दिको तिव्रता, असमानता न्यूनीकरण र गरिबी निवारण समेतलाई समेटिने छ ।’

आर्थिक समृद्धि बहुआयामिक विषयवस्तु हो जसले देशमा भएमा हरेक स्रोत र साधनहरुको वैज्ञानिक तवरले उपयोग गर्दै दिगो विकासको मूल आशयलाई व्यवहारमा उतारीकन देशमा रहेका हरेक नागरीकहरुको जीवनस्तरमा सकारात्मक तथा गुणात्मक परिवर्तन आएको अवस्था नै आर्थिक समृद्धि हो । नेपालको सन्र्दभमा अबका केही वर्षमै उक्त अवस्था उत्पन्न हुने संकेतहरु वर्तमान दिनमा देखिएका छन् यसकारण अब नेपाल साचिकै आर्थिक समृद्दिको बाटोमा हिडेको छ भन्न सकिन्छ ।

आर्थिक समृद्धिका लागि आवश्यक शर्तहरु :

१. शान्ति सुरक्षा र द्वन्दको समाधान
आर्थिक विकास एक बहुआयामिक विषयवस्तु भएकाले यसलाई समुचित तवरबाट अगाडि बढाउनको लागि प्रमुख शर्त शान्ति सुरक्षा र द्वन्दको समाधान पर्दछ । जबसम्म देशमा शान्तिपूर्ण, सुरक्षीत एवम भयरहित वाताबरणमा निर्बाध रुपमा हरेक किसिमका आर्थिक गतिबिधीहरु चलायन मान हुदैन तब सम्म देशको विकास चुनावी सभाहरुमा मात्र हुन्छ वास्तविक रुपमा नागरिकले अनुभूती गर्ने गरी हुँदैन । आज नेपाल सुरक्षित भन्ने अवस्था छैन किनकी यहाँ दिनदिनै बम पड्किएको, भेटिएको समाचार सुन्न तथा पढ्न पाईएको यसकारण जबसम्म यस कार्यको अन्त्य हुँदैन देशको आर्थिक विकासको यात्रा अगाडी बढ्न सक्दैन । आज विश्वमा आर्थिक रुपले सम्पन मुलुकले पनि सुरुमा द्वन्द समाधानतर्फ आफ्नो ध्यान केन्द्रित गरेको ईतिहासले बताएको छ । यसर्थ आर्थिक विकासका लागी नभै नहुने तत्व भनेको शान्ति, सुरक्षा तथा द्वन्दको समुचित समाधान हो ।

 

२. उच्च दिगो र फराकिलो आर्थिक वृद्धि
नेपालले वि.स. २०१३ देखि आवद्यिक योजना प्रणालीको अभ्यास गरेको भएता पनि आजसम्म पनि विकसित मुलुकको रुपमा आफूलाई उभ्याउन नसक्नुको एउटै कारण हो योजनाहरु दिगो रुपमा क्रियाशिल नहुनु । नेपालका थुप्रै योजनाहरु निर्वाचन केन्द्रीत गरी बनाउने उपलबधी प्राप्ती भयो वा भएन भनेर मापन नगर्ने परिपाटी छ जसको कारणले देशले दीगो र फराकिलो स्तरको आर्थिक उपलब्धी प्राप्त गर्न सकेन । देशले दिगो विकासको अवधारणलाई आत्मसाथ गर्न सकेन परिणामस्वरुप देश अविकसित मुलुकमा गनिन पुग्यो ।

देशको सीमाना भित्र रहेका स्रोत र साधनको उचित प्रयोग गर्दै भावि पुस्ताका लागिसमेत संरक्षण गरी राखिदिनु नै दिगो विकास हो तर व्यवहारमा यो लागू भएको छैन भन्ने कुराको गतिलो उदाहरण चुरे क्षेत्र हो, जसको दोहन तिव्र गतिमा भएको छ तर समुचित प्रयोग भएकै छैन । अर्कोतिर देशको आर्थिक वृद्दिदरले सम्रग मुलुककै अर्थतन्त्रको प्रतिनिधित्व गर्ने भएता पनि नेपालको आर्थिक वृद्दिदर मन्द गतिको छ । देशको आर्थिक विकासका लागी उच्चदरको आर्थिक वृदिर हुनुपर्दछ अनि मात्र आसातित आर्थिक परिवर्तन गरी देशमा आर्थिक विकासको गतिलाई चलायमान बनाउन सकिन्छ अनाथ्या चुनावी बहस मात्र हुनेछ । कागजमा र भाषण जतिसुकै आर्थिक विकासका कुरा गरेता पनि वास्तवीक रुपमा देशले विकास प्राप्ती गर्नका लागी उच्च फराकिलो एवम दिगो आर्थिक वृद्धिदर प्राप्त गर्नै पर्दछ ।

३. राजनैतिक स्थायित्व र स्थायी सरकार
आर्थिक विकास एक बहुआयामिक तथा निरन्तर चलिरहने प्रक्रिया भएकाले यसले सफलता प्राप्त गर्नको लागि आवश्यक पर्ने शर्त राजनैतिक स्थायित्व र स्थायी सरकार पनि एक मुख्य तत्व हो । जुन नेपालमा कहिल्यै भएन जसका कारण देशले आसातित प्रगती गर्न सकेन । आर्थिक विकासका लागि आर्थिक विकासका पूर्वाधारहरुको सहज आपूर्ति हुनु पर्दछ जसको व्यवस्थापन राजनैतिक स्थायीत्व र स्थायी सरकारले पूरा गर्न सक्ने भएकाले यो एक अनिवार्य शर्त हो । नेपालको आर्थिक विकासको ईतिहारलाइ हेर्दा  वि.स. २०४८ पछि देशमा कुनै सरकारी उद्योग सञ्चालनमा आएनन् भने पूँजी निर्माणका लागि नयाँ प्रयास भएनन् ।

वि.स.२०५२ पछि देशले सशस्त्र द्वन्दको सामना गर्नु पर्यो जसका कारण धेरै रकम गैर उत्पादन क्षेत्रमा खर्च भयो । नेपालमा २००७ पछि नै राजनैतिक स्थायित्व र स्थायी सरकार गठन भएन जसको सिधा प्रभाब अर्थतन्त्रमा परेको छ । २०४७ र २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनपछि पनि देशमा स्थायी सरकार गठन हुन सकेनन् अतः देशमा बेरोजगारी, असमानता, गरिबी माँैलाउँदै आजको दिनमा आएको छ । वर्तमानमा स्थायी सरकार र राजनैतिक स्थायीत्वका कुरा बढी उठेका छन् जुन व्यवहारिक रुपमा नआउँदासम्म नेपालीले आर्थिक विकास र समृद्धिको श्वास र्फेन नपाउने निश्चित प्राय छ ।

४. औद्योगिक वातावरण
आर्थिक विकास हुनको लागि महत्वपूर्ण शर्तका रुपमा देशमा औद्योगिक वातावरण हुनु वाञ्छित छ । यसको अर्थ देशमा औद्योगिक विकासका पूर्वाधार विकसित अवस्थामा रहनु हो । देशमा विशिष्ट औद्योगिक वातावरणको विकास बिना देशको उद्योग क्षेत्र अगाडि बढ्न सक्दैन । हाल नेपालमा औद्योगिक वातावरण शिशु अवस्थामा रहेको छ । यसकारण नेपालको आर्थिक विकासको अवस्था कमजोर रहेको छ भन्न सकिन्छ त्यसैले नपालले आर्थिक विकासका लागि आवश्यक शर्त मध्येको यो शर्त पूरा गरेको छैन । देशमा वि.स. २०४९ पछि सरकारी तवरबाट एउटापनि औद्योगिक क्षेत्रको विकास तथा उद्योग स्थापना भएका छैनन् एवम् भएका पनि उदारीकरणका नाममा निजीकरण गरिएका छन् । नेपालको औद्योगक वातावरण नगन्य गतिमा अगाडि बढ्नुको मुख्य जिम्मेवार तत्व भनेको देशको राजनैतिक पद्दती तथा शैक्षिक बेरोजगारी पनि हो ।

५.स्थिर पूँजी बजार  
हाम्रो देश विकासोन्मुख मुलुक हो त्यसैले आर्थिक विकासका लागि आवश्यक पर्ने यो शर्त पूरा गर्न सकेको छैन । आर्थिक विकासका लागि दीर्घकालिन पूँजीको आवश्यकता पर्दछ जसलाई स्थिर पूँजी बजारका विभिन्न औजारहरुले मात्र आपूर्ति गर्न सक्दछन । पूँजी बजारले अर्थतन्त्रका दुबै क्षेत्र निजी तथा सार्वजनिक क्षेत्रको बचत परिचालन गर्ने तथा त्यस्ता दुबै क्षेत्रमा कार्यरत रहने व्यक्ति तथा संघसंस्थाहरुलाई आवश्यक पर्ने दिर्घकालीन ऋण सापटी उपलब्ध गराउँदछ । त्यसकारणले गर्दा देशको पूँजी बजार स्थिर रहनु पर्दछ भनि विश्व विकासको प्रतिवेदन सन् १८९ ले पनि जोड दिएको छ । पूँजी बजारले स्टक विनिमयको सुविधा प्रदान गर्दछ, यस बजारमा सेयर, बोन्ड, सेक्युरिटीहरु तथा ऋणपत्र खरिद बिक्रि भईरहेका हुन्छन जसमा पुरना कारोवार मात्र नभई नयाँ पनि हुने गर्दछ जसको माध्यबाट पुजीँ निर्माण भई देशको विकासका लागी आवश्यक पूँजी प्राप्त हुन्छ अनि आर्थिक विकासको यात्रासकारात्म गतिमा अगाडि बढ्दछ ।

समृद्धिका आधारहरु
१ जलस्रोत :
जलस्रोत भनेको जमिनको सतह भित्र वा बाहिर रहेको पानीको मात्रा भन्ने बुझिन्छ । नेपाल यो सम्पदामा विश्वमा दोस्रो स्थानमा तथा एसियामा प्रथम स्थानमा रहेको छ । यहाँ करिब ६००० भन्दा बढी नदीनाला तथा हजारैाँको सँख्यामा साना ठूला ताल तलैया, पोखरी  रहेका छन् । जसको उचित उपयोग गरी नेपाल सरकारले अधिक मात्रामा रोजगारी सिर्जना गर्न सक्ने तथा विदेशी बजारमा बिक्री गरी प्रयाप्त मात्रामा राजश्व जम्मा गरी नयाँ नेपाल समृद्ध नेपाल बनाउन सकिने प्रशस्त सम्भावना रहेको छ । नेपालको नदीबाट प्राविधिक रुपमा ४३००० मेगावाट विद्युत उत्पादन गर्न सकिने, त्यसैगरी नेपालका नदीहरुबाट एसियाका सम्पूर्ण खेतीयोग्य जमिनमा सिचाँई सुविधा विस्तार गर्न सकिने एवम् दक्षिण एसियाका सम्पूर्ण जनतालाई स्वच्छ योग्य पिउने पानी उपलब्ध गराउने सम्भावना नेपालका नदीहरुमा छ जसले पक्कै पनि नेपाललाई समृद्ध बनाउन सक्छन् ।

२ जैविक विविधता :
नेपाल प्राकृतिक तथा जैविक विविधताका दृष्टिकोणले भू स्वर्गका रुपमा चर्चित अर्थात फेसनको दूनियाँमा विश्व सून्दरीको चर्चा बाह्य जगतमा सो बराबरकै गतिमा नेपालको जैविक विविधताको चर्चा हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था तथा एजेन्सीहरुले निकालेको प्रतिवेदनबाट पुष्टि हुन्छ । नेपालको जैविक विविधता विश्वमै एक अनौठो प्रकृतिको मानिन्छ यहाँ विश्वमा लोपोन्मुख सूचीमा दर्ता भएकादेखि अन्यन्त्र कतै नपाइने जीव जन्तु, वनस्पती, पशुपन्छी समेत पाइने गर्दछन् । जैविक विविधताप्रति एकाई क्षेत्रमा रहेका जीव जन्तु, वनस्पती, प्राणी, जीवाणु, वशांणु र उक्त क्षेत्रको वातावरणीय प्रणाली हो । ‘वायो डाइभर्सिटी अफ प्रोफिट प्रोजेक्ट’का अनुसार विश्वको कुल क्षेत्रफलमा नेपालको हिस्सा ०.००३ प्रतिशत रहेको छ जैविक विविधताका हिशाबले नेपालको स्थिती निम्नानुसारको रहेको छ :

  •  विश्वमा पाईने कुल वनस्पतीहरुको करिब ३ प्रतिशत नेपालमा पाईने,
  •  करिब ३५० प्रजातीका वनस्पतीहरु नेपालमा मात्र पाईने,
  •  नेपालको ९५ प्रतिशत वनस्पतीको नाम मात्र विश्वमा सूचिकृत भएको छ, बाँकी ५ प्रतिशत सूचिकृत हुन बाँकी रहेको अवस्था छ ।
  •  विश्वमा पाईने १८,१५० जातीका माछा मध्ये नेपालमा १८५ जातीका माछा पाईन्छ,
  •  विश्वको करिब ४.५ प्रतिशत स्तनधारी जातीका प्रजातीहरु , ९.१४ प्रतिशत चराहरुका जातीहरु र २.९ प्रतिशत पुतली जातका किराहरु  पाईने  तथा २.१ प्रतिशत विभिन्न जातका फुल फुल्ने बिरुवाहरु पाईने,
  •  विश्वमा लोपोन्मुखको सूचीमा परेको रेड पान्डा तथा नेपालमा मात्र पाईने चरा काडेभ्याकुर,

उल्लेखित कुराको साथ साथै अन्य कुराहरुको उचित प्रचार प्रसार गर्न सकेको खण्डमा देशलाई समृद्धिमा पुर्याउनको लागि आवश्यक सर्तहरु ः रोजगारीको अवसरको प्रयाप्तता, बढ्दो व्यापार घाटामा सुधार, प्रतिव्यक्ति आयमा वृद्धि, आर्थिक तथा सामाजिक पूर्वाधारको विकास तथा विस्तार जस्ता पक्षमा परिणात्मक तथा गुणात्मक परिवर्तन देखा पर्नेछ ।
अतः नेपालको आर्थिक विकास गर्नमा धेरै प्रकारका पूर्वाधारहरु रहेता पनि वर्तमान समयमा जैविक विविधतालाई संरक्षण गर्दै यसको विकास, सम्वर्द्धन गर्न सकिएको खण्डमा नेपालको आर्थिक विकास तथा दिर्घकालिन आर्थिक समृद्धिको ढोका खुल्नेछ । जसले हालका दिनहरुमा करिब ४० लाखको संख्यामा विदेशीएका नेपालीहरुलाई नेपालमै रोजगारी दिन सकिने वातावरणको सिर्जना हुनेछ यसकारण नेपालको जैविक विविधता आर्थिक समृद्धिका लागि एक दरिलो खम्बा हो ।

३ पर्यटन उद्योग :
पर्यटन व्यवसायसँग सम्बन्धित सेवामूलक उद्योगलाई पर्यटन उद्योग भनिन्छ । जुन उत्पादनमूलक नभई सेवामूलक उद्योग हो जसले पर्यटकहरुलाई र यससँग सम्बन्धित पक्षहरुको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने गर्दछ । विशेषगरी  नेपालमा धार्मिक पर्यटन, पर्यावरणीय पर्यटन, ऐतिहासिक पक्षसँग सम्बन्धित पर्यटन व्यवसायको प्रचुर सम्भावना छ । नेपाल एक यस्तो मुलुक हो जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिको मूहान लुम्बिनी, हिन्दु धर्मका विभिन्न ठूला ठूला पवित्र स्थलहरु पशुपति क्षेत्र, मुक्तिनाथ, पाटन क्षेत्र, हलेसी मअदेव, सुपा देउराली, बाग्लुङ कालिका, मनकामना आदि त्यसैगरी बुद्धसँग सम्बन्धित स्थलहरु तिलौराकोट दरबार, देवदह, स्वयम्भू, बौद्ध, आदि ।

ऐतिहासिक स्थलहरुमा भक्तपुर दरबार क्षेत्र, नारायणहिटी दरबार, सिंह दरबार, गोर्खा दरबार, पाल्पा दरबार, उजिर सिंह पार्क, चन्द्रगीरी डाडा, सिंजा उपत्यका, कमल पोखरी आदी । यसैगरी विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरु, सिमसार क्षेत्रहरु, प्राकृतिक मनोञ्जन तथा पदयात्राका लागि विभिन्न पदमार्गहरुको साथै देशमा पर्यटकहरुलाई लोभ्याउने धेरै कुराहरु रहेका छन् । नेपाल बहु जाती, भाषा, धर्म, कला, सँस्कृति, भेष भूषा भएको मुलुक  भएकाले पनि यहाँको पर्यटन व्यवसाय दूनियाको लागी नौलो स्वादको छ । यसबाटहामीले भरपूर फाईदा   लिन सक्ने प्रशस्त सम्भावना रहेको छ । नेपालका हरेक ग्रामिण बस्तीहरु पर्यटन व्यवसायका लागी प्रयाप्त छन । जसको माध्यबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गरी नयाँ रोजगारीका अवसरको सृर्जना तथा राजस्वमा वृद्दि गर्न सकिन्छ ।

यस उद्योगको विकासले देशमा अन्य व्यवसाय तथा उद्योगलाई चलायमान बनाउने हुनाले पनि संघिय नेपाल समृद्द नेपाल बनाउनमा यो एक मजबुद खम्बा हो ।  नेपालको पर्यटन व्यवसायले अतिथी देवो भव लाई मुल मन्त्र बनाएर अगाडी बढे जस्तै देशको आर्थिक नीति निर्माताले पर्यटन व्यवसायको सम्भावना र  अवसरलाई ध्यान दिएमा देशले चाडै काचुली फेर्ने कुरामा दुई मत छैन ।  वर्तमानमा १० लाख युवालाई प्रत्यक्ष रोजगारी दिएको यसले सन् २०२५ सम्ममा ९  लाख  नयाँ युवालाई रोजगारी दिने रणनीतिक योजना बनाएको छ ।   यसबाट पनि पर्यटन व्यवसाय आर्थिक समृद्धिको आधार स्तम्भ हो भन्ने पुष्टि हुन्छ ।

४ कृषि :
नेपाली कृषि प्रणली विगत देखी वर्तमान सम्म परम्परागत शैलीमा सञ्चालन भईरहेको छ र यसलाई परिवर्तित विश्व जगत् सँगै अगाडी बढाउन सकिने अनेकौ सम्भावना भएकाले संघिय नेपालको संमृद्धिको अकधारका रुपमा प्रशस्तुत गरिएको हो । आज पनि ६५ प्रतिशत भन्दा बढी नेपालीहरुको मुख्य पेसा यहि नै हो र यसलाई आधुनिकीकरण गर्न सकेमा यसै भित्र लुकेर रहेका समस्याहरुलाई हल गर्दै देश विकासको आधार निमार्ण गर्न सकिने प्रयाप्त अवसरहरु रहेका छन् । कृषिमा व्यवसायिकतालाई जोड दिन सकेको खण्डमा बढ्दो वैदेशिक व्यापार घाटालाई कम गर्न , रोजगारीका अवसरहरु सिर्जना गर्न, वैदेशिक मुद्रा आर्जन गर्न तथा आयात प्रतिस्थापनमा सहयोग पुर्याउनेछ । जसले आर्थिक अवस्थामा सोझै प्रभाब पार्ने छ ।

वर्तमानमा पनि यो क्षेत्रले कुल राजस्वमा २८ प्रतिशत भन्दा बढी योगदान गरेको छ र यो मात्रालाई बढाउने प्रयाप्त सम्भावना रहेको छ । देशका हरेक स्थानीय तहमा एक एक उत्पादनलाई अनिवार्य गरिएमा कृषि क्षेत्र निर्विकल्प समृद्दिको आधार बन्ने प्रशस्त आधार रहेको छ । यसका लागी सरकार , सहकारी तथा निजी क्षेत्रले नगलेबाली, माछाँपालन, मौरीपालन, पशुपालन जस्ता व्यवसायीक क्षेत्रमा सहकार्य गर्नु युगको आवश्यकता भने पक्कै हो । विश्वमा आर्थिक विकासको उच्च बिन्दुमा पुगेका मुलुक पनि कृषि क्षेत्रमा आमुल परिवर्तन गरी पुगेको उदाहरण विश्व आर्थिक ईतिहासमा उल्लेखित छ । अहिले देशमा २० वर्षे कृषि विकास रणनीति लागु भएको छ यसको लक्ष्यलाई प्राप्ति गर्न सकिएमा देशले दोहोरो अंकको आर्थिक वृद्दि हाशिल गरी यो क्षेत्र एक सबल र सफल खम्बाका रुपमा रहनेछ ।

निश्कर्ष :
नेपाली अर्थतन्त्रलाई समृद्धिको लयमा हिँडाउनका लागि हामीसँग रहेका विभिन्न विकल्पहरु मध्ये कुनै एकलाई मुख्य प्राथमिकता क्षेत्र घोषणा गरी सम्बन्धित पक्षले अल्पकालिन तथा दिर्घकालिन योजना बनाई अगाडि बढेमा आर्थिक समृद्धि हाम्रै पालमा सम्भव छ । सन् २०१९ को अन्त्यबाट विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को समयमासमेत नकारात्मक असर भोग्नु नपरेको कृषि क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाई पर्यटन उद्योगका विभिन्न आयामहरुको दीर्घकालिन व्यवस्थापन नै हामीले प्राप्त गर्ने समृद्धिको आधार हुन् ।

 

 

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल