ताजा अपडेट »

'कर्मचारी प्रशासनलाई सक्षम र सुशासनमैत्री बनाउन सञ्चारकर्मीको भुमिका महत्वपूर्ण'

बुधबार, २५ पुस २०८०, २१ : ०६
68 Shares

बुटवल । कर्मचारी प्रशासनलाई सक्षम र सुशासनमैत्री बनाउन सञ्चारकर्मीको भुमिका महत्वपूर्ण हुने बुटवलमा आयोजित एक कार्यक्रममा बताइएको छ ।

चाँदनी नेपाल र एकाउन्ट्याबिलिटी ल्याब नेपालको आयोजनामा सञ्चारकर्मीसँग भएको अन्तरसम्बाद कार्यक्रममा सहभागी संचारकर्मीहरुले मुलुक निर्माणमा निजामती क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । उत्कृष्ट सेवा प्रदान गर्ने सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने कर्मचारीहरुको गुण र दोषका आधारमा सम्मान गर्नु पर्ने कार्यक्रममा बताइएको थियो । कार्यक्रमको विषय बस्तुमाथी प्रकाश पार्दै चाँदनी नेपालका कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डेले निजामती कर्मचारीहरुले गरेका राम्रा कामहरु बाहिर आउनुपर्ने भन्दै त्यसले सदाचार प्रवद्र्धनमा सहयोग पुग्ने बताए।

उनले सुशासनका लागि गरिने सकारात्मक कार्यले समाजमा असल ब्यवस्था स्थापित हुने भन्दै असल कार्य गर्ने ब्यक्तिका पनि राम्रा समाचार बन्नु पर्ने बताउनुभयो । त्यसले असल कर्मचारीलाई थप प्रोत्साहन मिल्ने बताए । उनले सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्यांकनका आधारमा उत्कृष्ट पाँच कर्मचारीलाई इन्टेग्रिटी आइकन घोषणा गर्दै एकाउन्ट्याबिलिटी ल्याब नेपालले सम्मान गर्दै आएको सो अवसरमा बताए। 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा लुम्बिनी दैनिकका सम्पादक शेरवहादुर केसीले निजामति क्षेत्रका राम्रा पाटाहरुलाई उजागर गर्नुपर्ने बताए । निजामति क्षेत्रमा पनि धेरै राम्रा कर्मचारीले असल काम गरेको भन्दै त्यस्ता कर्मचारीहरुका राम्रा कामलाई संचारमाध्यमले पच्छाउनु पर्ने बताउनुभयो । कार्यक्रममा अग्रज पत्रकार महेन्द्र थापाले उत्कृष्ठ कर्मचारीहरुलाई प्रोत्सहन गर्नुपर्ने धारणा राखे ।

यस्तै नेपाल टेलिभिजनका सम्बाददाता हरिष ढकालले असललाई असल र खरावलाई खराव मान्नु पर्ने उल्लेख गर्दै गलत काम गर्ने कर्मचारीलाई निरुत्साहित गर्नुपर्र्ने बताए । कार्यक्रममा राज्य टिभीका समाचार प्रमुख यमलाल भुसाल, सञ्चारीका समूहका निरु गौतम, प्रेस युनियनका उपाध्यक्ष कल्पना तिवारी, दिपक घिमिरे, पत्रकार कृष्ण खनाल, डिबी सुस्लीङ, सुदिप भण्डारी लगायतले सुशासन र जवाफदेहीताका बारेमा आ–आफ्ना भनाइ राख्नु भएको थियो ।

एकाउन्ट्याबिलिटी ल्याब नेपालले हरेक वर्ष उत्कृष्ट कर्मचारीलाई इन्टेग्रेटी आइकनको रुपमा सम्मान गर्ने गरेको छ । यो बर्ष इन्टेगे्रटी आइकन २०२३ को लागि ५ जना छनोट भएका छन् । जस अनुसार नारायणी अस्पताल विरगंजकी हेमा थापा, महिला  तथा बालबालिका विभागकी निर्देशक निरा अधिकारी, शितोष्ण बागबानी निर्देशक पद्मनाथ आत्रेय, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकिय अधिकृत प्रतिक राइ र मनमैजु मावि काठमाडौँका रबिना महर्जनलाई इन्टेग्रेटी आइकनका रुपमा सार्वजनिक गरिएको छ । उनीहरुलाई पुस २७ गते सम्मान गरिने भएको छ ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।