ताजा अपडेट »

लघुकथा :"गोहीका आँसु"

आइतबार, २२ पुस २०८०, १६ : ०६
484 Shares

हैन के को भिड हो हँ ? पिपलपाटे साइँलाको दलानमा घुरुम्म जम्मा भएका मान्छेको भिड देखेर ,बेंसी जान हिडेका थुम्केली साहु बा लौरो टेक्दै त्यतै तेर्सिए ।

"ओइ साँइला, कसलाई के भयो र ?" साहु बाले जिज्ञासा राखे । "लामो समयसम्म उपचार गरे पनि क्यान्सर जस्तो असाध्य रोग सन्चो हुन सकेन । डाक्टर ले घरमै लगेर सेवा गर्नुस भन्यो त्यसैले अस्पतालबाट घरमा ल्याएको नि ! "साँइलीलाई देखाउँदै साँइलाले भन्यो,।

ओहो ...बडो दुख पो पाईछस् त ,अब कसो गर्छस ?"उपचार क्रममा सापटी माग्न जाँदा मुख फालेका " साहु बा ले चिप्लो घसे ।

"के गर्नु र साहु बा । कतै कसैबाट हार गुहार पाउन सकिएन ।सोर्स फोर्स लाउन सकिएन । बलेको आगो मात्र ताप्ने चलन फेरिएन । त्यसैले यिनलाई मैले त घरमै ल्याएँ ।

साँइलीलाई आज व्यथाले अलि च्याँपेको छ । थलिएको उनको शरीर क्षीण बनेको छ ।" साँइलाले बेली विस्तार लगाए । साहु बा ले विरामीको नाडी छामे। "नाडी खिचिईसके छन् हेर् ! सारै पर जाने छाँट छन्द देखिँदैन त। के गर्छस बाबु -ब्यथा बाड्न नमिल्दो रैछ । बाँड्न मिल्ने भए सबैले बाँडी चुडी गर्न हुन्थ्यो ।

" साहु बाले साइँलाको मनको घाउ छुनाके। जम्मा भएका छिमेकी दिदी बहिनीहरू पनि "ब्यथा बाँड्न पाए बाँडचुँड गर्दाहुम्' भन्दै सुँकसुँकाए।" केहीबेर वातावरण स्तब्ध भयो ।

साइँलाले मनमनै सोंच्यो -"हिंजो ५/७ हजार सापटी ,केही खाद्धान्न ,ओडापैरी पैंचो नपत्याउनेहरूबाट व्यथा बाड्ने ब्रह्मज्ञान कतै गोहीको आँशु त हैन " । "१०/१५ दिन पहिले त्यो ज्ञान पलाएको भए ब्यथा बाडिन्थ्यो कि ?"

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।