ताजा अपडेट »

दाङमा एक पुरुषको हत्या आरोपमा महिलासहित ४ जना पक्राउ

बुधबार, १८ पुस २०८०, १७ : ०७
456 Shares

दाङ । दाङमा एक व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर ४५ वर्षीय शिवराज केसीको हत्यामा संलग्न बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर मगर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर मगर, दीपाका भाइ २९ वर्षीय तिलक पुन र मेघराज कुँवर मगरलाई पक्राउ गरेको हो ।

उनीहरुलाई लमही नगरपालिका वडा नम्बर ९ को अमिलिया जंगलमा लुकिछिपी बसेको अवस्थामा गत आइतबार ९पुस १५ गते० पक्राउ गरेको हो । केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जंगलको कोइला खानीमा ६० मिटर गहिरो सुरूङभित्र भेटिएको थियो । छातीमा भरूवा बन्दुकको गोली लागेको अवस्थामा शिवराजको शव फेला परेको जिल्ला प्रहरी प्रवक्तासमेत रहेका डिएसपी जनकबहादुर मल्लले बताए ।

प्रहरीले केसीको हत्यामा प्रयोग भएको बन्दुकसहित पक्राउ गरेको हो । शिवराजको हत्याको कारण अनैतिक सम्बन्धजस्तो देखिएको छ । घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । उनी सम्पर्कबिहीन भएपछि खोजी सुरु गरिएको थियो ।

शिवराजको मोबाइलको अन्तिम लोकेसन बंगलाचुली क्षेत्रमा देखाएपछि प्रहरीले बंगलाचुली क्षेत्रमा खोजीलाई केन्द्रित गरेको थियो । स्थानीयको सहयोगमा शिवराजको शव कोइराला खानीको सुरुङभित्र फेला परेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।