ताजा अपडेट »

रुपन्देहीका उद्योगमा पुनः लाइन जडान नगरे शुक्रबारदेखि आन्दोलन गर्ने चेतावनी

बुधबार, १८ पुस २०८०, १४ : ४८
221 Shares
बुधबार, १८ पुस २०८०
221 Shares

भैरहवा । रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगहरुले विद्युत काटिएका उद्योगहरुमा निशर्तः लाइन पुनः जडान नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले थप उद्योगको लाइन नकाट्न माग गर्दै शुक्रबारसम्म लाईन काटिएका उद्योगको विद्युत जडान नगरिएमा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।


बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीहरुले बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरुले ट्रंकलाइनको छुट विलिङ भन्दै प्रयोग नै नगरको विद्युतको महशुल तिर्न लगाउनु लगत भएको उल्लेख गरेका छन् । उद्योगी व्यवसायीहरुले न्यायका लागि अदालत जाने समेत चेतावनी दिएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले एक्कासी लाईन काटिँदा उद्योगीसँगै मजदूर बिचल्लीमा परेको बताए । उनले शुक्रबारसम्म लाइन नजोडिए उद्योग बन्द गरेर तालाचाबी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए।

विद्युत प्राधिकरणले उद्योगहरुमाथि दबाब सिर्जना गर्न विद्युत लाइन काट्न सुरु गरेको र भैरहवा वितरण केन्द्रले दुईवटा उद्योगको लाइन काटेकोप्रति बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगीहरु त्रसित भएको ज्ञापनपत्रमा उल्लेख छ ।

उद्योगी र प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधिन रहेकै अवस्थामा लाईन काटिएको र अदालतको फैसला नआउँदासम्म उद्योगको विद्युत तत्कालै सुचारु गरी उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताए । उद्योगी विनय गोयनकाले नेपाल विद्युत प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको गुनासो गरे ।

ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले उद्योगीको माग माथिल्लो निकायमा पठाउने र माथिल्लो निकायबाट आएको निर्देशन उद्योगसमक्ष पुर्याउने बताए । उनले किस्तामा विद्युत महशुल तिर्न उद्योगी तयार भए निवेदन लिने भन्ने कुरा निर्देशन आएको बताए ।

त्यस्तै नेपाल विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले सत्यतथ्य बुझेर प्राधिकरणका केन्द्रीय कार्यालयमा पठाउने बताए ।

bipyapti

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।