ताजा अपडेट »

लुम्बिनीमा पर्यटक बढ्दै : साढे ३ लाख विदेशी आउँदा साढे दुई लाख बढी भारतीय

मंगलबार, १७ पुस २०८०, १३ : ४०
125 Shares

बुटवल । लुम्बिनीमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । विश्वव्यापी कोरोना महामारीले पर्यटन क्षेत्र शिथिल बनेपछि सुनसान बनेको लुम्बिनी पुनः पुरानै लयमा फर्किने दिशातर्फ गएको छ । लुम्बिनी बिकास कोषले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२३ मा ३ लाख ४२ हजार ७२० विदेशी पर्यटकले लुम्बिनीको दर्शन गरेका छन् । लुम्बिनी आउने मध्ये भारतबाट मात्रै २ लाख ६६ हजार ५१० जना रहेका छन् भने तेस्रो मुलुकदेखि आउने पर्यटकको सङ्ख्या ७६ हजार २१० रहेको छ ।

लुम्बिनी दर्शन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि उल्लेख्य रहेको छ । सन् २०२३ मा ६ लाख ५६ हजार २१८ जना आन्तरिक पर्यटकले लुम्बिनीको दर्शन गरेका छन् । समग्रमा यो वर्ष आन्तरिक र विदेशीसहित ९ लाख ९८ हजार ९३८ जनाले लुम्बिनी दर्शन गरेका छन् । यो सङ्ख्या गर्त वर्ष अर्थात सन् २०२२ मा ९ लाख ३ हजार ८८३ रहेको थियो । यसरी गतवर्षभन्दा पर्यटकको सङ्ख्या ९ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।

लुम्बिनी दर्शन गर्न आउने तेस्रो मुलुकका नागरिक मध्ये श्रीलङ्काका सबैभन्दा बढी १६ हजार १७२ जना रहेका छन् । दोस्रोमा लाइल्याण्डबाट १५ हजार ७२१ जना रहेका छन् । छिमेकी मुलुक चीनबाट यो वर्ष ६ हजार ११३ जना लुम्बिनी दर्शनका लागि आएका छन् । तेस्रो मुलुकबाट लुम्बिनी आउनेको सङ्ख्या गतवर्षभन्दा उल्लेख्य बढेको हो । गत वर्ष सन् २०२२ मा तेस्रो मुलुकबाट लुम्बिनी आउनेको सङ्ख्या २३ हजार ९४२ रहेको थियो । विश्वव्यापी कोरानाअघि सन् २०१९ मा १ लाख ७४ हजार १५ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी दर्शन गरेको तथ्याङ्क छ ।

भारतबाट लुम्बिनी दर्शन गर्न आउनेको दर भने पुरानै लयमा फर्किएको देखिन्छ । कोरोना महामारीअघि सन् २०१९ मा भारतबाट २ लाख ६ हजार १७१ नागरिक लुम्बिनी घुम्न आएका थिए । यो तथ्याङ्क सन् २०२३ को भन्दा ६० हजार ३३९ अर्थात २२ दशमलव ६ प्रतिशते कम हो । यसैगरी सन् २०२२ मा २ लाख ३० हजार ८६३ भारतीय नागरिकले लुम्बिनी दर्शन गरेका थिए ।

लुम्बिनी दर्शन गर्न आउने पर्यटक मध्ये स्थलमार्ग अर्थात भारतीय नाकाहुँदै आउनेको सङ्ख्या उल्लेख्य रहेको कोषले जनाएको छ । लुम्बिनीमा तेस्रो मुलुकबाट दर्शन गर्न आउने पर्यटकहरु समेत भारतीय सीमा नाका बेलहीया हुँदै आउने गरेका छन् । लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपनि यहाँ आएर उनीहरुले बिताउने समयावधि कम हुँदा यहाँका पर्यटन व्यवसायीले अपेक्षित लाभ लिन नसकेको गुनासो गर्दै आएका छन् ।

पर्यटकको आगमनसँगै उनीहरुको बसाई मसेत लम्ब्याएर लुम्बिनी बारे धेरैभन्दा धेरै जानकारी दिन सके आर्थिक रुपमा समेत यसले फाइदा गर्ने लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई बताउँछन् । पर्यटकको नेपाल बसाई लम्ब्याउनका लागि यहाँका होटल तथा पर्यटन व्यवसायीहरुले प्रयाप्त तयारी र पहल गर्न नसकेको उनी बताउँछन् । पर्यटकहरुका लागि विभिन्न प्याकेज तथा योजनाहरु अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताउँदै भट्टराईले लुम्बिनीका लागि नजिकको बजारको रुपमा भारतीलय नागरिकहरुलाई समेत यहाँ ल्याउने र भुलाउने माध्यम निर्माण गर्न नसकिएको उल्लेख गरे ।

बिकास कोषले तेस्रो मुलुकबाट स्थलमार्ग अर्थात भारतीय नाकाहुँदै आउने पर्यटकलाई सिधै नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याउनका लागि योजना अनुसार काम गरिहेको कोषाध्यक्ष भट्टराईले बताए । बिकास कोषले ग्रेटर लुम्बिनीको अवधारणा अनुसार लुम्बिनीसँग जोडिएका तिलौराकोट, रामग्राम लगायतका क्षैत्रहरुको बिकासमा योजनावद्ध अघि बढेको उनले दाबी गरे । यी क्षेत्रहरुको बिकास हुन सकेमा पर्यटकका लागि घुम्ने ठाउँ पनि बढी हुने तथा लुम्बिनीका प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् । नेपालमा पर्यटक भित्र्याउनका लागि धार्मिक मात्र नभई अन्य पूर्वाधार र सुविधाहरु समेत बिकास गर्न आश्यक रहेको भट्टराई बताउँछन् ।

सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने सरकारको गतल नीतिकै कारण पर्यटन क्षेत्रमा बिकास गर्न नसकिएको गुनासो गर्छन् । लुम्बिनीमा पर्यटकको सङ्ख्यामा वृद्धि भएपनि गलत नीतिका कारण निजी क्षेत्रले त्यसबाट फाइदा लिन नपाएको उनले बताए । पर्यटनका लागि नेपालको मुख्य बजार नै भारत भएको उल्लेख गर्दै श्रेष्ठले उनीहरु नेपाल आउँदा अध्यागमन विभागमा हुने झन्झट, २५ हजार भारतीय रुपैयाँभन्दा बढी बोक्न नपाउने नियम, विभिन्न सुरक्षा निकायहरुबाट ठाउँ–ठाउँमा गरिने व्यवहार परिवर्तन गर्न आवश्यक रहेको बताए । व्यवसायीहरुले करोडौं रकम खर्चेर पर्यटनको क्षेत्रमा लगानी गरेको भएपनि त्यस अनुसार सकारले संरचना निमार्ण तथा निर्माण भएका संरचनाहरुको सञ्चालनमा चासो नदिनुका साथै पर्यटन मैत्री नीति निर्माण गर्न नसकेको उल्लेख गरे ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।