ताजा अपडेट »

लोप हुँदै थारु समुदायका गीत

मंगलबार, १७ पुस २०८०, १२ : ५६
143 Shares

सैनामैना । जब बैठौनी भयावन लागे जब भन्सहरीया गीतिया नउठावे,
सुनके मुनीदेव सब मुस्काइहि अपन संस्कृतिके लेहु बचाई,
धिरे धिरे थारुवे बिलपत्त हो जैहे जेहदिन झुमडा लोप हो जायी,
हे हाँ सब मिली आजुवे पारान कैडारा,
आरे गाँव गाँव मनारा हो फिरसे छवावे ।

यो गीत गुनगुनाउँदै थिइन् सैनामैना २ निवासी नथुई थारु । ६४ वर्षीय नथुई थारुलाई पुराना गीतहरु गाउन खुब मन पर्छ । उनलाई अहिले बजारमा आएका गीतले पुरानो रीतिरिवाज र संस्कृतिमा गाइने गित लोप हुने चिन्ताले सताउन थालेको छ । ती गीतले आफ्नो कला संस्कृतिको संरक्षण गर्न नसके थारु समुदायको अस्तित्व नै हराउछ, त्यसैले गीतको संरक्षण गर्नुपर्छ भन्छिन नथुई ।
सानैदेखि गीत गाउँन रहर लाग्ने उनलाई परिवारमा आमा हजुरआमाले विवाह, मेलापात, चाडपार्व वा गाउँघरमा आयोजना हुने नाँच, रामलिला, सिताविवाह जस्ता नाटकमञ्चमा गीत गाउदा सँगसँगै टुक्का टिप्ने र गाउँदै जाँदा गीत गाउन सिकिन् । गाउँमाविवाह, भोज, भजन, चाडपार्व वा अन्य शुभकार्यमा गीत गाउन पुग्थिन् नथुई थारु । तर अहिले आफ्नो मौलिक थारु गीत गाउने प्रचलन हराउदै जान थालेको छ । मंसिर लगनको महिना, गाउँघरमा हुने विवाहघरमा उनलाई गित गाउन बोलाइन्थ्यो । विवाह बन्धनमा बाधिने दुलहा दुलाहीको जोडी शुभ होस भन्दै गीतको माध्यमबाट शुभकामना र आर्शिवाद दिइन्थ्यो । तर थारु भन्छिन्, ‘पछिल्लो समय विवाह सम्बन्धि शुभ गीत कम मात्रमा गाइन्छ, किनकी न त गीत गाउने मान्छे छन् न आफूसँगसँगै गाउने साथी समुह नै ।’

थारु समुदायमा विवाहको तयारी एक महिना अगावैबाटै सुरु हुन्छ । गाउँका महिला सामूहिक रुपमा दर्जनौ भन्दा धेरै गीत गाउने गरेको उनी सुनाउँछिन् । जस्तैः लगनको साइत गर्ने गीत, हल्दी लगाउँदा, (माडा)े जग्गे बनाउँदा, माटो छुने गीत, दुल्ला दुलाहीलाई सिंगारिदा, जन्ती पठाउँदा, जन्तीलाई स्वागत गर्दा, जग्गेमा विवाह हुदा, विदाई गर्दा लगायतका हरेक प्रकृति र अवस्था अनुसार भिन्न-भिन्नै लय र भाकामा फरक-फरक गीत गाइन्छन् । तर पछिल्लो समयका युवापुस्तामा थारु मौलिक गीत गाउने कला नै नरहेको उनी बताउँछिन् । अहिले परिवर्तित समयमा आधुनिक गीत संगीत बजाएर नच्ने परिपाटी बनेको छ, जुन हाम्रो समुदायको कला संस्कृति हराउने संकेत देखिन थालेको उनी बतााउछिन । उनले भनिन् ‘थारु मौलिक गीतको महत्व के छ ? सन्देश के दिन्छ भन्नेतर्फ नयाँ पुस्ताको चाँसो र चिन्ता नभएको देख्दा दुख लाग्छ ।’

नथनुईको जस्तै चिन्ता छ सैनामैना ४ रन्यौरा निवासी बुधनी थारुको पनि । पहिले लगनको महिनाभरि गाउँघरमा हुने विवाहमा सरिक हुन साँझ खाना खाएर महिलाहरु गोलबद्ध भएर गीत गाउन पुग्थे । उनले भनिन्— “अहिले विवाह घरमा डिजे (डेग) बजेको सुन्ने र नाच्ने गरेको देखिन्छ, यसले मलाई चिन्ता लाग्छ ।” संस्कृतिको महत्वबारे बोल्दै उनले विवाहमा थारु जातिहरुमा विशेष किसिमको गीत गाइन्छ, जसले विशेष सन्देश दिन्छ विवाहमा कुनै बाधा, अड्चन, देविदेवता, कुलदेवता (पितृ) लाई सम्झदै भुलचुक क्षमायाचनागर्दै गीतकै माध्यमबाट विवाहको निम्ता दिने प्रचलन रहेको बताइन् । साथै माइतीको सम्मान र छोरीप्रति आमाबुबाको माया गीतबाटै दर्शाइने र विवाह अवधिभर हरेक चरणमा फरक—फरक लय र भाकामा गाइने हुनाले फरक—फरक नामले चिनिन्छ वा गाइन्छ ।

लेखक बम बहादुर थारुले जन्मदेखि मृत्युपश्चत थारु जातिको आफ्नै मौलिक संस्कार र संस्कृति रहेको बताए । त्यस्तै थारु गीतहरु पनि थुप्रै छन, पृथ्वीको उत्पत्तिदेखि,मानव जीवनशैली, समय, महिना,ऋतु, मौसम, चाडपर्व, विवाह, उत्सवसँगै हरेक प्रहरमा फरक—फरक गीत हुने गर्छ । उनले भने विहान प्रहरमा गाउने गीत, रातिमा गाउने गीत, दिउँसोमा गाउने गीत, मेलापर्व, चाडपर्व,वनजगंल जादाँ, रोपाई गर्दा, गाईगोरु चराउन जादाँ,खाना बनाउदा, हरेक काम गर्दा अथवा विवाहमा मनोरञ्जन कै लागि होस् पहिलेका पुस्ताले मौखिक रुपमै भिन्न भिन्न भाका र लयमा मौलिक परम्परागत गीत गाउँथे । यस्तै महाभारत र रामायणमा आधारित पौराणीक कथाका गीत पुजापाठमा गाइने आफ्नै मौलिकताका थारु गीतहरु पनि छन् ।

पहिलेका पुराना पुस्ताको कुनै लिखित वा रेर्कडेड गीत संगित नभएपनि आफ्नै कला र गलाले निकै प्रतिभावान् रहेकोले थारु लोकगीत, बाजा ताल विकास हुदै आएको उनले उल्लेख गरे । वर्तमान् युवापुस्ताले बाह्य क्षेत्रको लोकगीत, जस्तै हिन्दी, नेपाली, भोजपुरी भाकाका गीतहरुमा बढी गाउन वा नाच्न रुचाउनले पनि मौलिक गीत साहित्य प्रभावित हुन पुगेकोमा उनले चिन्ता व्यक्त गरे ।

पहिले पहिले थारु गाउँमा कसैको घरमा विवाह हुने खबर पाएपछि विवाह घरमा गाउँका महिलाहरु साँझ जम्मा भएर विवाह गीत गाउँदै रमाउथे । विवाह गीतमा दुल्हा दुल्हीबीच माया प्रेमको भावना, वैवाहिक जीवनको कामना, छोरीलाई विदाई गर्दा आमाबुबाका बेदना तथा विवाह शुभसम्पन्न होस्, भन्दै गीतको माध्यमबाट शुभकामना व्यक्त गरिन्थ्यो भन,े माया प्रितिका गीत गाउने चलन पनि रहेको थारुले बताउँछन् । तर पछिल्लो समय विवाहमा गाउने गीत विस्तारै लोप हुदैँ गएको थारुले दुखेसो पोखे ।

थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद रामबली चौधरीले परम्परागत थारु लोक गीत लोप हुनुको मुख्य करण नयाँ पुस्ताले यस संस्कृतिबारे चाँसो नदिनु रहेको बताए । उनले भाषा, कला संस्कृति, भेषभुषा, खानपान संरक्षण गर्ने सरकारी निकायको अभावका कारणले थारु जातिको संस्कृतिमा विकृतिपन आउन थालेको बताए । परम्परागत संस्कृतिको स्मरण गर्दै सभाका पूर्वजिल्ला सभापति समेत रहेका थारु भन्छन्— “पहिले रामझुमडी भन्ने रामलिला रुपन्देही सैनामैनास्थित रन्यौरा गाउँमा वर्षौदेखि आफ्नै भाषा, संस्कृति, परम्परालाई अंगिकार गर्दै रामायणलाई रामलिला नामले सात दिनसम्म नाटक मञ्चन गरिन्थ्यो, जसमा महिला, पुरुष, बालबालिकाले विभिन्न भुमिकामा रहन्थे र नयाँ पुस्ताले सिक्ने जान्ने अवसर पनि पाउँथे ।”

“पहिला थारु गाउँ गाउँमा नाटक मञ्चन हुन्थ्यो तर, द्धन्द्धकालको समयमा सुरक्षा र प्रशासनबाट सहयोग नहुँदा उक्त नाटक बन्द गर्न बाध्य भयौ, जसले गर्दा उक्त संस्कृतिले निरन्तरता पाएन, फलस्वरुप पुराना कला संस्कृति हराउँदै जान थाले”-उनले थपे । सैनामैना नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बुद्धिराम थारुले पालिकाले थारु समुदायको माघी महोत्सव र आदिबासी जनजातिका लागि बजेट छुट्टाउने गरिएको बताए । आर्थिक वर्ष २०८०/०८१ मा आदिबासी जनजाति महोत्सवका लागि रु.२ लाख र थारु माघी कार्यक्रमका लागि रु.५० हजार र ऐतिहासिक भड्छा मेलाका लागि रु.५ लाख पालिकाले बजेट विनियोजन गरेको उल्लेख गरे ।

थारु भाषा संस्कार संस्कृति जोगाउन माघी महोत्सवको कार्यक्रम, गोष्ठी तथा तालिम गरेर उपलब्धि हासिल गर्न नसिकने हुदाँ पालिकाले नगरपालिकाको इतिहास तथा थारु समुदायको चालचलन, पुरानो चिजवस्तुको बारेमा स्थानीय पाठ्पुस्तक थारु भाषामै निर्माण गरि नगरका विद्यालयमा पठनपाठन गराउने वातावरण बनाउन सके नयाँ पिँढीका बालबालिकाले जन्न, बुझ्न र पढ्न सके मात्र थारु जातिको पहिचान जोगाउन सकिने बताए । यता थारु अयोगले लोप हुन लागेको थारु लोक गीत संरक्षण गर्ने उद्देश्यले तराईको पूर्व झापादेखि पश्चिम कञ्चनपूरसम्म सबै क्षेत्रका मातृभाषामा आधारित थारु लोक गीत मोट्री नामक पुस्तक प्रकाशन समेत गरेको छ ।

अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई मौलिक सम्पत्तिलाई हस्तान्तरण गर्न नसक्नु या आजका युवा पिढीले स्वयं आफै चासो वा रुची नदिनुले आफ्नै अस्तित्व खोज्ने समय आउन नसक्नेतर्फ ध्यान जान जरुरी देखिन्छ । ती पुराना गीतहरुलाई समयसंग परिवर्तन गरी मदल बजाउने र थारुलोक गीतको तालिम, प्रशिक्षण, प्रदर्शन, गोष्ठि, लोकगीत प्रतियोगिता, सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण गरी नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने यसका अभियन्ता बताउछन ।

नेपालको राष्ट्रिय जनगणना वि.सं.२०७८ अनुसार नेपालमा १४२ जातजातिमध्ये थारु जाति जनसंख्याको हिसाबले चौथो स्थानमा रहेको तथ्याङ्क छ । हाल नेपालकोे कूल जनसंख्याको १८ लाख ७ हजार १ सय २४ जना थारु जाति छन् । थारु समुदायको हकहितको संरक्षण र सम्बद्र्धन तथा थारु समुदायको सशक्तिकरणका लागि नेपालको संविधान २०७२ को धारा २६३ ले थारु आयोग गठनको व्यवस्था गरेकोे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।