ताजा अपडेट »

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

आइतबार, १५ पुस २०८०, ११ : ४५
20 Shares

तनहुँ । बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । 

उक्त पहरामा विसं २०६० देखि चट्टान आरोहण सुरु भएको हो । पहरामा १६० वटा फलामे नटबोल्ट गाडिएका छन् । त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन । आन्तरिक एवं बाह्य पर्यटक गरी हालसम्म एक लाखभन्दा बढीले चट्टान आरोहण गरिसकेको विमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए ।

यस पहरामा आरोहणका लागि एक सय शुल्क कायम गरिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरु चट्टान आरोहण गर्न यस स्थानमा पुग्ने गर्दछन् । पहरामा अठ्ठाइस वटा रुटको व्यवस्था गरिएको बिमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ । एकै पटकमा २८ जनाले चट्टान आरोहण गर्न सक्छन् । 

“यही पुस २० गतेदेखि नेपाली र जापनीज एक एक टोली चट्टान आरोहणका लागि आउने भएको छ”, उनले भने, “नेपाली सेना, सशस्त्र र कमाण्डो तालिम गर्ने बाहेक अन्यलाई शुल्क लिने गरिएको छ ।” पृथ्वीराजमार्ग विस्तारका क्रममा चुनपहरा भत्काउन लागेपछि पहराको अस्तित्व संकटमा पर्ने देखिएपछि स्थानीयको पहलमा पहरा सुरक्षित गरिएको उनले बताए ।  

राजमार्ग चार लेनको बनाउँदा पनि चुनपहरालाई कुनै असर नपर्ने गरी व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । मस्र्याङ्दी नदी किनारबाट पर्खाल लगाएर सडकको मापदण्ड पूरा गर्न लागिएको उनको भनाइ छ । 

“चट्टान आरोहणका लागि प्रशिक्षणस्थल समेत रहेको यस पहरा भत्काएको खण्डमा अहिले भइरहेका साहसिक पर्यटकीय गतिविधि रोकिने हुनाले स्थानीयको पहलमा संरक्षण गरिएको हो”, अध्यक्ष श्रेष्ठले भने ।  

यस चुनपहरा बचाउँ अभियानका संयोजक समेत रहेका श्रेष्ठले स्थानीयले कुनैपनि हालतमा चुनपहरा बचाउनुपर्ने चाहना राखेर अघि बढेका कारण जोगाउन सफल भएको उनले बताए ।

“चुनपहरा हाम्रो गहना हो । यो पहरा काटियो भने यसले पर्यटनमा ठूलो असर पर्ने देखियो,” उनले भने, “यस पहराले पर्यटनमा दिएको योगदान कम्तिको छैन । पहरा बचाउनको लागि भनेर केन्द्रसम्म धाएर लागेका थियौं ।” 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।