ताजा अपडेट »

तिलोत्तमामा देवेन्द्र घिमिरेको यात्रानुभूति श्रवण कार्यक्रम

शुक्रबार, १३ पुस २०८०, ०९ : ५८
96 Shares

बुटवल । रुपन्देहीको तिलाेत्तमामा यही पौष १७ गते यात्रानुभूति श्रवण कार्यक्रम हुने भएको छ। कार्यक्रमका संयाेजक दलबहादुर गुरुङका अनुसार साे कार्यक्रममा दीपनगरदेखि डेनमार्कसम्म यात्रा गरेका साहित्यकार देवेन्द्र घिमिरे   "कपिलबन्धु" ले आफ्नाे यात्रा अनुभव र अनुभूति सुनाउने छन् । उनले त्यहाँकाे भू-वनाेट, भाषा, जीवनशैली, रहनसहन, राजनैतिक परिवेश, सरकार, शासन व्यवस्था, नागरिक शिक्षा र सुरक्षाका बारेमा प्रष्ट्याउने छन् । साथै उनले नेपाल र डेनमार्कका समानता र फरकपनाका बारेमा समेत बताउने छन् ।

साहित्यकार घिमिरेले उक्त देशकाे पटकपटक भ्रमण गरेपनि यसपटक सबैलाई जानकारी दिने गरि यात्रानुभूति श्रवण कार्यक्रम उनकै कृषि (मणिग्रामदेखि भित्रकाे गाउँ, दीपनगरमा) निवासमा राखिएकाे संयाेजक गुरुङले बताए ।
लामाे समयसम्म नेपालकाे कम्युनिष्ट राजनीतिमा जीवन व्यतित गरेका देवेन्द्र घिमिरे, २०५४ देखि २०५९ सम्म राष्ट्रिय सभाका सदस्य थिए । पछिल्लाे समय उनी राजनीतिबाट निवृत्त छन् । साहित्यमा रुचीमात्र राख्दैनन् बरु उनले पुस्तक समेत प्रकाशन गरेर नेपाली वाङ्मयलाई फराकिलाे बनाउने काम गरेका छन् ।

यात्रा संस्मरण, जेलजीवन, मुक्तक, राजनीतिक लेख तथा कवितामा रुचि राख्ने कपिलवन्धुलाई देवेन्द्र नास्तिकका रुपमा समेत उनका पुराना साथीहरुले चिन्दछन् । स्वस्फूर्त आयाेजना गरिएकाे उक्त कार्यक्रम यस क्षेत्रका लागि नाैलाे र स्मरणीय हुने साहित्यकार घिमिरेले बताए ।

कार्यक्रमकाे आयाेजक र प्रायाेजक काेही नरहेकाे जानकारी दिदै कार्यक्रमकाे  संयाेजनका लागि दलबहादुर गुरुङले पहल गरेकाे उनले बताए । कार्यक्रमका संयाेजक गुरुङले उक्त श्रवण कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक अनुराेध गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।