ताजा अपडेट »

नेकमा जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई पूर्ण छात्रवृ‌त्ति

शुक्रबार, ०६ पुस २०८०, १५ : ०६
63 Shares

भक्तपुर। जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेज (नेक) ले छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई पाँचवटा पूर्णछात्रवृत्ति दिने घोषणा गरेको हो ।

चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्री र कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले संयुक्त रुपमा प्रेस विज्ञप्ति प्रकाशित गरी यसबारे जानकारी गराइएको हो । 

कलेजले स्नातक तह अन्र्तगत आर्किटेक्चर, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियङि, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ र ब्याचलर फर डिप्लोमा होल्डर्सको लागि सिभिल इन्जिनियरिङ कार्यक्रम मध्ये ५ वटा सिटमा छात्रवृत्तिको घोषणा गरेको हो ।

‘भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका नागरिक आक्रान्त बनिरहेको अवस्थामा उनीहरुका छोराछोरीका लागि अध्ययन अध्यापनमा सहयोग पुगोस् भनेर हामीले स्नातक तहमा ५ वटा सिट छुट्याएका हौं,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा शैक्षिक सत्र २०२३ का लागि उक्त छात्रवृत्ति घोषणा गरिएको जनाएको छ ।

कलेजे छात्रवृत्ति प्रवेश परीक्षाको मेरिट सूचीअनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने छ । विद्यार्थीलाई छात्रवृत्ति प्राप्त गर्न कक्षा ११ र १२ को मार्कसिट, कलेजले लिने प्रवेश परीक्षाको प्राप्ताङ्क, नागरिकता प्रमाणपत्र, भूकम्प प्रभावित क्षेत्रमा स्थायी बसोबास भएको तथा सम्बन्धीत स्थानीय निकायको भूकम्प पीडित भनी सिफारिस गरेको पत्र आवश्यक पर्ने जनाएको छ । कलेजले सरकारी वा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई प्राथमिकतामा राख्ने पनि जनाएको छ । 

नेपाल इन्जिनियरिंग कलेज पुल्चोकपछिको विद्यार्थीको आकर्षक इन्जिनियरिंगको पढाई हुने कलेज हो । यो भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटमा पर्दछ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।