ताजा अपडेट »

रविको राजनीतिक प्रतिवेदन - प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ

विहीबार, १४ मंसिर २०८०, १३ : ४६
8 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश संरचनाको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

महोत्तरीको जलेश्वरमा सोमबारदेखि बुधबारसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका सभापति रवि लामिछानेले प्रदेशको संरचनाको विकल्प खोजीहाल्नु पर्ने उल्लेख गरेका हुन् ।

प्रदेश भ्रष्टाचार र कार्यकर्ता भर्ती केन्द्र बनेको प्रतिवेदनमा उल्लेख छ ।

व्यवस्थाभित्रै अवस्था परिवर्तन

विगत आठ दशकमा हामीले निरंकुश राणा शासन, सक्रिय राजतन्त्रसहितको निर्दलीय पञ्चायत, संवैधानिक राजतन्त्रात्मक बहुदलीय प्रजातन्त्र र पछिल्लो १५ वर्षयता संघीय लोकतान्त्रिक शासन व्यवस्था अँगालेका छौं। तर, जतिपटक व्यवस्था परिवर्तन भए पनि हामीले नागरिकको जीवनस्तरमा पर्याप्त सुधार गर्न सकेनौं। विकास र समृद्धिमा आशातीत फड्को मार्न सकेनौं। अर्थात, व्यवस्था परिवर्तनले देश र नागरिकको अवस्था खासै परिवर्तन गर्न सकेन।

राजनीतिलाई सही नीति र नेतृत्वले डोर्‍याएको भए बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछिको तीन दशक र संघीय लोकतान्त्रिक गणतन्त्रपछिको डेढ दशकमा परिवर्तनलाई संस्थागत गरेर मुलुकले नागरिकका आकांक्षा सम्बोधनमा थोरै भए पनि सफलता पाउँथ्यो होला। तर, राजनीतिक अगुवाको मूल ध्येय सत्ता, दल र नेताकेन्द्रित हुँदा मुलुक क्रमशः अनिश्चयतर्फ र नागरिक निराशातर्फ धकेलिए। यही पृष्ठभूमिमा हामीले डेढ वर्षअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थियौँ।

अहिलेका धेरैजसो मुख्य दल तत्कालीन व्यवस्था बदल्ने उद्देश्यका साथ बनेका थिए। त्यो बेलाको आवश्यकता थियो। हामीले यही व्यवस्थाभित्रै रहेर जनताको अभिमत जितेर सबै खाले परिवर्तन गर्न सम्भव छ भन्ने निष्कर्षका साथ पार्टी गठन गरेका थियौं। हाम्रो त्यो निष्कर्ष अहिले पनि कायमै छ।

किनकि, यही व्यवस्थाभित्रै रहेर हामी मुलुक र नागरिकको अवस्था परिवर्तन गर्न सक्छौं। अहिले व्यवस्था परिवर्तनको बहसभन्दा सुशासन र विकासको बहसमा केन्द्रित हुन जरुरी छ। गरिब, दुःखी, पीडित नागरिकको कहालीलाग्दो जीवनबारे बहस नगरेर अन्य परिवर्तनतिर बहस धकेलिने हो भने आमजनतालाई परिवर्तनको प्रत्याभूति दिने संकल्प अनिश्चिततातर्फ धकेलिन्छ।

हामी विगतमा सबै व्यवस्था देखेर आएका छौं। यो वा ऊ भन्नुभन्दा यो बैठकस्थलबाट १ किलोमिटरभित्रका कुनै पनि बस्तीमा गएर हेरौं र जनतालाई सोधौं, उनीहरूलाई के चाहिन्छ? अनि आफैँलाई सोधौं, हामीलाई चाहिँ के चाहिन्छ?

त्यहाँ पानी छैन, यहाँ सिद्धान्तको खोलो बगाउने राजनीति अब पुग्यो। अब अझै लडाइँ, झगडा, मारकाट हुँदा पहिलो असर त्यही गरिब बस्तीलाई पर्छ। त्यो गरिब बस्तीमा ३४ वर्षसम्म पानी दिन नसक्नेले अब आगो झोस्ने? तपाईंलाई र मलाई मन्त्री, प्रधानमन्त्री बनाउन उसको घर जल्नुपर्ने?

यो देशका आम जनतालाई दुःख छ। दुःखको मूल कारण गरिबी, अशिक्षा, विभेद, भ्रष्टाचार हो। सबैभन्दा पहिले यो फेर्ने हो। दोस्रोमा कर्मचारीतन्त्र, नीति, अर्थनीति, उद्योग नीति, जलवायु परिवर्तनसम्बन्धी नीति आदि होलान्।

यो फेर्दा नपुगे तेस्रो-चौथो सूची तयार गरौं र यो क्रमलाई निरन्तर जारी राखौं।

एकपटक सम्पूर्ण बल लगाएर यो देशलाई विकसित राष्ट्र बनाऔं। त्यति गर्दा पुगेन भने जे फाल्नुपर्छ फालौं, जे ल्याउनुपर्छ ल्याऔं। सामाजिक न्यायलाई केन्द्रमा राखी, सुशासनको भीष्म प्रतिज्ञासहित विकासका मोडलहरू ल्याएर रोजगारी सिर्जना गरी आर्थिक उन्नतिको वेग मार्नुको विकल्प अहिलेलाई केही पनि हुन सक्दैन। जति भोक लागे पनि थाल खान सकिँदैन, गाँस नै खाने हो।

नोट: अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजादैन। त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बनेको छ। यसको विकल्प सोच्न एक छिन पनि ढिला गर्नुहुन्न।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।