ताजा अपडेट »

विष्णुका बयान

मंगलबार, १२ मंसिर २०८०, १२ : ३१
18 Shares

१६ वर्षको किशोरी अवस्थामा विहे गरेकी विष्णु जीसीले एसएलसी उत्तीर्ण गरेको १६ वर्षपछि अर्थात् २०६७ सालमा बिए उत्तीर्ण गरिन् । पाल्पा,रम्भा गाउँपालिका वडा नं. ५ मलेङ (कार्कीडाँडा) माइतीघर भएकी विष्णुको कर्मघर यतिबेला माथागढी गाउँपालिका वडा नं. ४ को देउगिर, मैदानमा पर्छ । उनको टोलमा ४०/५० घरहरु छन् । क्षेत्रीहरु करिव ५÷६ घर छन् भने अरु सबै मगरजातिको बसोबास छ । पहिला उनको गाउँमा धेरै घरहरु थिए । यतिबेला केही घरका दैलामा भोटेताल्चा ठोकिएका छन् ।

विष्णु जीसीले पूर्वीपाल्पाको देवीनगरमा रहेको समाज उत्थान सहयोग केन्द्र नामक सामाजिक संस्थामा रहेर सामाजिक अभियन्ताका रुपमा आफूलाई परिचित गराउँदै हिडेको पनि दुई दशक बित्न थाल्यो । सुरुआतको समयमा उनले पश्चिम पाल्पाको साविक बल्ढेङ्गढी, सत्यवती, जुठापौवा, कचल, दोभान गाविसतिर महिला सशक्तिकरण, बालबालिकाका हक, अधिकार र संरक्षणका अभियानमा आफूलाई खरोरुपमा उतारेकी थिइन् । द्वन्द्वकालीन समय र शान्ति सम्झौतापछि पनि उनीहरु सरकार र द्वन्द्वरत पक्षहरुबाट चपेटामा परिरहन्थे । तत्कालीन समयमा उनले विद्यालय शैक्षिक सुधारका लागि बालबालिकाहरुलाई स्कूलसम्म ल्याइपुराउन, छात्रवृत्ति दिन र विद्यालयमा विद्यार्थी टिकाउन गरेका पहलहरु कम्ति महत्वपूर्ण थिएनन् ।

विष्णु जीसी खरो स्वभाविक थिइन् र आजपनि उस्तै छिन् । चित्त नबुझेको कुरा मनमा नराख्ने र प्याट्टै भन्न सक्ने उनको खुबी उदाहरणीय लाग्छ । आलोचना खेप्न र समाजमा आफूलाई घुलाउन सक्ने क्षमता भएकै कारण उनीसँग काम गरेका सबैले आजसम्म पनि उत्तिकै सम्मान र सम्झना गर्छन् । विष्णु दिदी भनेपछि बालबालिकाहरु हुरुक्कै हुन्थे । दुर्गम भेगसम्म पैदल हिडेर बालबालिका र महिलाहरुका दुःख,सुख बुझ्न पुग्ने उनी,नेपाली समाजलाई नजिकबाट बुझ्न सक्ने असल अध्येता समेत हुन् । समाजशास्त्र उनको विषय भएकै कारणले होला, उनी समाजसँग चिनीपानीजस्तै घुलिन्छिन् । फरासिली, सहयोगी र चिन्तन गर्ने बानीकी धनी विष्णुलाई एकपटक देखेको र भेटेको मान्छेले सायदै भुल्छन् होला ।

उनका श्रीमान रामबहादुर जीसी हुन् । उनीहरुका दुई छोरामध्ये जेठो, रवीन इन्जिनियर छन् । तिनाउ गाउँपालिकामा कार्यरत् छन् । कान्छो छोरो प्रबीनले सरकारी छात्रवृत्ति प्राप्त गरी हेटौंडामा विएमएलटी पढ्दैछन् । सुखी सन्तानका अभिभावक उनीहरु लालजोडी बनेर आफ्नै घरमा व्यापार, व्यवसाय गरेर बस्दै आएका पनि छन् । विष्णु भने विहान,साँझ श्रीमानलाई पसलमा सघाउँछिन् । दिनभरि उनी समाजसेवा,समाज उत्थान सहयोेग केन्द्रमा दौडिन्छिन् ।

२०६३ फागुन ३ गते तीनगिरेमा परेको हिउँका कारण झण्डै ज्यान नगएको विष्णुले हाँस्दै सुनाइन् । उक्त संस्थामा लागिरहँदाका तीतामीठा अनुभवहरु विष्णुसँग अमीट छाप बनेर मनमा गढेका छन् । झरिवादल नभनेर, घामपानी सहेर, जाडोगर्मीलाई छल्दै जीवनका उर्वर समय गाउँठाउँका निमुखा, विपन्न, सर्वहारा र अन्कन्टार गाउँलेहरुका बीचमा बिताउँदा बैस गएको विष्णुलाई हेक्का नै भएन । दुई छोराहरुलाई हुर्काइन् । पालनपोषण गरिन् । शिक्षादीक्षा दिइन । ती विगतका दिनहरुमा आफ्ना बच्चाहरुलाई भन्दापनि विकट बस्तीका नानीबाबु र महिलाहरुलाई समर्पण गरेका अतीतलाई सम्झिँदा उनका आँखा रसाउँछन् । मन भक्कानिन्छ । आफूहरुसँगै रहेर काम गर्ने माया राना,तिलबहादुर ढेङ्गा दाइ लगायतलाई सम्झिँदा आजपनि आनन्द लाग्ने बताउँछिन् ।

विष्णुका बाबा भारतीय आर्मीका थिए । त्यहि भएर पनि होला विष्णुमा कडापन ताजै छन् । माइतीकी जेठी छोरी विष्णु, घरतिर कान्छी बुहारी बनेर २०५१ सालको फागुन १२ गते भित्रिएकी थिइन् । उनका श्रीमान किसान माविमा शिक्षक थिए धेरै पहिले । पछि व्यापारी बने । विष्णु जाँगरिली छिन् । भैंसीलाई घाँस काट्न र कुँडोफाँडो गर्न भ्याउँछिन् । भातभान्सा गर्छिन् । कुखुरा पालेकी छिन् । यतिबेला बारीभरि साग र काउली फलाएकी छिन् । खुर्सानी बेचेर छिमेकीहरुले मनग्य पैसा कमाउँदा रहेछन् । डकर्मी र सिकर्मीका काम गरेर छिमेकीहरु धानिएको कुरा सुनाउँदैथिइन् । देउगिर मैदानकी विष्णुको घरबाट उत्तरतिरका हिमालहरु दन्तेलहरमा हाँसेका देखिन्छन् भने दक्षिणतिर झडेवाफाँट, लमतन्न सुतेको देखिन्छ ।

कर्मशील विष्णु, यतिबेला गाउँकै रत्न मावि, व्यवस्थापन समितिकी सदस्य छिन् । अन्य धेरै संघसंस्थामा रहेर सामाजिक सेवामा तल्लीन विष्णुको योग्यता, क्षमता र दक्षता माथागढी गाउँपालिकाले उपभोग गर्न सकेमा गाउँको विकासले थप गति लिन सक्ने थियो कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।