ताजा अपडेट »

आईसीसी टि २० : विश्वकपमा पुग्न 'गर या मर'को स्थितीमा युएईसँग खेल्दै नेपाल

शुक्रबार, १७ कार्तिक २०८०, ०८ : ४०
44 Shares
शुक्रबार, १७ कार्तिक २०८०
44 Shares

बुटवल । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान-११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ । त्यस कारण पनि नेपाल आज ‘गर या मरको स्थितीमा रहेको छ ।

नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।

नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ । नेपालको कुशल मल्ल र युएईका मोहम्मद वासिम प्रमुख विष्फोटक ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शनले टोलीको योगफल वा नतिजा निर्भर हुनसक्छ । दुबै चलेको खण्डमा टोलीको जित भने सहज बनाउन सक्ने खुबी राख्छन् ।

युएईका आयन खान र नेपालका सन्दीप लामिछाने दुबै प्रमुख स्पिनर हुन् । नेपाललाई आयन घातक बन्दै आएका छन् । उनको बलमा केहि सचेत हुनुपर्छ । युएईका तीव्र गतिका बलर जहुर खान र जुनैद सिद्दिक प्रमुख तीव्र गतिका बलर हुन् । जुनैदले नयाँ बल र जहुरले डेथ ओभरमा राम्रो गर्दै आएका छन् ।

नेपालका सोमपाल कामी र करण केसी प्रमुख तीव्र गतिका बलर हुन् । दुबैले नयाँ बलका साथ राम्रो गर्दै आएका छन् । डेथ ओभरमा प्रदर्शन त्यति राम्रो छैन । डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

नेपालका कुशल भुर्तेल, विवेक यादव र रोहित पौडेलले आफ्नो उत्कृष्ट प्रदर्शनमा टोलीलाई जिताउन सक्ने खुबी राख्छन् । युएईका आसिफ खान, वृत्य अरविन्द र बासिल हामिद पनि घातक बन्नसक्छन् । युएईका बासिल र अली नासिरले लगातार राम्रो गर्दै आएका छन् ।

नेपालले टोलीमा परिवर्तन गर्ने झिनो सम्भावना छ । यदि दीपेन्द्र सिंह ऐरीलाई जोखिम लिएर खेलाएमा सन्दीप जोरा बाहिर हुनुपर्छ । अन्य परिवर्तन देखिदैन । उता वृत्य अरविन्द घाइते छन् । उनी खेल्न नसके अर्यांश शर्मा खेल्नेछन् ।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो । हङकङलाई २२ रनले हराएको थियो ।

आजको अर्को सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।

ओमान समूह ए को विजेता र बहराइन समूह बी को उपविजेता बन्दै सेमिफाइलन खेल्न लागेका हुन् । फाइनल भने आइतबार बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।