ताजा अपडेट »

तिलोत्तमामा फोहर उठाउने ठेकेदारको मोलमोलाई : ५ सय लाग्ने शुल्कमा ४ हजार अशुली

विहीबार, १६ कार्तिक २०८०, १६ : १५
42 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा फोहर व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीले सेवग्राहीसँग शुल्क असुली गर्दा मोटो रकममा मोलमोलाई गरेको पाइएको छ । नगरको वडा नम्बर १ देखि ६ सम्म फोहर उठाउने कम्पनी वातावरणीय सुन्दर नेपाल प्रा.लि.ले सेवाग्राहीबाट नगरपालिकाको दररेट विपरित मोटो रकम असुली गरेको पाइएको हो ।

तिलोत्तमा–५ मणिग्राम स्थित फोर स्क्वायर इन्टरनेश्नल प्रा.लिसँग फोर मैला व्यवस्थापनबापत एक महिनाकै शुल्क ४ हजार असुली गरेको पाइएको छ । फोर स्क्वायरका सञ्चालक राजु खरेलका अनुसार फोर व्यवस्थापन गर्ने कम्पनीका प्रतिनिधिले सुरुमा १० हजार रुपैया तिर्नुपर्ने भनेर बार्गेनिङ गरेका थिए । कम्पनीका सञ्चालक बलभद्र पुरीले आफूले मागेजती शुल्क नदिए आफ्नो फोहर आफै व्यवस्थापन गर्न चुनौति समेत दिएका थिए । ‘अन्तिममा बोर्गेनिङ गर्दै जाँदा कार्तिक महिनाको शुल्क भनेर ४ हजार रकम बुझाउन बाध्य पारियो ।’–सेवाग्राही खरेलले भने, ‘जबकी नगरपालिकाको दर रेट अनुसार सवारी साधन मर्मत ग्यारेजका लागि प्रतिमहिना ५ सय रुपैया शुल्क रहेको छ ।’

बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टीमा व्यवसाय सञ्चालन गर्दै आएका खरेलले यही कार्तिक १ गतेदेखि तिलोत्तमा नगरमा पसल सारेर सञ्चालनमा ल्याएका थिए । नगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन ईकाईका ईन्जिनीयर युवराज पन्थीले यसरी नियम र सम्झौता विपरित सेवाग्राहीबाट शुल्क असुल्नु गलत भएको प्रतिक्रिया दिए । पन्थीले त्यस्ता गुनासाहरु भएमा सेवाग्राहीले नगरपालिकाको हेलो तिलोत्तमामा फोन गरेर वा अन्य माध्यमबाट जानकारी गराउन आग्रह गर्दै आवश्यक कुरा बुझेर कारबाही प्रक्रिया अघि बढ्ने बताए ।

यस विषमा सम्बन्धित वडाका जनप्रतिनिधिलाई समेत जानकारी गराएको बताउँदै उनले ठेकेदारले यसरी व्यवसायीबाट नियमविपरित मोलमोलाई गरेर शुल्क उठाउनु गलत भएको गुनासो गरे । यस विषयमा जिज्ञासा राख्दा सुन्दर नेपालका सञ्चालक पुरीले आफूहरुबाट कमजोरी भएको स्वीकार गर्दै रकम फिर्ता गर्ने प्रतिक्रिया दिए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।