ताजा अपडेट »

गुल्मीका रामबहादुरको बुटवलमा शंकास्पद मृत्यू : प्रहरीले अनुसन्धानमा चासो नदिएको गुनासो

मंगलबार, १४ कार्तिक २०८०, १२ : ४४
70 Shares

बुटवल । आठ महिनाअघि शंकास्पद रुपले मृत अवस्थामा फेला परेका गुल्मीका रामबहादुर रानाको हत्यारा पत्ता लगाउन प्रहरीले नसकेको भन्दै परिवारले गुनासो गरेका छन् । गत फागुन २४ गते राती बुटवल ६ चाँदबारीस्थित खोलामा रामबहादुरको शंकास्पद रुपमा हत्या भएको र घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको पीडित परिवारले गुनासो गरेका हुन् ।

होटेल तथा रेष्टुरेन्ट ब्यबसायी रामबहादुरको बुटवल ६ पुरानो बुटवल चलचित्र हलको पछडिबाट दिपनगर डेरातर्फ जानेक्रममा हत्या भएको र आफ्नो श्रीमानको शंकास्पद रुपमा मृत फेला परेको भएपनि प्रहरीले घटनालाई गम्भीर रुपमा नलिएको भन्दै श्रीमती अम्बी रानाले चिन्ता ब्यक्त गरेकी छन । मृतक रामबहादुरकी श्रीमती रानाले पत्रकारहरुसँग कुरा गर्दै घटना घटेको आठ महिना बितिसक्दा पनि प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बताएकी छन् ।

पीडित परिवारका अनुसार गुल्मीको मुसिकोट घरभई बिगत ६ वर्षदेखि होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४५ वर्षीय रामबहादुर राना गत फागुन २४ गते बुटवलको चाँदबारीमा मृत अवस्थामा फेला परेका थिए । रातको पौने १० बजेसम्म परिवारको सम्पर्कमा रहेका राना राती घर नगएपछि अर्को दिन बिहानै खोजतलास गर्दा परिवारले मृत अवस्थामा फेला पारेका थिए । मृतकको टाउकाको पछाडिको भागमा गम्भीर चोट लागेको र सिसि टिभि फुटेजमा एक ब्यक्तिले कठालोमा समातेर लगेको देखिएकोले दुर्घटना नभएर हत्या भएको परिवारको दाबी छ ।

एक छोरा र पाँच छोरीका बाबु रामबहादुरको शंकास्पद निधनले परिवारमा ठूलो बिपत्ती परेको छ । मृतक रानाकी श्रीमतीले आफ्नो श्रीमानको हत्या भएको र प्रहरीमा पटक पटक किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी दर्ता समेत नगरेको भन्दै उनले आपत्ती जनाएकी छन् । उनि भन्छिन्—सिसिटीभी फुटेजमा एउटा मान्छेले कठालो समातेर तानेर लाँदै गरेको दृष्य प्रष्ट छ । लडेर वा डुबेर मर्ने खालको खोला पनि छैन, घटनाको प्रकृति हेर्दा हत्या गरि फालेको जस्तो देखिन्छ । घटनास्थल नजिकै करिब १ सय मिटर तल प्रहरी बिट छ ।

‘अनुसन्धानका लागि केही आधार र प्रमाणहरु हुँदाहुँदै पनि घटनाको रहस्य पत्ता नलाग्नु र प्रहरीले तदारुकता नदेखाउनुमा के रहस्य छ हामीले बुझ्न सकेका छैनौ ।’-मृतकका श्रीमतीले भनिन्, ‘अव त हामीले न्याय पाउँदैनौ कि जस्तो लाग्न थालेको छ ।’

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डिएसपि दानबहादुर थापाले भने घटनाको अनुसन्धान भैरहेको प्रतिक्रिया दिए । डिएसपि थापाका अनुसार प्रहरीले आफ्नो तर्फबाट गर्ने अनुसन्धानको काम गरिरहेको र निष्कर्षमा नपुगेसम्म सबै कुरा थाहा नहुने उनले बताए । अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराख्ने दावी गर्दै शंकाश्पद मान्छेहरुलाई सोधपुछ गरिसकेको पनि बताएका छन् ।

होटेल तथा रेष्टुरेन्ट ब्यबसायी खगेन्द्र पौडेलले ब्यबसायी माथि अन्याय, अपराध र आक्रमण हुँदा राज्यपक्ष गम्भिर नहुनु दुखःद कुरा भएको बताए । यथासिघ्र अनुसन्धानलाई तिब्र पार्न प्रहरीलाई आग्रह गर्दै पीडित परिवारलाई राहतको ब्यबस्था गर्न पनि सरकारसँग उनले आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।