ताजा अपडेट »

दशैं लगत्तै सुरुभयो सिद्धबाबामा सुरुङ निर्माणको काम

आइतबार, १२ कार्तिक २०८०, ०८ : ४५
32 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा जोड्ने सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ निर्माणको काम दशैं सकिएपछि पुनः सुरु भएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको यो सुरुङमार्ग निर्माण क्रममा असारको पहिलो साता दुई वटा टनेल पहिरोले पुरिएपछि भौतिक निर्माणको काम स्थगित गरिएको थियो ।

सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माण र हेडबक्सनिरको माथिल्लो टनेल निर्माणको कामलाई तीव्रता दिएको बेलामा पहिरोले भत्काएको थियो । सुरुङमार्ग निर्माण परियोजनाको सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार बर्खाको समयमा भौतिक रूपमा देखिनेभन्दा पूर्व तयारीका अन्य काम गरिरहेको ठेकेदार कम्पनीले दशैंपछि भने भौतिक काम निर्माणको काम सुरु गरेको हो ।

गत वर्ष ग्लोबल टेन्डरबाट चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यो सुरूङमार्ग निर्माणको जिम्मा पाएर ५ वर्षभित्र बनाउने सम्झौता गरेको छ । सुरुङ निर्माणका लागि चिनियाँ कम्पनीसँग २०२२ चैत ९ गते ७ अर्ब ३४ करोडको सम्झौता भएपछि पहिलो चरणको काम सुरु गर्न अहिलेसम्म ५८ करोड निकासा भइसकेको छ । उसले तोकिएको समय ९ महिनाभित्रै डिजाइन बुझाएको थियो । त्यही निर्माण कम्पनीलाई डिजाइनसँगै निर्माणको जिम्मा दिइएको थियो ।

आयोजनाका अनुसार १ हजार १२६ मिटर लामो सुरूङ पाल्पाको दोभानबाट शुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ । वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरूङमार्गको निर्माण अघि बढाएको हो । स्विस सरकारको विकास सहयोगमार्फत सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो ।

हेर्नुहोस तस्विरमा : सुरुङ मार्गको प्रवेश विन्दु (बुटवलतर्फ) र अन्तिम विन्दु (पाल्पातर्फ) को डिजाइन ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।