ताजा अपडेट »

एकै परिवारका आमा र ८ महिने बालकसहित ३ छोराछोरीको हत्या

शुक्रबार, १० कार्तिक २०८०, २० : ३२
10 Shares

मुगु । मुगुको छायानाथ रारा नगरपालिका- ६ स्थित मन्दु गाउँमा एकै ३ बादबालिकासहित आमाको हत्या भएको छ । २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर मृत भेटिएका हुन् । 

धारिलो हतियार प्रहार गरी रातिको समयमा चार जनाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । घटनाको खबर पाउनासाथ शुक्रबार बिहान ११ बजे घटनास्थलमा प्रहरी पुगेको उनले बताए ।चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ ।

श्रीदेवीका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । हत्या कसले के उद्देश्यले गर्‍यो भन्ने खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रनाउ थापाले बताए । प्रारम्भिक अनुसन्धान अनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएको हुनसक्ने अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाेडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।