ताजा अपडेट »

भैरहवाको मेडिकल कलेजमा ड्रेस कोडको विषयबाट उत्पन्न विवाद अझै सुल्झिएन, विद्यार्थी रिले अनसनमै

शुक्रबार, १० कार्तिक २०८०, १५ : ४५
42 Shares

बुटवल । विद्यार्थीले लगाउने ड्रेस कोडको विषयले विवाद उत्पन्न भएको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा विरोध प्रदर्शा जारी रहेको छ । अस्पताल प्रशासन र विद्यार्थी बीच कुरा नमिल्दा पठनपाठन तथा उपचार सेवा समेत प्रभावित भएको छ ।

यसै बीच विभिन्न माग राख्दै विद्यार्थीहरुले विगत १२ दिनदेखि रिले अनसनमा बस्दै आएका छन् । कलेजका प्रिन्सिपल प्राडा लक्ष्मी पाठकको राजीनामा माग गर्दै रिले अनसनमा बस्दै आएका हुन् । दसैँको अवसरमा समेत विद्यार्थीहरूले कलेज परिसरमै रिले अनसनमा बसेका हुन् । उनीहरूले समस्या समाधान गर्नुको साटो कलेज प्रशासनले उल्टै विभिन्न खालको धम्की दिँदै आएको बताएका छन् ।आन्दोलन र रिले अनसनमा सरिक हरेक विद्यार्थीहरूलाई धम्की दिँदै आएको विद्यार्थीहरूको भनाई छ । प्रिन्सिपल पाठककै कारण यत्रो दिन कलेज तथा शिक्षण अस्पताल ठप्प रहेको उनीहरूको भनाई छ ।

मेडिकल कलेज प्रशासनले ड्रेस कोड अनिवार्य गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए । कलेज प्रशासनले एमबिबिएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्न गर्ने विद्यार्थीहरूका लागि गोजीबीनाको पहेँलो सर्ट र कालो पाइन्ट ड्रेस कोड तोकेको थियो । 

विद्यार्थीहरूले उक्त ड्रेसकोड अव्यवहारिक रहेको भन्दै संशोधन गर्न माग गर्दै आएका थिए । तर, कलेज प्रशासनले उक्त निर्णयबाट पछि हट्न नसकिने बताएपछि विद्यार्थीहरूले दुई सातादेखि कलेज परिसरभित्रै आन्दोलन गर्दै आएका छन् । तर, कलेज प्रशासनले विद्यार्थीहरूको आन्दोलनप्रति बेवास्ता गर्दै आएपछि विद्यार्थीहरूले अहिले प्रिन्सिपलको राजीनामा एकसुत्रीय माग अघि सार्दै आएका हुन् । 

ड्रेस कोडसँगसँगै आफूहरूमाथि भइरहेको श्रम शोषण तथा विद्यार्थीहरूलाई परीक्षा दिन रोक लगाएको विरुद्धमा समेत आन्दोलन गरिरहेको विद्यार्थीहरूले बताए । 

मेडिकल कलेजले इन्टर्नसीप गर्ने डाक्टरहरूलाई १० हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ । उक्त पारिश्रमिक समेत बढाउनुपर्ने आफूहरूको माग गरेको विद्यार्थीहरूले बताए । 

रिले अनसनमा मेडिकल कलेजमा पढ्ने सबै एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले साथ दिइरहेका छन् । त्यस्तै आंशिक चिकित्सकहरूले समेत साथ दिइरहेको विद्यार्थीहरूको दाबी छ । 

प्रिन्सिपल डा. पाठकको राजीनामा नआउँदासम्म रिले अनशन जारी रहने एक विद्यार्थीले बताए । ड्रेस नलगाएको निहुँमा एमबीबीएस अन्तिम वर्षको कक्षा नै रद्द गरिदिएको ती विद्यार्थीले बताए । विद्यार्थीहरू दुई सातादेखि आन्दोलित बनिरहँदा कलेज प्रशासन, तथा व्यवस्थापन पक्ष वार्ता तथा माग सम्बोधनका लागि सकारात्मक देखिएको छैन ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।