ताजा अपडेट »

‘दशैँमा नयाँ नोट होइन सफा नोट खोजौँ’

शुक्रबार, ०३ कार्तिक २०८०, १७ : ३५
76 Shares

बुटवल । रु. ५ देखि १०० सम्मका सानादरका चलन चल्ती योग्य सफा नोटहरु ढुकुटीमा प्रशस्त मात्रामा रहेका छन् । अहिले सानादरका नोटहरु ढुकुटीमा अबौँको संख्यामा छन् । ती नोटहरु चलन चल्ती योग्य भएकाले पनि नस्ट गर्न मिल्दैन् । चलन चल्ती नगर्दा आफ्नै व्यवस्थापकीय क्षमतामा पनि प्रश्न चिन्ह उठ्छ ।

वास्तवमा चलन चल्तीका लागि योग्य नोटहरु चलन चल्तीको गराउन नसक्दा आफनै असक्षमता प्रदर्शन हुन्छ भन्ने मैले बुझेँ । त्यसकारण त्यस्ता नोटहरुलाई व्यवस्थापन गर्नु आवश्यक छ भन्ने ठाने । ती नोटहरुलाई बढि चलनचल्तीको गराउने भनेको नै दशैँमा हो । अतः दशैँमा सफा नोटहरुको चलन चल्तीको गराउनु उपयुक्त हुन्छ । दशैँमा दक्षिणाका रुपमा नयानोट बढी प्रयोग हुने भएकाले नयाँ नोट नै पठाउनुको सट्टा नागरिकलाई सचेत गराएर सफा नोटलाई पठाउन सकियो भने राम्रो हुन्छ भनेर नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयले विशेष अभियान नै संचालन गरेको हो ।

दशैँका लागि भनेर मात्रै अबौँ खर्च गरी विदेशमा नयाँ नोटहरु छापिन्छन, यसरी अनावश्यक रुपमा खर्च गर्नु हुँदैन भनेर बुझाउनका लागि पनि सो अभियान हामीले गरेका थियौँ । सामान्यतयाः एउटा नयाँ नोट छाँपदा सदर ३.५० रुपैँया खर्च हुन्छ । चलन चल्ती योग्य भएको नोटलाई बर्षौसम्म नचलाई थन्काएर राखी अबौँ रकम खर्च गरेर विदेशमा नया नोट छाप्नु राज्यको हितमा हुँदैन् । हामीले दुःख कष्ट सही विदेशमा रगत पसिना बगाएर आएको रेमिटान्सले पालेको हाम्रो अर्थतन्त्र छ । यसकारण यसलाई व्यवस्थापन गर्नका लागि पनि आम नागरिकमा लैजान जरुरी छ ।

तर, यो भन्दै गर्दा नेपाल राष्ट्र बैङ्क भैरहवा कार्यालयले नयाँ नोट नै वितरण नगरेको भन्ने चाहि होइन् । हामीले नया नोट नै लैजान्छु भन्नेलाई नियमानुसार उपलब्ध गराएका हौं । हामीले जनताको भावना के छ ? नयाँ नोटको माग लिएर सटही गर्न अउने जो जो व्यक्तिहरुलाई कनभिन्स गर्न सक्यौं उहाँहरुले स्वस्फुर्त रुपमा नयाँ नोट छाडेर सफा नोट लग्नु भयो । हामीले असोजको २९ गतेदेखि कात्तिक ३ गतेसम्म कार्यालय समयसम्म लाइनमा रहनु भएका प्रत्येक व्यक्तिलाई ५ देखि १०० सम्मका दरले एक सेट नयाँ नोट सबैलाई उपलब्ध गराएका छौैँ । लाइनमा बस्ने मान्छेहरुको संख्या बढी भएपछि काउन्टरको संख्या पनि बढाएका हौं ।

सुरुमा नयाँ नोट सटहीको लागि भनेर ३ वटा काउन्टरको व्यवस्था गरिएको थियो । पछि लाइनको चाप बढ्दै गएपछि बढाएर आज ७ वटा काउन्टरबाट सेवा प्रवाह गर्यौ । जसलाई नयाँ नोट नै चाहिन्छ, लाइनमा बस्न तयार हुनु हुन्छ उहाँहरुलाई रित्तो हात फर्काएका छैनौँ । तर, सफा नोट भए पनि हुन्छ, यहि भए पनि हामीहरुलाई चलिहाल्छ नि भनेर कनभिन्स गर्दा कनभिन्स हुनेहरुलाई सफा नोटको व्यवस्था गरेका हौँ । यस पटक धेरै जना कनभिन्स हुनु पनि भयो र अहिले धेरै संख्यामा सफा नोटहरु सहज रुपमा नागरिकको हातमा व्यवस्थापन भयो ।

उल्लेखनीय संख्यामा दशैका लागि भनेर धेरैले अहिले सफा नोट लग्नु भएको छ यसबाट हामी धेरै सन्तुष्ट पनि भएका छौँ । लामो समयदेखि व्यवस्थापनको चुनौतिको रुपमा स्टकमा रहेको सफा नोट, चलन चल्तीको लागि योग्य रहेका ति नोटहरुलाई थोरै भएपनि व्यवस्थापन गर्न सफल भयौ । अझै हामीसंग २०, ५० र १०० दरका धेरै मात्रामा सफा नोटहरु स्टकमा रहेका छन् । यो पटक सानादरका नोटहरुलाई उल्लेखनीय मात्रामा घटाउन सफल भएका छौँ । बैङकसँग सफा नोटहरु हुँदा हुँदै पनि गत वर्ष ५ देखि १००० दरसम्मका ४० देखि ५० करोड पिस नयाँ नोट छापिएको थियो ।

एउटा पिस छपाई गर्दा सददर ३ रुपैयाँ विदेशी मुद्रा खर्च हुन्छ । यसमा ढुवानी र विमा लगायतका खर्च जोड्दा एक पिस नोट छपाई गर्दा करिब ३.५ रुपैयाँ पर्न जान्छ । यो हिसाबले गत वर्ष मात्रै दशैँमा करिब १ अर्ब भन्दा बढी रकम नयाँ नोटको छपाईमा मात्रै खर्च भयो । हामीले स्टकमा रहेका सफा नोटहरु चलाएको भए त्यो रकम खर्च हुदैनथियो ।

अहिले दशैँमा बच्चा बच्चामा नयाँ नोट चाहिन्छ भन्ने मनोवैज्ञानिक सोच बनेको छ । यो विकासमैत्री र दिगो सोच होइन् । यो सोचलाई परिर्वतन गर्नको लागि पनि आम नागरीकहरुमाझ वित्तिय चेतना लैजानु आवस्यक छ । यो अभियान तपाईहरु जस्तै मिडीयाकर्मीहरु संग मिलेरै जनस्तरमा सचेत गराउनु पर्छ । यो भयो भने नेपाल राष्ट्र बैङ्कलाई पनि धेरै सहज हुन्छ । नयाँ नोट होइन सफा नोट भए हुन्छ भन्ने चेतना आम जनमानसलाई बुझाउन सकियो भने नोट छपाई गर्दा लाग्ने अबौँ खर्च जोखिन्छ र राज्यलाई आर्थिक भार कम हुन्छ ।

त्यसैले यो दशैमा नया नोट लगेको भएतापनि सकिन्छ भने पुराना सफा नोट नै प्रयोग गरी राज्यलाई अनावश्यक व्ययभार बाट जोगाउन तपाई हामी सबैले आ–आफ्नो ठाउ बाट पनि प्रयास गरौ ।– (नेपाल राष्ट्र बैक सिद्धार्थनगरका प्रमुख सत्येंद्रराज सुवेदीसँग गरेको कुराकानीमा आधारित)

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।