ताजा अपडेट »

मुसीकाेटमा घाँटी रेटेर एक महिलाकाे विभत्स हत्या : तालिम प्राप्त कुकुरबाट अनुन्धान गर्दै

बुधबार, ०१ कार्तिक २०८०, ०९ : ५३
24 Shares

सुर्खेत । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा महिला मृत अवस्थामा भेटिएकी छन् । ती महिलाकाे महिलाको विभत्स तरिकाले हत्या गरिएको बताईएको छ । 

मुसीकोट नगरपालिका-१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी मुसीकोट नगरपालिका-७ साँख घर भइ मुसीकोट नगरपालिका १ छिङस्थित माईती घरमा बस्दै आएकी २८ वर्षिया भावना बिकको घाँटी रेटेर हत्या गरिएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार घटनास्थल प्रकृति हेर्दा महिलाको हत्या विभत्स तरिकाले गरिएको छ । डिएसपी भट्टराईले घाँटी रेटिएको र आँखा छोपिएको अवस्थामा शव रहेको बताए ।

प्रहरीले घटनास्थलबाट धारिलो चक्कु समेत बरामद गरेको छ ।  महिलाको घाँटिको भाग आधा भन्दा बढी छिनाईएको छ । 

प्रहरीले महिला हत्याको घटनाको अनुसन्धानको लागि कुकुरसहितको अनुसन्धान टोली मगाएको थियो । मंगलबार बेलुका घटनास्थल पुगेको कुकरसहितको बिशेष प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । घटनाको सफल अनुसन्धानको नजिक पुगिसकेको प्रहरीले जनाएको हाे । 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ । पक्राउ परेकाको विवरण भने सार्वजनिक गरिएको छैन । 

घटनाको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक बिष्णुप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।