ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक ईकाई : विपन्न परिवारको सहारा बन्दै

मंगलबार, ३० असोज २०८०, १७ : ५०
52 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गर्दै आएको ‘सामाजिक स्वास्थ्य ईकाइ’ गरिव तथा विपन्न परिवारको सहारा बनेको छ । आर्थिक रुपले विपन्न, वृद्ध–वृद्धा तथा सामाजिक रुपमा पिछडिएका तथा लक्षित वर्गलाई लक्षित गरी स्थापना गरिएको सामाजिक ईकाईमा दिनप्रतिदिन सेवाग्राहीको चाप बढ्दै गएको छ । आंशिक तथा पूर्ण निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नेभएपछि सेवाग्राहीको आकर्षण र विश्वास बढ्दै गएको हो । सामाजिक ईकाई मार्फत अस्पतालले पछिल्लो एक वर्षको अवधिमा मात्रै ३ करोड रकम बराबरको स्वास्थ्य उपचार तथा सेवा उपलब्ध गराउन सफल भएको छ ।

आर्थिक अभावले कसैले पनि ज्यान गुमाउन नपरोस तथा जोखिममा नपरुन भन्ने उद्देश्यका साथ सबै जनलाईलाई स्वास्थ्यको समान पँहूचमा ल्याउनेगरी सञ्चालन गरिएको सामाकाजिक ईकाईप्रति सेवाग्राही विगतभन्दा थप सचेत र आकर्षित बन्दै गएको तथ्याङ्कहरुले देखाउँछ । अस्पतालमा सामाजिक स्वास्थ्य ईकाई मार्फत एक वर्षको अवधिमा मात्रै ३ करोड १७ लाख ३६९ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको सामाजिक ईकाइ प्रमुख नेत्रप्रसाद आचार्यले जानकारी दिए । पछिल्लो आर्थिक वर्ष २०७९÷८० मा ७ हजार ६९७ जनाले सेवा लिएका छन् । त्यसअघिको वर्ष यो सङ्ख्या ६ हजार ९८० रहेको थियो । गत आर्थिक वर्षमा १८७६ जना गरिव, ५ हजार ३९९ जेष्ठ नागरिक, १२६ अपाङ्गता भएका व्यक्ति, १८९ जना ब्यसहारा, ६५ जना कुपोषित बालबालिका, ७ जना महिला स्वास्थ्य स्वयम्सेवी, ३४ जना थुनुवा तथा एक लैङ्गिक हिंसा पीडितले सेवा लिएको उनले जानकारी दिए ।

अस्पताल विकास समितिले आफ्नै खर्चमा विपन्न, गरिव तथा लक्षित वर्गहरुलाई सामाजिक ईकाइबाट सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष अजयमान श्रेष्ठ बताउँछन् । नेपाल सकारले सो कार्यक्रमका लागि गत वर्ष १ करोड मात्रै विनियोजन गरेको थियो भने यो वर्ष ९० लाख मात्रै विनियोजन गरेको छ । यस कार्यक्रम अन्तरगत सेवाग्राहीको सङ्ख्या बढ्दै जाने तर सरकारले उपलब्ध गराउने अनुदान रकम घट्दै जाँदा अस्पताल विकास समितिको सीमित श्रोत र साधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको उनले गुनासो गरे । अस्पतालमा यो कार्यक्रम अन्तरगत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारकार शल्यक्रियता तथा औषधी खर्च उपलब्ध गराउने गरेको श्रेष्ठ बताउँछन् । स्थानीय सरकारले समेत सामाजिक ईकाईलाई थप प्रभावकारी र पहुँचमा ल्याउन निश्चित रकम छुट्याएर आफ्ना जनताहरुको उपचारमा खर्च गर्न सके राम्रो हुने बताउँदै अध्यक्ष श्रेष्ठले त्यसका लागि लुम्बिनी प्रादेशिक अस्पताल सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

गत आर्थिक वर्ष ३ हजार ५५९ महिला तथा ४१३८ पुरुषलाई स्वास्थ्य सेवा उपलब्ध गराएको सामाजिक ईकाइले जाँच पडताल तथा शल्यक्रियाका लागि १ करोड ३८ लाख ४९ हजार ७२३ रुपैयाँ खर्च गरेको छ भने औषधी खर्च बापत १ करोड २६ लाख १०१ रुपैयाँ खर्च गरेको तथ्याङ्क छ । यस बाहेक दमजन्य बिरामीका लागि लुम्बिनी प्रदेश सकारले उपलब्ध गराउँदै आएको ५० हजार अनुदान कार्यक्रमबाट ३ लाख ७ हजार ७०८ रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराएको छ । उक्त कार्यक्रममा समेत अस्पताल विकास समितिले खर्च व्यवस्थापन गर्नुपरेको छ । यसैगरी सिकलशेल यनिमियाका बिरामीहरुका लागि १ लाख ५७ हजार ३६९ रुपैयाँ बराबरको औषधी उपचार खर्च उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । हाल अस्पतालमा ६८ जना सिकलसेलका बिरामीहरुले नियमित चेकजाँच तथा उपचार सेवा लिइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

अस्पतालले विपन्नहरुको उपचार मात्र होइन व्यसहाराहरुको व्यवस्थापनका लागि समेत काम गर्दै आएको छ । बुटवलको मानव सेवा आश्रमसँग सहकार्य गरी बेवारिसे अवस्थामा रहेका नागरिकलाई औषधि उपचारपछि आश्रममा बासको लागि व्यवस्था मिलाउने गरिएको छ । अस्पतालले पछिल्लो आर्थिक वर्षमा मात्रै २२ जना व्यसहारा नागरिकहरुलाई उपचारपछि आश्रमको जिम्मा लगाएको थियो । उपचार सेवालाई सहज बनाउनका लागि गरिव तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक ईकाका प्रमुख आचार्यले बताए । विपन्न परिवारका विरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरुलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यले बताए । अस्पतालले आर्थिक वर्ष २०७९÷८० मा मात्रै उपचारमा आउने विपन्न परिवारका विरामी कुरुवालाई खाना तथा खाजा बापत १ लाख ७५ हजार ३५० रुपैयाँ खर्च गरेको थियो ।

अस्पतालमा ६० देखि ८० वर्षसम्मका जेष्ठ नागरिकर्लाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० वर्ष माथिका जेष्ठ नागरिकलाइ पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । ईकाई मार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समुहको परिचय पत्र, नागरिकता लगाएतको आवश्यक कागजपत्रहरु पेश गर्नुपर्ने नियम रहेको छ ।

अस्पतालले लक्षित समुहलाई तीन प्रकारको सेवा प्रवाह गर्दै आएको छ । जसमा ओपिडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक वा इर्मजेन्सि सेवातर्फ ५ हजार सम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अपे्रशन तथा भर्ना भएका बिरामीहरुलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरेको छ । सेवा ईकाईले २४ घन्टा नै सेवा दिदै आएको छ । सरकारले लक्षित समुहलाई छिटो छरितो र निशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटबल सहित देशभरका ८८ वटा अस्पतालमा ईकाई संचालन गरेको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।