ताजा अपडेट »

नवलपरासीमा पिकअप र चालकसहित साढे ९ लाख बराबरको पटका नियन्त्रणमा

बुधबार, २४ असोज २०८०, ०७ : ३७
34 Shares

परासी । पश्चिम नवलपरासीको रामग्रामबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरेको छ । सशस्त्र प्रहरीको परासी स्थीत कमान्ड पोष्टको टोलीले रामग्राम १२ कुनुवारबाट प्रदेश–३, ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो ।

भारतबाट महेसपुर भन्सार नाका हुँदै भित्र्याईको पटका विक्रिका लागि लाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी नायव उपरिक्षक यज्ञमान साउदले जानकारी दिए। कमान्ड पोष्टका सशस्त्र प्रहरी निरीक्षक केशव भट्टराईको कमान्डमा रहेको टोलीले तिव्र गतिमा रहेको पिकअपलाई शंका लागि चेकजाँच गर्ने क्रममा पटका फेला परेको डिएसपि साउदले बताए ।

बरामद पटका प्रहरीले मँगलबार नष्ट गरेको छ भने पिकअप जिपलाई महेसपुर भन्सार कार्यालयमा बुझाईएको छ । सवारी चालक पाल्हीनन्दन ३ का सुनिल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएपनि उनि पछि भाग्न सफल भएका छन् । गुप्ताकै सुराकिको आधारमा महेसपुर बजार क्षेत्रको सम्भावित स्थानमा थप पटका रहेको आशंकामा छापा मार्न गएको प्रहरी टोली र स्थानीय बिच तनावको अवस्था सृजना भएपछि गुप्ता भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

महेसपुरमा अवैध रुपमा पट्का भित्र्याएको सुचनाको आधारमा प्रहरीले छापा मार्ने कोसिस गरेपनि स्थानीय प्रहरी माथिनै जाईलागेपछि प्रहरी पछाडि हटेको थियो । पछि सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले थप खानतलासि गरेपनि कुनै समान फेला नपरेको बताईएको छ । चाडपर्व नजिकिएसँगै भारतबाट पटका लुकाईछिपाई भित्र्याउने र विभिन्न शहरमा विक्रिका लागि लाने गरिएकाले प्रहरीले चेकजाँच बढाएको छ । सशस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरेर सीमावर्ती क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल