ताजा अपडेट »

स्वास्थ्यकर्मीको पीडा : 'मनोबल' बजारमा किन्न पाईएन !

शनिबार, १३ असोज २०८०, १२ : ००
26 Shares

गुल्मी । निकै मिहिन ढङ्गबाट छलफल चलिरहेको थियो । सहभागी सबैले देशभर स्वास्थ्यकर्मीहरुमाथि भइरह्रेको आक्रमणप्रति चिन्ता प्रकट गरिरहेका थिए । केही दिन अघि एक बालिकाको मृत्यु प्रकरणमा गुल्मी अस्पतालका डाक्टरमाथि जिम्मेवार ब्यक्तिहरुबाटै हातपात भएकोप्रति चिन्ता मात्रै व्यक्त गरिएन, त्यस अस्पतालका डाक्टरहरुसँग सबै राजनिती दलहरु र जनप्रतिनिधिहरुले समेत माफी माग्दै त्यसबाट डाक्टर सहितका स्वास्थ्यकर्मीहरुको मनोबल गिरेकोले अब कुनै किसिमको असुरक्षा हुन नदिने प्रतिबद्धता जनाउँदै मनोबल उच्च राख्न आग्राह गरिरहेका थिए ।

अस्पतालको तर्फबाट बोल्ने क्रममा गुल्मी अस्पतालमा निमित्त मेडिकल सपेरिटेन्डेन (मेसु) डाक्टर सोफिया थापाले बोल्ने पालो आयो । उनको भनाईले देशभरका स्वास्थ्यकर्मीहरुको पीडा बेदनालाई प्रतिनिधित्व गरिरहेको थियो । ‘हामीलाई हर बिरामीले विश्वास गर्न सकोस कि हामी डाक्टरहरुले पक्कै बचाउँछ्न् भनेर । अनि उहाँहरुले हामीप्रति देखाएको विश्वासले हामीलाई जति सुकै सिरियस बिरामी होस बचाएरै छाडौं भन्ने मनमा अठोट जाग्छ।’–जीवन बचाउन सधै विरामीको सेवामा लाग्दा भोगेका घटनाहरु पस्किँदै उनले आफ्ना पीडा पोखिरहेकी थिइन् ।

अस्पतालको भौतिक संरचनासँगै जनशक्ति अभावको प्रसँग कोट्याउँदै उनले अघि भनिन्– ‘अर्को कुरा जनशक्ति अभाव यति छ कि एक जना डाक्टरको भागमा ९० जनासम्म बिरामी पर्छ्न दैनिक जसो । २४ घण्टे डिउटिमा डाक्टर ईमर्जेन्सीमा मात्र बसिरहन पाउँदैनन् । वार्डम भर्ना भएका बिरामी पनि हेर्नू पर्छ । म त यहाँको स्थानीय हूँ । मेरो जिल्लाको अस्पताल कसरी राम्रो बनाउ ? कसरी जिल्लाबासिलाई सेवा दिउँ भन्ने हुटहुटी छ मलाई । म त भन्छु म असक्षम भए भने म यहाँबाट हिँडेर अर्को सक्षम डाक्टर आई मेरो जिल्लाको अस्पताल अझ राम्रो हुन्छ भने खुशि हुँदै जान्छु ।’ यस्तै यस्तै पीडा डाक्टर सोफियाले ब्यक्त गरिरहँदा सबै भावुक भैरहेका थिए ।

अन्तिममा डाक्टर सोफिया थप भावुक हुँदै भनिन् –‘हजुरहरु सबै जनाले डाक्टरहरुलाई मनोबल उच्च राख्न त भन्नू भयो तर के गर्नु मनोबल बजारमा किन्न पाईदो रैनछ ।’ यो कुरा सुन्दा घत लागेर एकछिन त सबै हाँसे तर क्षणभरमै भावुक भए । त्यति भनेपछि देशभरका स्वास्थ्यकर्मीहरुको पिडा अरु के नै पोख्नु पर्यो र ?

कति पीमा छ्न यो देशका स्वास्थ्यकर्मीहरु भन्ने कुरा डाक्टर सोफियाको भनाईले छर्लङ्ग पार्छ । यसरी स्वास्थ्यकर्मीहरुको गहिरो गरी पीडा सुन्ने, बुझ्ने अवसर मिलाएको थियो रेसुङ्गा नगरपालिकाले डाक्टर सोफियाद्वारा ब्यक्त पीडाले साह्रै मन छोएको जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्री र रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । छलफलमा अन्य गम्भीर विषयहरुमा समेत सहभागी नेताहरुले बोलेका थिए । गुल्मी अस्पतालको सेवा विस्तार तथा समस्या बारे शुक्रबारदेखि सुरु भएको छलफल कार्यक्रम शनिबार समेत जारी छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार