ताजा अपडेट »

लुम्बिनीका फुर्सदिला मन्त्री : यातायातका हाकिम समेत कार्यालय समय कन्सल्टेन्सी उद्घाटनमा

बुधबार, १३ भदौ २०८०, ०६ : ०४
56 Shares

बुटवल । उद्घाटन र शिलान्यासका कार्यक्रम भनेपछि हुरुक्क हुने प्राय नेताहरुको प्रवृत्ति बनेको छ । कतिपय बेला त कार्यक्रमको छनोट गर्न नजान्दा मन्त्री, नेताहरु पनि बेला बेला आलोचित समेत बन्ने गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यहि हप्ता जस्तोसुकै कार्यक्रममा सहभागी हुँदाको परिणाम बहिस्कार गरेर बाहिरिनु पर्यो ।

रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोहमा प्रमुख अतिथी बनेर उपस्थित भएका मुख्यमन्त्री चौधरी कार्यक्रम बहिस्कार गरेर बाहिरिएका थिए । कार्यक्रममा आयोजकले विदेशी राष्ट्रिय गान बजाएको भन्दै चौधरीले बहिस्कार गरेर बाहिरिएको उनका प्रेस सल्लाहकार गोपल भट्टराईले बताए । लुम्बिनी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री सि.के. गुप्ता पनि कार्यक्रम छनोटमा चुक्दा आलोचित बनेका छन् । बुटवलमा सोमबार मिलनचोकमा एउटा कन्सल्टेन्सी उद्घाटन कार्यक्रमको अयोजना गरिएको थियो । जसको प्रमुख अतिथि भएर उपस्थित भएका थिए गुप्ता ।

भैरहवाबाट साइरन बजाउँदै अघिपछि कडा सुरक्षासहित कन्सल्टेन्सीको उद्घाट गर्न उपस्थित भएका मन्त्री गुप्ताले कन्सल्टेन्सीलाई आवश्यक सहयोग गर्नका लागि समेत तयार रहेको प्रतिवद्धता गरे । ‘सामाजिक विकास मन्त्रालयबाट के सहयोग गर्नुपर्ने हुन्छ त्यसको लागि तयार छौं ।’–उक्त कन्सल्टेन्सीलाई बधाई दिँदै उनले भने । विदेशमा गएर राम्रो शिक्षा लिएर देश फर्किनु पर्ने बताउँदै उनले देशका लागि शिक्षित युवाको खाँचो रहेको उल्लेख गरे । नेपालमै रोजगारी र शिक्षाको अवसर सिर्जना गर्नका लागि पहल गर्नुपर्ने सरकारका मन्त्रीले नै यसरी एउटा निजी कन्सल्टेन्सीलाई प्रोत्साहन गर्दै युवाहरुलाई विदेश पठाउन प्रेरित गर्ने प्रवृत्तिले प्रदेश सरकारको जिम्मेवारीमाथि नै प्रश्न उठेको छ ।

यसैगरी सोही क्रममा उनले लुम्बिनी प्रदेश सकारले २ लाख युवाहरुलाई रोजगारी सिर्जना गर्नेगरी काम समेत गरिरहेको दाबी गरे । विहानको साढे ११ बजे सुरु भएको उक्त कार्यक्रममा मन्त्री मात्र थिएनन्, सवारी चालक अनुमती पत्र कार्यालय बुटवलका प्रमुख आलोक कुमार गुप्ता समेत उपस्थित थिए । प्राय सेवाग्राहीहरुको घुइँचो लाग्ने यातायात कार्यालयका हाकिम कार्यालय समयमा एउटा निजी कन्सल्टेन्सीको उद्घाटन गर्न उपस्थित हुनुले उनको जिम्मेवारी के हो भन्ने विषयमा प्रश्न उब्जिएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।