ताजा अपडेट »

बेघरबार केउली परिवार : घरमा साहुको डोजर, न्यायीक समितिले सकेन न्याय दिन

बुधबार, ०६ भदौ २०८०, ०९ : १९
52 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-१९ मनोहरापुरामा पुस्तौंदेखि ‘हरुवा चरुवा’को रुपमा साहुको घर जग्गामा काम गर्दै आएकी केउलीको परिवार बेघरबार बन्दै छ । न्याय खोज्दै बुटवल उपमहानगरको न्यायीक समितिमा पुगेका उनीहरुलाई त्यहाँबाट समेत रित्तो हात फर्किनु परेपछि उनको परिवार अब सडकमा जानु बाहेक विकल्प छैन ।

केउली परिवार अन्यायमा परेको कुरा छिमेकका स्थानीयहरुले समेत जान्दाजान्दै प्रयाप्त प्रमाण नपुगेको भन्दै बुटवल उपमहानगरको न्यायीक समितिले उनीहरुलाई रित्तोहात फिर्ता पठाएको हो । स्थानीय टोल विकास संस्था, वडा अध्यक्ष तथा त्यहाँका अन्य जनप्रतिनिधिहरुले समेत केउलीलाई अन्याय परेको कुरा बताउँछन् । तर, उनलाई न्यायको लडाईमा न त वडा कार्यालयले बलियो गरी साथ दिन सक्यो न त उपमहानगरको न्यायिक समितिले नै । पुस्तौंदेखि हरुवा चरुवाको रुपमा बस्दै आएका केउलीको परिवार साहुले घरमा डोजर चलाएपछि छेउँमै रहेको बन्द घरको चिसो पीढीमा आश्रय लिन बाध्य छ ।

बुटवल–१९ मनोहरा पुरका पुराना जमिनदार थिए अमरदेव मल्ल । उनको पालादेखिनै केउलीको पुस्ता हरुवाचरुवाको रुपमा बस्दै आएको थियो । वडा अध्यक्ष चन्द्रसिंह थापा मगरका अनुसार अमरदेवले आफ्ना छोराहरु नभएका कारण छोरी अगमबेली र ज्वाई भरतसिंहलाई जग्गा सुम्पिए । पुस्तौदेखि कमैया बस्दै आएको केउलीको परिवार पनि अमरदेवको पालापछि पनि उनै भरतसिंहको घरमा काम गर्ने जग्गा जमिनको रेखदेख गर्ने गरी बस्दै आएको थियो ।

केउलीका श्रीमान तथा उनका बाजे बराजुदेखिनै कमैयाका रुपमा बस्दै आएका उनीहरुलाई भरतसिंहले बास बस्नका लागि जग्गा दिने बाचा गरेका थिए । सोही बाचा अनुसार मोहियानी हक लाग्नेभन्दै भरतसिंहले नै हाल बस्दै आएको घर घडेरीमा नापजाँच गरेर राख्ने काम समेत भएको बताउँछिन वडा सदस्य तथा स्थानीय लक्ष्मी थारु । सोही बाचा अनुसार भरतसिंहको घरमा हरुवा चरुवाको रुपमा काम गर्दागर्दै केउलीका श्रीमान पुर्णवासी थारुको मृत्यु भएको थियो ।

स्थानीय जनप्रतिनिधि लक्ष्मी थारुका अनुसार जमिनदार भरतसिंहको मृत्युपछि उनका छोरी ज्वाईले जग्गाको विषयलाई लिएर विवाद गर्न थाले । उनीहरुले जग्गा आफ्नो नाममा भएको भन्दै केउलीको परिवारलाई उठिबास लगाउनेगरी उनीहरु बस्दै आएको घरमै डोजर चलाए ।

केउलीसँगै सुधन थारुको परिवार पनि बेघर हुने अवस्थामा छ । बुटवलका स्व. भरत सिंहको जग्गामा ०३८ सालदेखि जोतभोग गर्दै आएका दुई परिवार अहिले सडकमा आइपुगेका छन् । ससुरा रामचरण र केउलीका श्रीमान पूर्णवासी थारुले समेत सोही जग्गामा जोतभोग गर्दै आएका थिए । “मेरा ससुराको पालादेखि हामी यहीँ बस्दै आएका छौँ, हाम्रो नाममा एक टुक्रा जमिन छैन, कहाँ जाउँ”, ४६ वर्षीया केउली गुनासो गर्छिन् ।

कुनै समय सो क्षेत्रमा जमिनदार मात्र होइन सामाजिक व्यक्तिको रुपमा नाम कमाएका अमरदीपको सन्तानबाटै यतिसम्मको अन्यायपूर्ण व्यवभार हुनु दुःखको कुरा भएको बताउँछन् एक स्थानीय । उनै अमरदेवको योगदानलाई कदर गर्दै गाउँमा उनैको नाममा अमरदेव विद्यालय समेत छ । तर, अमरेवकी नातिनी (आगमदेवीकी छोरी) अंगिला सिंह लगायतले पछिल्लो समय देखाएको गतिविधिले अमरदेवकै ईतिहासमा दाग लाग्ने काम भएको स्थानीय बताउँछन् ।

थारू परिवारले ४१ वर्ष अघिदेखि अधिया र मोहियानीको सर्तमा जग्गा कमाउँदै आए । उनीहरुले करिब १० विघा भन्दा बढी जमिन मोहीबापत जोतेका छन् । मोहीबापतको जमिन जोत्दा जमिनदारकोमा गएर उनीहरुले बिनाज्यालामा काम गरे । केउलीका ससुरा रामचरण र केउलीका श्रीमान पूर्णवासी थारुले समेत सोही जग्गामा जोतभोग गर्दै आएका स्थानीय तिलकबहादुर थारुले बताए ।

‘म जान्ने हुंदा केउलीको ससुराको पालादेखि उनीहरु यहीँ बस्दै आएका छन्, उनीहरुको नाममा एक अन्त कतै एक टुक्रा जमिन छैन’ तिलकबहादुर थारुले भने–‘केउलीको ससुरा जस्तै काम गर्ने सुवास गनी मुसलमानलाई जमिन्दारले १० धुर जग्गा दिएका थिए, उसले घर पनि बनाएर बेचेर गयो, तर यिनीहरु आफ्नो हक अधिकारबारे कुरा राख्न नसक्ने ज्यादै सोझा भएकाले जग्गा नपाएका हुन् ।’

‘कानुन र मानवीयताको हिसाबले पनि यतिका वर्ष जोतभोग काम गरेर बसेको जग्गामा कमसेकम बास बस्ने जग्गा दिनुपर्ने हो तर निमुखा देखेर थारु परिवारमाथि अंगिलाहरुले ज्यादती गरेका छन् ।’–स्थानीय सिता रानाले भनिन्, ‘आफू नजिकका प्रहरीलाई ल्याएर ठाउँ छाड्न दवाव दिएका छन् यस्तो गैरकानुनी कामको छानवीन हुनुपर्छ, केउली र सुधनको परिवारले न्याय पाउनुपर्छ ।’

लामो समय जग्गाको जोतभोग र रेखदेख गर्दै आएका थारु परिवारलाई जमिन्दारका छोरी ज्वाई भरतसिंहले बस्ने बासका लागि जग्गा नामसारी गरेर दिने बचन दिँदै आएका थिए । केउलीका चार जनाको परिवार पनि बस्ने बास नखोसिनेमा ढुक्क थिए । तर, दुईवर्षअघि भरत सिंहको निधन भएपछि परिवारले बोली फेरे । भरतकी श्रीमती अगमदेवीले छोरी अंगीला र ज्वाइँलाई लगाएर आफूहरुको बास भत्काइदिएको उनीहरुको गुनासो छ ।

अहिले मजदुरी गरेर गुजारा गर्दै आएकी केउलीका दुई छोरा र एक छोरी छन् । बस्ने बास भत्किएपछि केउलीलाई उमेर पुगेकी छोरी संगिताको निकै चिन्ता छ । जग्गाधनीले जहाँ भएपनि झुपडी बनाउन मिल्ने जमिन दिनुपर्ने केउली र सुधनको परिवारको माग छ । टोल विकास संस्थाका शिबकुमार थारुले केउली र सुधनको परिवारलाई स्थायी बसोबासको व्यवस्था नमिलाई घर भत्काउनु अन्याय भएको बताउंछन् ।

सुधनका भाइ ४६ वर्षीय मणिराम २७ वर्षदेखि जग्गाधनीकै घरमा काम गर्दै आएका छन् । घरमा भांडा माझ्ने, सफाइ गर्ने लगायतका काम गर्दै आएपनि सुधनको परिवारले पारिश्रमिक लिएको छैन । शिक्षाको अभावमा राम्रोसँग बोल्न नसक्ने भएकाले सोझोपनको फाइदा उठाएर अगमदेवीको परिवारले थारु परिवारलाई जग्गा दिन नखोजेको स्थानीय बताउंछन् ।

वडाले चासो नदिएपछि थारु परिवारले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिका उजुरी दिएकी थिइन् । तर उक्त उजुरीबारे छलफलै नगराइएको केउलीकी छोरी संगिताले गुनासो गरिन् ।

वडाले चासो नदिएपछि थारु परिवारले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिका उजुरी दिन पुगेको थियो । बुटवल उपमहानगरपालिकाका कानुन अधिकृत ध्रुव भट्टराई न्यायिक समितिमा थारु परिवारको परे पनि प्रमाण अभावले केही गर्न नसकिएको उनी बताउँछन् । ‘हाम्रो कार्यक्षेत्रभन्दा बाहिरको पनि पर्यो, आवश्यक पर्ने कागजात केही पनि नभएका कारण हामीले केही गर्न मिलेन ।’–ग्लोबल आवाजसँग भट्टराईले बताए । एक दुई पटक दुबै पक्षलाई बोलार मेलमिलाप गराउने प्रयास गरे पनि त्यो सफल नभएको उनले उल्लेख गरे ।

थारु परिवारलाई जबरजस्ती हटाउन भूमिका खेलेकी अंगिलाले यस विषयमा प्रश्न गर्दा थारुपरिवारप्रथि आफूहरुको कुनैपनि जिम्मेवारी नभएको आसयसहित जवाफ दिइन् । ‘उनीहरु हाम्रोमा काम गर्न बसेका हुन्, अहिले काम गर्न छाडे । अब उनीहरुले त्यो ठाउँ छाड्नुपर्छ ।’–ग्लोबल आवाजसँगको कुराकानीमा भने । थारु परिवार आफ्नो नाममा लालपूर्जा भएको जग्गामा बस्दै आएबो बताउँदै उनले जसरी पनि हटाएर छाड्ने धम्की दिइन् । थारु परिवार यसरी कहिलेदेखि बस्दै आएको हो भन्ने बारेमा भने उनलाई नै थाहा नभएको उल्लेख गरिन् ।

नेपालको संविधान २०७२ को भाग ३ धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । तर आफ्नो हक खोज्न नसक्ने केउली र सुधन थारु जस्ता मोहीलाई उक्त हकबाट वञ्चित गरियो । यी दुई थारु परिवारको बस्ने बासको हकको पक्षमा यतिका धेरै राजनीतिक दलहरु कसैलाई मतलब छैन ।

दोहोरो स्वामित्व अन्त्य गर्ने कार्यक्रमले मोहीको स्वामित्वमा जमिन दिन नसकेको बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले बताए । ‘अधिया र मोहियानी सर्तमा कमाउँदै आएको जग्गाका बारे कानुन स्पष्ट छैन तर स्थानीयको सर्जमिन र तथ्य प्रमाणका आधारमा कसैलाई अधिकारबाट बञ्चित गर्न प्राकृतिक न्यायको सिद्धान्त र नेपालको संविधानको मौलिक हकको प्रावधानले मिल्दैन’–गौडेलले भने ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई गास, बास र कपासको ग्यारेन्टी गरेको छ तर, बेघर भएर हिंडेका यी थारु परिवारको विषयमा आवाज उठाउने कोही नहुनु बिडम्बना हो भन्छिन्, छिमेकी राजकुमारी मल्ल । “म ४५ सालदेखि यहीँ ठाउँमा बसोबास गर्दै आएकी छु । म आउँदा उहाँहरु यही बस्नुहुन्थ्यो”, मल्लले भनिन् ।
अगमदेवीको विघौ विघा जग्गा जोतभोग गर्ने, गाईभैसी हेर्ने र घरमा समेत कामका लागि थारु परिवारले सघाउँदै आएको मल्लको भनाइ छ । “पहिला उहाँहरुको जग्गा धेरै थियो, कतिले त जग्गा लिएर बेचबिखन गरेर यो ठाउँबाट हिँडिसके तर, यी दुई थारु परिवारलाई साहुले दिन्छु भनेको समयमा जग्गा नामसारी नदिंदा अहिले बिचल्ली पर्ने अवस्था आयो”, मल्लले भन्ने गरेकी छन् ।

नेपालको संविधान २०७२ को भाग ९३० धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । सोही भागको धारा २५ ले प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्न सक्ने अधिकारहरू दिएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।