ताजा अपडेट »

तिलोत्तमामा करोडौं मूल्य पर्ने जग्गा हत्याउन जिउँदै मानिसलाई मृत घोषणा

विहीबार, ३२ साउन २०८०, २० : २९
93 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा करोडौं मूल्य पर्ने जग्गा हडप्न जिवित व्यक्तिलाई मृत घोषणा गरिएको रहस्या सार्वजनिक भएको छ । आफ्नो सहोदर दाजुभाईले गिरोहको जालझेलमा परेर तिलोत्तमा–४ का एक पुरुषलाई मृत घोषणा गरी कागजात तयार पारेका छन् । रोजगारका लागि भारत गएका बेदुराम कंडेललाई उनका दाजु ईन्द्र कुमार कंडेलले मृत्यु भएको भनि सरकारी कागजात तयार पारेर जग्गा किनबेच गरेको रहस्या सार्वजनिक भएको छ ।

भाई बेदुरामलाई मात्र होइन जग्गा हत्याउन आफ्नै जन्म दिने आमालाई समेत दोस्रो विवाह गरी गएको भनि ईन्द्रबहादुरले कागजात बनाएका छन् । जिवितै मृत घोषणा गरिएका बेदुरामको श्रीमतीसहित २ सन्तान छन । तर, सरकारी कागजात गराउँदा बेदुरामले विहे नै नगरेको भनि झुटा विवरण पेश गरेका थिए ।

आफ्नै दाजुबाट मृत घोषणा गरिएपछि न्याय खोज्दै बेदुराम भौतारिएका छन् । विहिबार विहान पहिले आफ्नो रहेको जमिन देखाउँदै उनले न्यायका लागि विलौना गरे । तिलोत्तमा–४ को नयाँमिलबाट पश्चिम पट्टी रहेको पुरानो सडक जहाँ चौतर्फी पक्की सडक सञ्जाललाई छोएको जग्गा हडप्न भाइसहितका गिरोहले उनलाई मृत घोषणा गरेका थिए । उक्त जग्गा बुवा स्वर्गीय बलिभद्र कंडेलको नाममा रहेको थियो । उक्त जग्गा बेदुरामसहित चार भाई छोरा र आमा (बलिभद्रकी श्रीमती)को नाममा अंश लगाईसकिएको थियो । त्यस मध्ये कान्छो छोरा वेदुराम बाहेकले बुवाबाट अंश आफ्नो नाममा पारिसकेका थिए । कान्छो छोरा बेदुराम भने रोजगारीका लागि भारतमा गएका थिए । सोही मौका छोपेर हकदाबी गर्न आउनु पूर्वनै दाजु ईन्द्रले जग्गा आफ्नो नाममा पार्न बेदुरामको मृत्यु भएको भनि वडा कार्यालयमा पुगेर कागजात बनाएका थिए ।

ईद्र कुमारले भाइको जग्गा कुम्ल्याउन २०७८ साल भदौं १५ गतेको मितिमा वडा कार्यालय पुगेर मृत्यु दर्ता गराएको भेटिएको छ । बेदुरामको मृत्यु भएको भनि साँक्षिका रुपमा रुपन्देहीको सैनामैना नगरपालिकाका पूर्णचन्द्र बस्याल, रीमा बस्याल, अजय कुमार न्यौपाने र धनीश्वरा न्यौपाने बसेको भेटिएको छ । रहस्यमय र गजबको कुरा के छ भने जहाँ स्वर्गीय बलिभद्रको जमिन रहेको स्थान वरीपरी कँडेल परिवारका थुपै्र दाजुभाईहरु बसोबास गर्छन । तर उनीहरु भने एक जना पनि साक्षिको रुपमा उपस्थित भएका छैनन् । छिमेकमा रहेका बेदुरामको आफन्तहरुलाई समेत सोधपुछ नै नगरी वडा कार्यालय मृत्यु दर्ता गराउनुले घटना थप रहस्यमय बनेको छ । तिलोत्तमामा रहेका व्यक्ति मृत्यु भएको भनि सैनामैना नगरपालिका–१ रानिवगियाका चार जना व्यक्तिले साक्षिले बस्नु आफैमा रहस्यमय भएको देखिन्छ । बेदुको जग्गा हडप्न खोज्ने उनका दाजु ईन्द्रकुमार सैनामैनामै बसोबास गर्ने भएकाले पनि योजना सफल बनाउन उनीहरुलाई सजिलाका लागि साक्षिको रुपमा ल्याइएको हुन सक्ने देखिन्छ ।

जिवितलाई मृत भएको प्रमाणपत्र उपलब्ध गराउने वडा सचिव काशिराज ज्ञवालीका अनुसार कृते कागजात बनाउनका लागि उनीहरुले गरेको नाटक मञ्चन नै अचम्मको छ । भाइ बेदुरामको मृत्यु भएपछि काजकिरिया गरेको मञ्चन गर्न दाजु इन्द्रले टाउको खुइल्याएर वडा कार्यालय उपस्थित भएको सचिव ज्ञवालीले बताए । नियम अनुसार सुचक आएकोले आफूहरुले विश्वास गरी मृत्युको प्रमाणपत्र दिएको सचिव ज्ञवालीले बताए ।

पछि उनै मृतक भनिएका वेदुराम वडा कार्यालयमा जिवित छु भन्दै उपस्थित भएपछि वडा सचिव झस्किएका थिए । आफूलाई दाजुलाई मृत घोषणा गरेर कागजात बनाएपछि बेदुरामले वडा कार्यालयले नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयसम्म पुग्नु परेको छ । वडा सचिव ज्ञवालीको सल्लाह अनुसार पीडित बेदुरामले मृत्यु प्रमाणपत्र बदर गर्न वडा कार्यालयमा निवेदन दिए । सूचकलाई कारबाहीको लागि नगरपालिका हुँदै जिल्ला प्रशासनमा सिफारिस गरिएकोे सचिव ज्ञवालीले स्पष्ट पारे ।
यसरी जिवित बेदुरामलाई मृतक मात्रै बनाईएको छैन, तीन भाई छोरासँगै रहेकी बृद्ध आमालाई दोस्रो विवाहगरी गएको भन्दै चरित्र हत्या समेत गरिएको छ । २ सन्तान र एक श्रीमतीसहित रहेका बेदुरामलाई विहे नै नगरी मृत्यु भएको घोषण गरी उनीहरुको परिवारले पाउने ३ कट्ठा क्षेत्रफल बराबरको जग्गा गिरोहले कब्जा गरेको छ । ३ करोड बढी मूलय पर्ने उक्त जग्गा हत्याउनै लागि बेदुका दाजु इन्द्रसहित गिरोहले चलखेल गरेको कुरा घटना क्रमले नै स्पष्ट पारेको छ ।

ईन्द्रकुमार आफैमा सोझा देखिने भएकाले ठूलै गिरोहले करोडौंको जमिन हडप्न सेटिङ मिलाए घटना गराएको आफन्तहरु बताउँछन् । कृते गरेर आफ्नौ भाईलाई मृत घोषणा गर्ने दाजु ईन्द्र कुमारले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार पक्राउ परेका इन्द्रकुमारले आफू ऋणको मारमा परेकाले कृते गरेको स्वीकार गरेका छन् जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले घटना बारे थप अनुसन्धान भैरहेको उल्लेख गरे ।

यसरी जिवितै मानिसलाई मृत घोषणा गरेको घटनाले वडाका तत्कालिन अध्यक्ष दिवाकर ढकालमाथि पनि प्रश्न उब्जिएको छ । ढकालले भने बेदुरामका दाजुसहितलाई सरजिविन गराउँदा वेदुरामको मृत्यु भएको भन्ने बुझीएपछि सोही आधारमा मृत्यु दर्ताको प्रमाणपत्र जारी गरिएको बताए ।

मृत्यु दर्ता बनाउँदा मात्र होइन बेदुरामको नाममा रहेका जग्गा अन्यको नाममा गराउँदा समेत तत्कालिन वडा अध्यक्ष ढकालले ख्याल नपुर्याउँदा उनिमाथि थप प्रश्न उब्जिएको छ । उनै ढकालको सिफारिसका आधारमा बलिभद्रको नाममा रहेको तिलोत्तमा–४ को कित्ता नम्वर ३८८ र २९४ को जग्गा कित्ता नम्बर ३९८७ मा ७ धुर, कित्ता नम्बर ३८९३ मा २ कट्टा १३ धुर गरी दुई ठाउँमा कायम गरिएको देखिन्छ । त्यस्तै कि न ३८९३ बाट पुनः साढे ५ धुर जग्गा कित्ता नम्बर ४१४३ मा कित्ताकाट भई गएको मालपोत कार्यालयको विवरणमा देखिन्छ ।

घटनाको विवरण अनुसार जग्गा कुम्ल्याउने सेटिङमा जिल्ला मालपोत कार्यालय बुटवल शाखा समेत जोडिएको आशंका गरिएको छ । वडा कार्यालयलाई छिटो नामसारीको सिफारिस पठाउन भनि निकै ताकेता गरेको श्रोतले जानकारी दिनुले उक्त मालपोत शाखा सेटिङमा जोडिएको आशंका उत्पन्न भएको हो । न्यायको लडाईमा रहेका बेदुरामको जग्गा हत्याउनका लागि संलग्न गिरोहहरु बारे थप खोजीगरी बाहिर ल्याउने प्रयासमा हामी रहेका छौं ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार