ताजा अपडेट »

पत्रकार महासंघ सल्यानका सदस्यको कर्तुत : नेकपा (बहुमत) को पर्चा बनाई असुली धन्दा

विहीबार, २५ साउन २०८०, १८ : १७
51 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिका १८ की जानका बस्नेतलाई विद्यालयमा बसेको बेला एक विद्यार्थी मार्फत एउटा पत्र आयो । तुलसीपुर १८ स्थित बेलझुण्डी माविकी शिक्षिका अधिकारीले शुरुमा पत्र पाउँदा आफू आवद्ध शिक्षक संगठनको होला, भन्ने लाग्यो । उनी त्यो पत्र अफिसमा छाडेर कक्षा कोठामा पढाउन गइन् । पढाएर उनी कार्यालय आएर पत्र हेर्दा उनको शरीर नै सिरिङ भयो ।

कारण हो, त्यस पत्रमा उनसँग एक लाख रकम मागिएको थियो । उनका अनुसार असार २५ गते स्कुलका एक जना विद्यार्थीलाई ति अपरिचित ब्यक्तिले जानका मेडमलाई पत्र दिनु भनेर दिएर गए छ । उक्त पत्रका हाम्रो भूमिगत पार्टी भएका कारण तपाईंले हामीलाई एक लाख सहयोग गर्नु पर्छ, भनेर आएको थियो । उनले भनिन्,‘ त्यो पत्र हेर्दा मेरो जिउँ नै कामिरहेको थियो । संगठनको चिठ्ठी होला, भनेर खुशी थिए । तर, त्यो अर्कै रहेछ । यदि पार्टीलाई सहयोग नगरेमा घरलाई बम राखिदिने र छोराछोरीका हात खुट्टा भाँचिदिए फालिदिने धम्की समेत थियो । उनका अनुसार आफूलाई पत्र दिएको दिन साँझ नयाँ नम्बरबाट फोन आएको थियो । तर, उनले डरका कारण त्यो फोन उठाउन नसकेको बताइन् । त्यसपछि आफूलाई मेडम काम भयो, की नाई, भनेर म्यासेज आएको उनले बताइन् । तर, उनले त्यसको केही पनि जवाफ नदिएको र पछि फेरि उसले तपाईँले किन नसुनेको ? किन मान्छे लगाएको भनेर धम्की पठाएको समेत उनको भनाइ छ ।

त्यसपछि आफूले उसलाई तपाईंले भनेको दिन्छु भनेर जवाफ दिएर प्रहरीलाई पनि आफूलाई आएको बारेमा जानकारी दिए । उनले भनिन्,‘ मलाई त्यो धम्की तथा पत्र आएपछि मैले घर छोडेर माइत नै गए । घरमा आमा छोरी मात्र बस्छौँ । मलाई त्यस्तो धम्की आएको थियो । अनि कसरी एक्लै घरमा बस्न सकिन्छ, त्यो भएर माइत गए । माइतबाट स्कुल आउने जाने गरे । विद्यालयले मलाई स्कुल आउँदा जाँदा एक जनासँगै पठाउने गरेको थियो । प्रहरीले पनि निगरानी राख्दै आएको थियो । आज आएर आफ्नै घर छिमेकीले यस्तो गरेको थाहा पाए ।’ चन्दा माग्ने २ जना पक्राउ नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा माग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका ४ का धनराज तुफान भनिने धन बहादुर दमै र सल्यान छत्रेश्वरी गाउँपालिका १ दमाचौरका २९ वर्षीय चन्द्र प्रकाश बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिहीबार उनीहरूलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । उनीहरूले अधिकारसहित विभिन्न ब्यक्तिहरूलाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को लेटरप्याड बनाई आर्थिक सहयोग भनेर ह्वाटएप तथा चिठ्ठी पठाएर डरधम्की दिएर पैसा माग्ने गरेको थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लका अनुसार आपराधिक लाभ सम्बन्ध कसुरमा उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।

गत चैतदेखि उनीहरूले धेरै जनालाई पत्र, म्यासेज वा आफै गएर नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को नाममा पैसा माग्दै आएको उनको भनाइ छ । समेत उनले बताए । उनीहरूले एउटै नम्बरबाट फोन गरेर पैसा माग्ने र डरधम्की दिने गरेको पनि उनले बताए । उनका अनुसार अहिलेसम्म ४ जना पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन् । उनीहरूले विभिन्न व्यक्तिहरूसँग एक लाख देखि १० लाखसम्म चन्दा मागेको समेत प्रहरीले जनाएको छ । उनीहरूले तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसीसँग १० लाख, सल्यानको कालिका माविका शिक्षक वामदेव अधिकारीसँग ५ लाख, तुलसीपुर ७ पर्सेनीका इन्द्र बहादुर वलीसँग १ लाख रुपैयाँ मागेका थिए ।

यसरी विभिन्न ब्यक्तिहरूलाई डर धम्की दिएर पैसा मागेको भन्ने प्रहरीमा खबर आएपछि प्रहरीले लामो समयको अनुसन्धान पछि उनीहरूलाई पक्राउ गरेको समेत डीएसपी मल्लले बताए । उनका अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रूपन्देही एवं जिल्ला प्रहरी कार्यालय दाङसहितको सहयोगमा उक्त घटना बाहिर आएको हो । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको र मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ बमोजिमको कसुर मुद्दामा दाङ जिल्ला अदालतबाट म्याद भएको समेत उनले बताए ।

उनीहरूको साथबाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को १२१ थान लेटर प्याड, ९ थान चेक, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को छाप, विभिन्न ब्यक्तिहरूको ९ वटा फोटोहरू, विभिन्न ब्यक्तिका ३९ वटा नागरिकताको कपी र कम्प्युटर, फोटोकपी मेसिन लगायत सामाग्रीहरू बरामद भएको समेत प्रहरीले जनाएको छ । पक्राउ परेका परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्य समेत हुन् । परियारको साथमा पत्रकार परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी