ताजा अपडेट »

आमा र सपना

आइतबार, २१ साउन २०८०, १६ : ३०
54 Shares

जीवन दान गर्ने भगवान रुप आमा तिमी ।
धर्म, शास्त्र भन्दा ठूलो प्रकृतिको विशाल रूप आमा तिमी ।।
विशाल विवेक आमा तिम्रो, हृदयको खानि।
जुगौँजुग बास होस् मेरो, प्रेमको खानि तिमि ।।

को मर्छ र मेरो लागी यहाँ, दिन रात नभनी ।
भोकै सन्तुष्ट हुन्छिन् उनी, मलाई खुवाएर पनि ।।
स्वस्थ मस्त छिन् आमा, मेरो स्याहार सम्भारमा पनि ।
खुसीका सास फेर्छिन् आमा, मैले हाँसो छोड्दा पनि ।।

मेरो जस्ती आमा यहाँ, भाग्यमानीले पाउलान् ।
तम्रा मनमा अरू भए, मेरा मनमा आमा नै छिन् ।।
ईश्वरको हृदय भरिएको मनमा, आमा सन्तान देखाउँछिन् ।
सन्तानकै नाममा आमा, शोक भोक लोभ मोह सब त्याग्छिन् ।।

आमाको मन कति ठूलो, सदा सदा सन्तान माथि ।
सन्तानको मन कति कठोर, मोह माया काठघोडा माथि ।।
कथनै साँचो मीठो, पोले घामै मारे आमै जाती ।
म त छैन त्यस्तो, नरोए आमा छैन मेरो दुष्ट मति ।।

सोधी आउँछु आमा उनलाई, किन जान्छन् देवालय ती ।
दुखाईका घाउ बर्सिन्छन्, आँसु भई शाहुने झरी ।
सुस्साइ वेग ठूलो त्यो, मन पगाली ल्याउला की ।
रुन्छु सम्झी काख त्यो, बदलियो आमा परिस्थिति ।।

बेग्लै छ आमा, ऋत यो संसारको ।
यो पापी धनले, आमाको काख छुटायो ।
छैनिन् आमा यहाँ, छ मात्र भीड लाखौँको ।
छैन आमा ढिँडो झैँ, चामल यो सहरको ।।

रुन्छु धर्की आमा, सोध्छन् सखी के भो तँलाई ।
सहरमा एक्लै छु सखी, पैसाका हुन् ती सब विश्वास छैन मलाई ।।
खै कस्तो ठाउँमा ल्याइ, फसायो हरी यो मलाई ।
के पायौ र मूर्ख ज्ञानी, छाडेर आमाको काखलाई ।।

मूर्ख साँचो आमा, उही त हो रहेछ ।
जो धाम धाएर, मूर्ति(स सांसारिक आराम मागेछ ।।

कुकुरको दुख भेट्छ जो, धनकै पछि लाग्ने छ ।
धिक्कार छ जो उनलाई, आफ्नै बाबु आमा बिर्सन्छ ।।

पुगेँ मठ(मन्दिर, देखेँ फूलबारी आकाशका जून तारा नि ।
पढेँ देव पुराण भागवत महाभारत, पढेँ गीता रामायण पनि ।।
खाइ मीठा मसिना, खुसी भइ सम्पत्ति सयल भएपनि ।
आमाको काख जस्तो, पाइँदैन यहाँ खोजेर आनन्दी ।।

जाउ रोधनको खबर लगी, ल्याउनु आमाको खबर परदेशीलाई ।
आउँछु एक दिन आमाको चोली घरको छानो फेर्नलाई ।।
पर्खे है आमा फिर्छ दिन, आँटो पीठोमै रम्नलाई ।
मर्दको छोरो आमाको इरादा, पुरा गरेरै जीवन फेर्नलाई ।।

म फर्की आउँदा आमा, घाँस दाउरा गर्न वन हुनेछौ ।
पुर्नेकको रातमा झ्याउँकिरीको, र्याइँ र्याईँमा मलाई कुर्ने छौ ।।
बचपनको तस्विर छातीमा टाँसि, मलाई तिमि सुन्ने छौ ।
ईश्वरको नाममा दियो बाली, कोखीको घाउ कहाँ गयो भनि सोध्ने छौ ।।

नरौ अब सुशिल छौ र त, आज सम्म बाँची फर्केको छौ ।
रुवाइलाई रोकी हाँसो आज, हजार सूर्यको तेज चम्केको छ ।।
आमा यो त्याग र बलिदानलाई, देखेर अब तिमीलाई ईश्वरले पुज्ने छ ।
दैव काँप्दै छ उ त्यो, तिमीसँग रुने न्याउली र बादल आज हाँसेको छ ।।

तिमीलाई सान्त्वना दिँदै, मलाई पापीको संज्ञा दिने निःशब्द छ ।
चमक्क चम्कने, जून तारा पनि हर्षमा शान्त छ ।।
तिमीलाई दिन भरी पछ्याउने, चरी बल्ल गुण खोज्दै छ ।
तिमी र मेरा कुरा बेची खाने, समाज हेर आज निःशब्द छ ।।

हेर त आमा हिजो सम्म, अँध्यारो आकाश आज उज्यालो छ ।
हेर त आमा हाम्रो, खुसीमा प्रकृति नाचेको छ ।।
आउ आमा आज हामी पनि, यो खुसीमा नाच्नु पर्छ ।
गगनलाई च्यातेर मेरी आमा, नयाँ संसार हेर्नु पर्छ ।।

ज्ञात भो मलाई, आमाको काखमा दैविक शक्ति छ ।
आमाको ममता पाए, झुपडी यहाँ स्वर्ग देवालय बन्दछ ।।
आमाको सुख खोज्न, प्रदेशिनु मेरो ठूलो भूल भएछ ।
सर्वस्व आमा तिमी, बाँचे यो मर्द संसार सारा जित्दछ ।।

हे दैव यो चेतावनी हो, यहाँ सयौं मेरा मा छन् ।
यी आमाको उद्धार गर्नु, मेरो कर्तव्य हो साराले साथ दिने छन् ।।
हेर अब जब म जाग्ने छु, तब हिजोका सपूत जाग्ने छन् ।
जब म मर्ने छु, तब मेरा सारा गन्तव्य पुरा हुने छन् ।।

हेर अब तिम्रा नाममा, पूजा पाठ बन्द हुने छ ।
जब म मर्छु नि हेर यो, संसारको पुन सृष्टि हुने छ ।।
म मर्दा हेर यो, पुन आगमनको पुकारा चल्ने छ ।
सत्य हो यो पुरा हुँदा, मेरो जन्मको अर्थ सार्थक हुने छ ।।

पर्खी बस दिन आमा, म अवश्य आउने छु ।
जन्म साकार पार्न म, संसारको मुहार फेर्ने छु ।।
नयाँ सृष्टि हुन्छ, संसारको आमा म मर्दा ।
आशीर्वाद देऊ आमा, म यो देशको मुहार फेर्न चाहन्छु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।