ताजा अपडेट »

दाङमा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढ्दै

शुक्रबार, १९ साउन २०८०, ०५ : ३७
39 Shares

दाङ । दाङमा आँखा पाक्ने रोगका बिरामीहरू सङ्ख्या बढ्दै गएका छन् । तुलसीपुर उपमहानगरपालिका ५ न्युरोडकी विमला वलीलाई पनि आँखा पाक्ने रोगले सताएको तिन दिन भयो । उनी मात्र नभइ उनको घरमा अन्य दुई जनामा पनि यस्तै समस्या भएको छ । शुरुमा आँखा बिझाउने, चिलाउने समस्या भएयता पनि अहिले आँखा रातो हुँदै गएको र आँखाबाट आस आउने, दुख्ने समस्या भएपनि उपचार गर्न राप्ती आँखा अस्पताल रक्षाचौरमा आएकी थिइन् । उनले भनिन्, ‘मलाई यस्तो भएको तिन दिन भयो । धेरै समस्या भएको छ । घाममा हेर्न, मिल्दैन्, असाध्यै दुख्ने गरेको छ । कस्तो रोग लागेको होला । मलाई मात्र नभइ घरमा अरु दुई जनालाई पनि यस्तै भएको छ । हाम्रो टोलमा सबैलाई यस्तै भएको छ । यो एकदमै सर्ने रोग रहेछ ।’

यस्तै सोही ठाउँकी खिमा वलीलाई पनि उस्तै समस्या भएको छ । उनी पनि दुई नातिसहित अस्पतालमा उपचार गर्न आएकी थिइन् । उनले पनि आफ्नो आँखा पाक्ने समस्या भएको तिन दिन भएको बताइन् । उनका अनुसार यो भाइरल रोग भएका कारण डाक्टरले आँखाको सरसफाइमा ध्यान दिन आग्रह गरेको गरेका छन् । तुलसीपुर १० का युवराज थापाले भनी आँखा चिलाउने र घाममा हेर्दा गारो हुने भएपछि अस्पतालमा आएको र कन्जन्टेभाइटिस भाइरल भएको भनेर चिकित्सकले भनेको बताए । विगतका समयमा भन्दा बितेको तिन दिनको अवधिमा करिब १५ सय बिरामीहरू अस्पतालमा सेवा लिन आएको अस्पतालले जनाएको छ ।

अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमका अनुसार एक हप्ता अघि अस्पतालमा ३५० सरदर आँखा उपचारमा आउने गरेपनि हाल भने दैनिक साढे ४ सय देखि ५ सय सम्म बिरामीहरू आउने गरेका छन् । उनले त्यसमा ६० प्रतिशत आँखा बिझाउने रातो हुने आशु आउने घाममा हेर्न नमिल्ने लक्षणका बिरामीहरू आउने गरेको बताए । उनका अनुसार बितेको ३ दिनदेखि बिरामीहरूको संख्या बढ्दै गएको हो । मौसम परिवर्तन र दूषित वातावरणले गर्दा आँखा पाक्ने रोगका बिरामी बढेका हुन् । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द कालेबाबु नारायण आँखा अस्पताल बहादुरगञ्ज, भालुबाङ आँखा उपचार केन्द्र तथा अन्य उपचार केन्द्रमा आँखा पाक्ने रोगका बिरामी बढेको अस्पतालले जनाएको छ । यस्तै अस्पतालका रेटिना रोग विशेष डा। सन्तोष सुवेदीले बिरामीहरू प्रायजसो आँखा रातो हुने समस्या लिएर अस्पताल आउने बिरामी बढेको बताए । उनले बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने उनको भनाइ छ ।

उनका अनुसार बिरामीहरूमा कन्जन्टेभाइटिस, आँखा चिलाउने, रातो हुन, आँखा सुनिने र सुख्खा आँखाजस्ता समस्या पाइने गरेको छ । ‘कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ, यो सरुवा रोग हो । आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ । यसमा आँखाबाट आँसु बग्ने, चिप्रा लाग्ने, परेलीको डिल सुन्निने हुन्छ । जसले गर्दा घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छ,‘ उनले भने । ‘सङ्क्रमण विभिन्न कारणले हुने हुँदा सम्बन्धित अस्पतालमै गएर जाँच गराउनुपर्छ, आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्ने भएकाले सरसफाइमा ख्याल गर्नुपर्ने उनको भनाई छ । ढिला गरी उपचारमा आउँदा आँखाको नानीमा घाउ हुन्न भएकाले पनि हेलचेक्र्याइँ नगर्न उनको सुझाव छ ।

अस्पतालकी बाल नेत्र रोग विशेषज्ञ डा। नीता सोनाम गमालले अहिले आँखा पाक्ने, रातो हुने रोग धेरै फैलिएको बताइन् । अस्पतालमा आउने बिरामीहरू मध्य अहिले एक सय जनामा कम्तिमा ३० जनामा यो समस्या देखिने गरेको उनको भनाइ छ । यो आँखा पाक्ने रोग अहिले प्रकोपमा रुपमा फैलिरहेको समेत उनले बताइन् । यो रोग लागेका आँखा रातो हुने, आशु आउने, बिझाउने, आँखाको नानीमा घाउ हुने लगायतका समस्याहरू हुने गरेको समेत उनले बताइन् । उनका अनुसार बिरामी आँखामा देखिएको समस्या अनुसार नै उपचार गरिन्छ । यो एकदमै सरुवा रोग भएका कारणले आँखाको सरसफाइमा ध्यान दिन समेत उनले आग्रह गरेकी छन् । यो सिजनमा यस्ता रोगका बिरामीहरू बढ्ने गरेको भएयता पनि बिरामीहरूमा पनि अस्पतालमा गएर उपचार गर्नु पर्छ, भन्ने जनचेतना हुँदा बिरामीहरूको संख्या बढ्दै गएको समेत उनले बताइन् । ‘कन्जन्टेभाइटिस प्रायजसो ब्याक्टेरिया र भाइरसको सङ्क्रमणले गर्दा हुने गर्दछ ।

आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफूखुशी औषधी किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव बिना औषधि प्रयोग नगर्न उनको भनाई छ । यहाँ आउने बिरामीहरू मध्ये धेरै बिरामीहरू अहिले आँखा पाक्ने रोगका आउनु हुन्छ,‘ उनले भनिन् । त्यस्तै यसबाट बच्ने उपायहरू भाइरल र ब्याक्टेरियल आँखा पकुवा सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरू प्रयोग नगर्ने, हातमुख धुने जस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि संक्रमित आँखामा मात्र झोल औषधिको प्रयोग गर्ने र हात राम्ररी धुने गरेमा यसबाट बचन सक्ने उनको सुझाव छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी