ताजा अपडेट »

सुरक्षित गर्भपतन पछि गर्भनिरोधको साधन अपनाउँदै महिला

विहीबार, १८ साउन २०८०, १७ : ३१
46 Shares

बुटवल । सुरक्षित गर्भपतन पछि गर्भनिरोधको साधन अपनाउनेको संख्या बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षमा रुपन्देही जिल्लामा ४ हजार ४६० जनाले सुरक्षित गर्भपतन गराए । गर्भपतन गराएका मध्ये २ हजार ५४७ जनाले मेडिकल विधि र १ हजार ९१३ जनाले सर्जिकल विधिबाट गर्भपतन गराएको स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज अधिकारीले जानकारी दिए ।

सुरक्षित गर्भपतन गराएका मध्ये ३ हजार ७३० जनाले सुरक्षित गर्भपतन पछि गर्भनिरोधको साधन अपनाएको स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज अधिकारीले जानकारी बताउँछन् । यसरी गर्भनिरोधको साधन अपनाएकामा ३ हजार १३७ जनाले छोटो अवधी र ३९४ जनाले लामो अवधीका लागि परिवार नियोजनको साधन अपनाएको उनले बताए ।

‘गत वर्ष मात्रै रुपन्देहीमा राज्यले तोकेको स्वास्थ्य संस्थामा गई ४ हजार ४६० जना महिलाले सुरक्षित गर्भपनत गराउने भएको छ । यसरी गर्भपतन गराउने मध्य ३ हजार ७३० जनाले गर्भनिरोधको साधन प्रयोग गर्नु भएको छ ।’ सूचना अधिकारी भेषराजले भने ‘परिवार नियोजन प्रयोग गर्ने मध्य ३ हजार १३७ जनाले छोटो अवधी र ३९४ जनाले लामो अवधीका लागि नै गर्भनिरोधको साधन प्रयोग गर्नु भएको छ ।’

गर्भनिरोधको साधन अपनाउनेमा १२ हप्तासम्मको सुरक्षित गर्भपतन गराएका ३ हजार ५२६ जना र १२ हप्ता भन्दा माथिको सुरक्षित गर्भपतन गराएका २०१ जनाले लामो अवधिको लागि गर्भनिरोधको साधन प्रयोग गरेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

सुरक्षित गर्भपतन पछि गर्भनिरोधको साधन अपनाउनेमा २० वर्ष भन्दा कम उमेर समूहका किशोरीहरु प्नि रहेको स्वास्थ्य कार्यालयका सूूचना अधिकारी भेषराज अधिकारी बताउँछन् । ‘रुपन्देहीमा गत आर्थिक वर्षमा २० वर्ष भन्दा कम उमेरका १८४ जनाले सुरक्षित रुपमा गर्भपतन गराउनु भएको थियो ।’– उनले भने ‘यसरी गर्भपतन गराउने २० वर्ष भन्दा कम उमेरका केही महिलाहरुले लामो र छोटो दुबै प्रकारको गर्भनिरोधको साधन अपनाउनु भएको छ ।’

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ९०३ जनाले सुरक्षित गर्भपतन गराएका थिए । यसरी गर्भपनतन गराउने मध्ये ३ हजार ९२४ जनाले गर्भपतन पछि गर्भनिरोधको साधन अपनाएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । परिवार नियोजनको साधन अपनाउने मध्ये ३ हजार ४५८ जनाले छोटो अवधि र ४६६ जनाले लामो अवधिका लागि गर्भनिरोधको साधन अपनाएका थिए ।

यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ५५३ जनाले रुपन्देहीमा सुरिक्षत रुपमा गर्भपतन गराए । सुरक्षित रुपमा गर्भपतन गराउने मध्ये ३ हजार १६ जनाले गर्भनिरोधको साधन अपनाएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यसरी गर्भनिरोधको साधन अपनाउने महिला मध्ये २ हजार ६४१ जनाले छोटो अवधि र ३७५ जनाले लामो अवधिका लागि गर्भनिरोधको साधन अपनाएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. विष्णु गौतमले गर्भनिरोधको साधनका बारेमा कम जानकारी हुनु र जानकारी भए पनि वेवास्ता गर्दा अनिश्च्ति गर्भ बस्ने गरेको बताउँछन् । अनिश्च्ति बसेको गर्भपतन गराउँदा चिकिस्कहरुले परिवार आवश्यकता अनुसारको लामो वा छोटो नियोजनको साधनका अपनाउन सल्लाह दिएकाले महिलाहरुले सुरक्षित गर्भपतन पछि गर्भनिरोधको साधनको प्रयोग गर्ने गरेको स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. गौतम बताउँछन् ।

‘गर्भनिरोधको साधनका बारेमा कम जानकारी हुनु र जानकारी भए पनि वेवास्ता गर्दा अनिश्च्ति गर्भ रहने हुन्छ । यसरी अनिश्च्ति रुपमा बसेको गर्भपतन गराउँदा चिकिस्कहरुहले पनि गर्भनिरोधको साधन प्रयोग गर्न सल्लाह दिने गर्नु हुन्छ ।’–उनले भने ‘चिकिस्कको सल्लाह पछि परिवार नियोजनको साधन प्रयोग गुर्न राम्रो नै रहेछ भन्ने बुझेर अनिश्च्ति रुपमा गर्भ बसेका महिलाहरुले आवश्यकता अनुसार लामो र छोटो अवधिका लागि परिवार नियोजनको साधनको प्रयोग गर्ने संख्या बढेको पाइन्छ।’

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलाको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवती महिलाको मन्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ ।

गर्भपतन नगराएमा महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुनसक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजतप्राप्त चिकित्सकको राय भई त्यस्ता महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भ पनि पतन गराउन पाइने व्यवस्था उक्त ऐनले गरेको छ ।

यसबाहेक जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जिवाणु वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेमा पनि महिलाको मन्जुरीमा २८ हप्तासम्म सुरक्षित गर्भपतन गराउन पाइने व्यवस्था सो ऐनमा छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।