ताजा अपडेट »

बुटवलको अक्सफोर्ड माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

शनिबार, १३ साउन २०८०, २१ : २८
14 Shares

बुटवल । अक्सफोर्ड माध्यामिक विद्यालय बुटवलले शैक्षिक सत्र २०८० को कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । शनिबार ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रुपन्देही शैक्षिक हब बन्दै जानुमा अक्सफोर्ड मावि जस्ता अब्बल विद्यालयहरुको योगदान रहेको बताए । शैक्षिक गुणस्तर राम्रो बनाउन विद्यालयको वातावरण महत्वपूर्ण हुने उनले बताए । नगरभित्रका विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय पालिका सहकार्य गर्न तयार रहेको प्रतिवद्घता जनाए ।

कार्यक्रममा प्राचार्य दिनेश भुषालले संस्कारसहितको शिक्षालाई विद्यालयले उच्च प्राथमिकतामा राखेर विद्यार्थीको शैक्षिक सिकाई गतिविधिलाई जोड दिँदै आएको बताए । हरेक गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति अभियान चलाएर प्रोत्साहन गरिएको बताए । कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका शाखा अधिकृत बाबुराम भण्डारीले सैद्धान्तिक शिक्षासंगै प्रयोगात्मक शिक्षालाई जोड दिन जरुरी रहेको बताए ।

परिक्षामा सैद्धान्तिक तर्फ कम अंक आउने विद्यार्थीहरुलाई प्रयोगात्मकमा अंक बढि दिने प्रचलनप्रति सचेत हुनुपर्ने उनले ध्यान दिनुपर्ने बताए । माध्यमिक तहको शिक्षा महत्वपूर्ण हुने दाबी गर्दै उनले युवाहरुलाई संस्कार सिकाउने रुपमा रहेको बताए । कार्यक्रममा अभिभावक संघका रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सरल र ब्यवहारिक बनाउन सुझाव दिए ।

विद्यालयमा विज्ञान, ब्यवस्थापन, शिक्षा, मानविकी अन्तरगत विभिन्न विधामा नया शैक्षिक सत्रमा ९ सय विद्यार्थी भर्ना भएको सहप्राचार्य सुमन भुसालले बताए । विद्यालयमा ४ हजार ५ सय विद्यार्थीहरु अध्ययनरत छन् । यसैबीच राष्ट्रिय कलाकार एलिना चौहान र प्रमोद खरेलका साथमा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रममार्फत कला प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।