ताजा अपडेट »

तिलोत्तमाका श्याम: अन्तर्राष्ट्रिय प्रतियोगितमा डेब्युपछि थप अवसरको खोजिमा

आइतबार, ०७ साउन २०८०, १७ : १२
24 Shares

बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला एसिया कपको अभ्यासका लागि श्रीलङ्कामा छ । एसीसी ईमर्जिङ टिम्स एसिया कप खेल्न त्यहाँ पुगेको टोली लगत्तै श्रीलङ्कामै रहेर यसिया कपका लागि अभ्यास सुरु गरेको हो । यस समूहमा आफूलाई सुधार गर्दै आगामी प्रतियोगितामा प्लेइङ-११ मा पर्नेगरी अभ्यासमा छन् रुपन्देही तिलोत्तमा-१३ तिनधुराका श्याम ढकाल ।

श्रीलङ्कामा केही दिन अघि सम्पन्न एसीसी ईमर्जिङ टिम्स एसिया कपबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका उनले थप हौसलाका साथ अभ्यासमा जुटेका छन् । उक्त प्रतियोगितामा ‘युएई ए’ विरुद्ध २ विकेट लिएका थिए । एसीसी विश्वक कप छनोट लिग–२ तथा विश्व कप छनोट प्रतियोगितामा समेत नाम दर्ता गराउन सफल श्यामले ती सबै प्रतियोगिताहरुमा भने बेन्चमै बस्नुपर्यो । यसपटक युएई ए विरुद्ध उनले गरेको प्रदर्शनले आगामी प्रतियोगितामा प्लेइङ ११ मा पर्ने आशा बढ्दै गएको उनी बताउँछन् ।

घरको सामान्य आर्थिक अवस्थामा पनि कडा मेहनत र क्रिकेटप्रतिको लगाव बनाएका उनले एक दिन अन्र्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै नेपाललाई उपाधी दिलाउने सपना बुनेका छन् । २२ वर्षीय श्यामले राष्ट्रिय टोलीमा रहेर प्रशिक्षणमा सहभागी हुन पाउँदा आफूलाई थप निखारता ल्याउनका लागि सहयोग मिलेको बताए । तिलोत्तमा स्टार एकेडेमीमा १ वर्ष प्रशिक्षण लिएका उनी अहिले भने तिलोत्तमा क्रिकेट एकेडेमीमा प्रशिक्षण लिइरहेका छन् । विगत डेढ वर्षदेखि उक्त एकेडेमीमा क्रिकेट सिक्दै आएका उनी बेला–बेलामा इन्डियामा समेत गएर विभिन्न क्लबहरुमा आवद्ध भइै खेल्ने गर्दछन् । इन्डियाको दिल्लीमै बसेर १ वर्ष क्रिकेट प्रशिक्षण लिएका उनी १४÷१५ वर्षको उमेरदेखि यसखेलप्रति आर्षित भएका हुन् ।

तिलोत्तमाको सेन्टजोसेफ ईङ्गलिस बोर्डिङ स्कुलमा कक्षा ६ सम्म अध्ययन गरी पोखरा पुगेर जनप्रिय माविबाट एसएलसी उत्तिर्ण गरेका हुन् । सानोमा टेबल टेनिसमा सोख भएका उनी बिस्तारै क्रिकेट खेल्न थालेका हुन् । रुपन्देहीकै तिलोत्तमा क्याम्पसबाट कक्षा १२ उत्तिर्ण गरेपछि बुटवलको क्षितिज इन्टरनेश्नल कलेजमा अध्ययन गरिरहेका उनी अब भने क्रिकेटमै आफूलाई समर्पित गर्न चाहान्छन् ।

राष्ट्रिय टिममा सहभागी भएर आफूलाई डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गर्न सक्ने उदाहरण पेश गरेका उनले नेपालका लागि मुख्य प्रशिक्षक मोन्ति देशाईको हौसलाले थप उर्जा मिलेको बताउँछन् । टोलीमा रहेका सदस्यहरु बीचको सम्बन्ध सहकार्य र एकले-अर्का खेलाडीलाई गर्ने सम्मान तथा हौसलाले खेलाडीहरु बीच थप उर्जा मिल्नुका साथै थप नयाँ गरेर देखाउने उत्साह थपिएको उनी बताउँछन् ।

भारतका विभिन्न क्लबहरुमा सहभागी भएर खेल्दा थप नयाँ स्किल र क्षमताको बिकासमा आफूलाई निखार्न सहयोग मिल्ने गरेको उनी बताउँछन् । रुपन्देहीले उत्पादन गरेका कुशल भुर्तेल, कुशल मल्ल, देव खनाल, लगायतका खेलाडीहरु जस्तै आफूलाई पनि अब्बल खेलाडीका रुपमा स्थापित गर्नेगरी मेहनत जारी रहेको उनले बताए । पछिल्लो समय क्रिकेटप्रति बढ्दै गएको क्रेज र दर्शकको मायाले कमजोर भौतिक संरचना, राज्यको कम लगानी तथा प्रयाप्त प्रविधी नहुँदा पनि श्याम जस्तै धेरै खेलाडीहरु उत्पादन हुँदै गएका छन् । खेलकूदमै जीवन खोजेर हिँड्ने खेलाडीहरुका लागि न्युनतम जीवन धान्न सक्ने गरी पारिश्रमिक, सोही अनुसारका गतिविधि तथा प्रयोत्साहन हुने हो भने देशलाई उचो राख्नेगरी आफूहरु खेल्न सक्ने उनी बताउँछन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।