ताजा अपडेट »

असार सकिँदा लुम्बिनीमा ६४ प्रतिशत मात्र रोपाई, कुन जिल्लामा कति ?

मंगलबार, ०२ साउन २०८०, १६ : ५७
30 Shares

बुटवल । लुम्बिनी प्रदेशमा असार सकिँदा ६४ प्रतिशत मात्रै रोपाई भएको छ । लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । जसमध्ये असार सकिँदा १ लाख ९९ हजार ३४६ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासीनिले जानकारी दिए ।

असार १५ गतेसम्म यँहा ११ प्रतिशत मात्रै रोपाई भएको थियो । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासीनिका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाई कपिलबस्तु र सबै भन्दा कम रुकुम पूर्वमा हुन्छ । कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुन्छ भन्ने रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ ।

जसमध्ये कपिलवस्तुमा असार सकिँदा ४५ हजार ५४६ हजार हेक्टर क्षेत्रफल अर्थात धान रोपाई हुने क्षेत्रफलको ६५ प्रतिशत रोपाई भएको छ भने रुकुम पूर्वमा १ हजार २७७ हेक्टर अर्थात ९० प्रतिशत क्षेत्रफलमा रोपाईँ सकिएको छ । यस्तै रुपन्देहीमा अहिलेसम्म ७५ प्रतिशत रोपाई सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६२३ हेक्टरमा रोपाईँ भएको छ ।

यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३० प्रतिशत र बर्दियामा ७४ प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामा धान रोपाई हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ११ हजार २२९ हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ३६ हजार २८४ हेक्टरमा अर्थात ७४ प्रतिशत रोपाईँ सकिएको छ । बाँकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमा अहिलेसम्म १४ हजार ८५० हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । जुन धान उत्पादन हुने क्षेत्रफल मध्य ४५ प्रतिशत मात्रै हो ।

नवलपरासी पश्च्मिमा धान रोपाई हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये १४ हजार ३५० हेक्टर अर्थात ७० प्रतिशत मात्रै रोपाई भएको मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ६०.५ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ भने असार सकिँदा ५ हजार २०२ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाईँ सकिएको छ ।

पाल्पामा ६ सय ५६८ हेक्टर क्षेत्रफल अर्थात८० प्रतिशत रोपाई सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाई हुने मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । यता प्यूठानमा ९७ प्रतिशत रोपाई सकिएको छ भने अर्घाखाँचीमा ७० प्रतिशत रोपाई भएको छ ।

प्यूठानमा ६ हजार ३२९ हेक्टर क्षेत्रफलमा रोपाई हुँदा अर्घाखाँचीमा ५ हजार ६३५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ । प्यूठानमा ६ हजार ५२५ हेक्टर र अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । साथै रोल्पामा ९६ प्रतिशत रोपाई सकिएको छ । रोल्पामा धान रोपाई हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्य ४ हजार हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

यस वर्ष समयमा नै पानी नपर्दा गतवर्ष भन्दा कम मात्रामा धान रोपाई भएको मन्त्रालयका प्रवक्ता मरासिनी बताउँछन् । ‘सिचाईको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाईमा पर्यो ।’–उनले भने।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।