ताजा अपडेट »

वैकल्पिक गोलरक्षक अन्जनाले २ पेनाल्टी जोगाउँदा नेपाल बङ्गलादेश विरुद्ध ४-२ ले विजयी

आइतबार, ३१ असार २०८०, १९ : ४३
27 Shares

बुटवल । वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी जोगाएपछि नेपालले बंगलादेशमा जारी मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा जित हासिल गर्दै सिरिज पनि जितेको छ ।

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा नेपाल ४–२ ले विजयी भयो । यसअघि पहिलो खेल १–१ को बराबरीमा सकिएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा अन्जनाले दुई पेनाल्टी प्रहार बचाएकी थिइन् । उनी ९० औं मिनेटमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

नेपालका लागि टाइब्रेकरमा सावित्रा भण्डारी र हिरा भुजेलले सुरुवाती दुई प्रहारमा गोल गरिन् ।बंगलादेशका सम्सुन्नाहारले पहिलो प्रहार गोल गर्दा गोलरक्षक अन्जना राना मगरले शेउली अजीमको दोस्रो प्रहार विफल पारिन् ।

नेपालका लागि अन्जना रानामगरको तेस्रो प्रहार पोस्टमा लागेर गोल नहुँदा उनले मारिया मान्डाको प्रहार विफल पारिन् । दिपा शाहीले नेपालको लागि चौथो प्रहार गोल भएको थियो । बंगलादेशका लागि मोनिका चक्माले चौथो प्रहारमा गोल गरिन् । अनिता केसीले पाँचौ प्रहारमा गोल गर्दै नेपालको जित पक्का गरिन् ।

खेलमा बंगलादेशसँग केही दबाबमा रहेको नेपालले गोलका लागि उत्कृष्ट अवसर सृजना गर्न सकेन । खेलको चौथो मिनेटमा नै बंगलादेशकी मिडफिल्डर मोनिका चक्माको फ्रिकीकमा कप्तान सविना खातुनको प्रहार क्रसबारमा लाग्दै गोललाईनबाट गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले रोक्दा बंगलादेशका खेलाडीबीच तालमेल नमिल्दा डिफेन्डरले क्लीयर गरिन् ।

खेलको ४३ औं मिनेटमा सावित्रा भण्डारीको फितलो प्रहार बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले सहजै बचाईन् । खेलको ४४ औं मिनेटमा साम्बाको प्रहर गोलरक्षकले बचाइन् ।

खेलको ८२ औं मिनेटमा सवित्रा भण्डारीको फ्रिकीक गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो ।
नेपाल र बंगलादेशले पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी गरेका थिए । गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालदेशसँग ३–१ ले पराजित भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।