ताजा अपडेट »

घरकी कान्छी छोरी प्रसिद्धिका प्रहरी ‘कमाण्डर’

आइतबार, ३१ असार २०८०, १६ : ५६
8 Shares

बुटवल । गुल्मीको पुर्ख्यौली बसाई छाडेर प्रसिद्धिका कंडेलको परिवार नुवाकोट पुग्यो । नुवाकोटमै पेसा व्यवसाय गर्दै उनका बुवा हरिवंश कंडेलले उनीसँगै ६ जना सन्तानलाई हुर्काउने र पढाई–लेखाई पूरा गराए । रहनसहन र लवाई खवाई आफू जन्मेको नुवाकोटकै छ प्रसिद्दीकामा । पुर्ख्यौली थलो छाडेर नुवाकोट कसरी र कहिले आइपुग्यो यसबारे पनि जानकार छैनन् उनी ।

हालसम्म आफ्नो बुवा–आमाले छाडेको जिल्ला गुल्मी घुम्न नपाएकी उनी अहिले छिमेकी जिल्ला नवलपरासीमा ट्राफिक प्रहरीको कमाण्ड सम्हालिरहेकी छन् । मिजासिलो बोली, तिक्ष्ण बुद्धि, हट्टकट्ट र खाइलाग्दो शरिर, उचो कदकी उनी जिल्लाको कमाण्ड गर्दै ट्राफिक व्यवस्थापनको खटनपटनमा व्यस्त हुने गर्छिन् ।

६ वर्षअघि २२ वर्षको कलिलो उमेरमै प्रहरी सेवामा प्रवेश गरेकी उनले अध्ययनलाई पनि उत्तिकै अब्बल बनाएकी छन् । मानविकी संकायतर्फ राजनीति शास्त्र र सार्वजनिक प्रशासन विषयमा समेत स्नाकोत्तर गरेकी छन् । खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा नाम निकालेकी उनले काठमाडौंको रानीपोखरीमा १ वर्ष सेवा गरिन् । थापाथलीमा ट्राफिक व्यवस्थापनतर्फ २ वर्ष र बग्गीखानामा १० महिनाको अनुभवसँगै नवलपरासीमा कमाण्डर बनेर आएकी हुन् उनी । जिल्लाका सम्पूर्ण ट्राफिक व्यवस्थापन, मातहतकालाई खटनपटन गराउने जिम्मा उनकै छ ।

घरमा ३ जना दाजु र २ दिदीपछिकी कान्छी सन्तान प्रसिद्धिकाले आफ्नो लगन र पेसाप्रतिको बफादारिताले नामजस्तै प्रसिद्धी कमाउँदै छिन् । प्रहरी संगठनले उनले गरेको काम र लगनशिलता देखेरनै विश्वास गरेको हुनाले सिंगो जिल्लाको कमाण्ड उनलाई जिम्मा लगाएको छ । मधेशी समुदाय र ग्रामिण बस्तीको बाहुल्यता, नेपाल भारतसँग सीमा जोडिएको, पुर्वपश्चिम राजमार्गले छोएको यो जिल्लामा ट्राफिक व्यवस्थापन त्यती सहज भने छैन । तर, यहाँका राजनीतिक दल, विभिन्न सामाजिक संघ–संस्था, नागरिक समाज लगायत सबैसँग समान सम्बन्ध राख्न सक्ने उनलाई आफ्नो जिम्मेवारी सामान्य र सहज नै लागेको बताउँछिन् ।

जिल्लामा दुर्घटना न्युनिकरणसँगै नागरिकहरुमा ट्राफिक सचेतनाका लागि गाउँ तथा टोल–टोलमा पुगेर अभियान सञ्चालन गर्नमा व्यस्त हुन्छिन् उनी । राजमार्ग सडक सुरक्षालाई थप व्यवस्थित बनाउनका लागि ठाउँ–ठाउँमा प्रयाप्त मात्रामा सिसीटिभी क्यामेरा जडान, अत्याधुनिक र व्यवस्थित लेनसहितको सडक तथा नागरिकहरुमा पनि सोही अनुसारको सचेतनासहितको समाजको परिकल्पनामा छन् उनी । जिल्लामा आफू मातहत रहेका ४३ जना जनशक्तिले व्यवस्थापनमा केही गाह्रो भने भएको छ । जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउनु पर्नेमा उनको जोड छ ।

सिङ्गो जिल्लाको नेतृत्व लिनुपर्ने भएकाले दैनिकी त व्यस्त हुनेनै भयो, यस बीचमा परिवारलाई पनि उत्तिकै समय दिन भ्याएकी छन् । खाली भएको अधिकांश समय आमासँग टेलिफोन तथा भिडियो कलमै व्यस्त हुन मनपराउछिन् उनी । प्रसिद्धिकाले छोटो समयमै प्राप्त गरेको सफलतासँगै उनको परिवार पनि खुसी नै छ । तर, आफ्नो सन्तान जतिनै ठूलो भएपनि उनीहरुको आँखामा कल्यिई हुर्किएको र ठूलो भएको महशुस नगर्ने हरेक अभिभावकको स्वभाव नै हो । पेशागत जिम्मेवारीमा कमाण्डर भएपनि उनिभन्दा ठूलो कमाण्डर वा सल्लाहकार उनकी आमा ६५ वर्षीय माया कंडेलनै हुन् । प्रसिद्धिकाले सधै आफूलाई जिम्मेवार बन्नुपर्ने ठानिन्, सोही अनुसार हरेक कर्म गर्नुअघि चनाखो भएर निर्णयमा पुग्छिन उनी ।

परिवारका लागि आफूले हरेक जिम्मेवारी पूरा गर्नुपर्ने अठोट गरेकी प्रसिद्धिकामाथि परिवारको विश्वास र खुसी भरिएका छन् । मन, बचन र कर्मले प्रसिद्धिकालाई पूर्ण देख्ने उनकी आमाले एक कुरामा भने अझै पूर्ण देख्न पाएकी छैनन्, त्यसैले बेला बेलामा छोरीलाई सम्झाई रहन्छिन् । उमेर बढ्यो, अब आफ्नो परान छँदै, छोरीको घरजम गरेर राम्रो ज्वाईको जिम्मामा लगाउन पाए आमाको सपना पूरा हुने छ । आमाले गर्ने भनेकै यही एउटा गुनासो हो उनीसँग । कहिलेकाँही ख्यालठट्टा र हाँसोमै आमाको प्रस्तावलाई टार्ने गर्छिन उनी । आमाको यो इच्छालाई पनि मेसो मिलाएर पूरा गर्ने सोच भने उनमा नभएको होइन । पेशागत जिम्मेवारी र व्यवस्तताले अहिले नै उक्त निर्णयमा पुग्न नसकेको बताउँछिन् उनी ।

सामाजिक रुपन्तरणसँगै प्रहरी संगठन भित्र पनि यसरी महिलाहरुले आफूलाई अब्बल सावित गर्दै नेतृत्वमा पुग्नु सकारत्मक पक्ष हो । संगठन भित्र लैङ्गिक समानता र क्षमतालाई नै प्रमुख आधार मान्ने भएका कारण आफूलाई विश्वास गरेर जिल्लाको नेतृत्व प्राप्त भएको प्रसिद्धिका बताउँछिन् । कामको शिलशिलामा विभिन्न व्यक्ति तथा प्रतिनिधिहरुसँग भेट्दा समेत महिला भएकै कारण आफूप्रति फरक व्यवहार नपाएको उनको अनुभव छ । यसैगरी हरेक संगठन, सामाजिक संघ–संस्था तथा राजनीतिक नेतृत्वहरुमा समेत महिलाको समान उपस्थिती बढ्दै गयो भने समुन्नत समाज निर्माणको अभियानले साकार रुप लिन सक्ने उनले बताइन् । यसैगरी प्रहरी संगठनले हजारौं प्रसिद्धिका जन्माउन सकोस, यसैगरी सबै परिवारलाई प्रसिद्धिका जस्तै आटिली छोरीको साथ मिलोस् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।